आमोस 4
4
1हे सामरियाका नारीहरू हो, तिमीहरूले सुन। तिमीहरू, जो बाशानका राम्ररी घाँस खाएका गाईहरूझैँ मोटाएका छौ, दरिद्रहरूलाई लुट्दछौ, गरीबहरूलाई सताउँदछौ र आफूले पिउनलाई लोग्नेसित मद्य मागिबस्छौ, 2सार्वभौम परमप्रभु पवित्र हुनुहुन्छ र उहाँले यस्तो प्रतिज्ञा गर्नुभएको छ, “त्यो समय अवश्य आउनेछ, जब तिमीहरू अङ्कुसेद्वारा घिस्स्याइनेछौ। तिमीहरू प्रत्येक बल्छीमा परेका माछाझैँ तानिनेछौ। 3छेवैको दुलो परेको पर्खालसम्म तिमीहरू घिस्याएर लगिनेछौ र त्यहाँबाट बाहिर फ्याँकिनेछौ।”
इस्राएलीहरूले सिक्न सक्दैनन्
4परमेश्वर परमप्रभु भन्नुहुन्छ, “हे इस्राएलका मानिसहरू हो! तिमीहरूले पाप गर्नैपर्छ, होइन? त्यसो भए बेथेलका देव-स्थानमा जाओ र त्यहाँ पाप गर। गिलगालमा जाओ र त्यहाँ सकेसम्म पाप गर। त्यहाँ हरेक बिहान बलि चढाउने पशुहरू लैजाओ र तीन-तीन दिनमा आ-आफ्ना दशांश चढाओ। 5धन्यवाद बलिको रूपमा खमिर हालेको रोटी चढाओ र आफ्ना इच्छाले चढाएका थप भेटीहरूबारे घमण्डले फुल्दै अरूलाई सुनाओ। त्यस्तै कुरा गरी हिँड्न तिमीहरू मन पराउँछौ, होइन र?
6“तिमीहरूका सबै सहरहरूमा अनिकाल ल्याएर तिमीहरूलाई भोकै पार्ने म नै हुँ, तापनि तिमीहरू मकहाँ फर्केर आएनौ। 7तिमीहरूको अन्न काट्ने बेला हुनुभन्दा तीन महिनाअघि जब खेतमा पानीको ठूलो खाँचो थियो, तब मैले वर्षा बन्द गरिदिएँ। मैले एउटा सहरमा वर्षाको पानी पठाइदिएँ तर अर्को सहरमा पठाइनँ। एउटा खेतमा पानी पर्यो तर अर्कोमा परेन र खेत सुखा भयो। 8तिर्खाले छट्पटिएर मानिसहरू पानी पाउने आशामा एउटा सहरदेखि अर्को सहरतिर गए तर कहीँ पनि तिनीहरूको तिर्खा मेटिएन। तापनि तिमीहरू मकहाँ फर्केर आएनौ।
9“मैले तिमीहरूका बाली सुकाएर नाश पार्न तातो हावा पठाएँ। सलहहरूले तिमीहरूका सबै बगैँचा, दाखबारी, नेभारा र जैतुनका रूखहरू स्वाहा पारें, तापनि तिमीहरू मकहाँ फर्केर आएनौ।
10“मैले मिश्रदेशमा झैँ तिमीहरूका बीचमा महामारी पठाएँ। तिमीहरूका ठिटाहरूलाई लडाइँमा मारें र घोडाहरू खोसेर लगें। छाउनीमा सडेका लाशहरूका गन्धले तिमीहरूका नाक थुनियो, तापनि तिमीहरू मकहाँ फर्केर आएनौ।”
11 #
उत्पत्ति 19:24
परमप्रभु भन्नुहुन्छ, “मैले सदोम र गमोरालाई नाश पारेझैँ तिमीहरूमध्ये कति जनालाई नाश पारें। बाँकी रहेकाहरूचाहिँ आगोको भट्टीबाट निकालेको अगुल्टोझैँ भए, तापनि तिमीहरू मकहाँ फर्केर आएनौ। 12यसकारण हे इस्राएलका मानिसहरू हो! म तिमीहरूलाई दण्ड दिनेछु। म त्यसो गर्छु नै। तिमीहरू मेरो न्यायको सामना गर्न तयार होओ।”
13पर्वतहरू बनाउनुहुने र बतास सृजनुहुने परमेश्वर नै हुनुहुन्छ। उहाँले आफ्ना विचार मानिसहरूलाई प्रकट गर्नुहुन्छ। उहाँले नै दिनलाई रात पार्नुहुन्छ। उहाँले पृथ्वीका उच्च-उच्च ठाउँहरूमा आफ्ना पैतालाले टेक्नुहुन्छ। ‘परमप्रभु सर्वशक्तिमान् परमेश्वर’ उहाँको नाम हो।
अहिले सेलेक्ट गरिएको:
आमोस 4: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.