YouVersion लोगो
खोज आइकन

प्रेरित 20:17-36

प्रेरित 20:17-36 सरल नेपाली

मिलेटस सहरबाट पावलले एफिसस सहरमा भएका मण्डलीका धर्म-गुरुहरूलाई बोलाइपठाए। तिनीहरू आइपुगेपछि उनले भने, “एशियामा आएको दिनदेखि नै तपाईंहरूसँगै बस्‍दा मैले ती दिनहरू कसरी बिताएँ त्‍यो तपाईंहरूलाई थाहै छ। यहूदीहरूका जालझेलले गर्दा घरीघरी ठूलो सङ्‌कटमा परें तैपनि मैले नम्र भएर आँसु बहाउँदै प्रभुकै सेवा गरें। तपाईंहरू सबैको अगाडि र घर-घरमा पसेर शिक्षा दिँदा मैले तपाईंहरूको भलाइ हुने कुनै कुरा मनमा बाँकी राखिनँ। ‘मैले यहूदी र अरू जातिका मानिसहरू सबैलाई आ-आफ्‍ना पाप छोडेर परमेश्‍वरकहाँ फर्किनू’ अनि येशूमा विश्‍वास गर्नू भनी प्रचार गरें। “अहिले म पवित्र आत्‍माले भन्‍नुभएको मानेर यरूशलेम जाँदै छु। त्‍यहाँ मलाई के-के हुने हो, म जान्‍दिनँ। तर यति त जान्‍दछु, सतावट र झ्‍यालखानको दु:ख भोग्‍नुपर्नेछ भनेर पवित्र आत्‍माले मलाई थाहा दिनुभएको छ। तैपनि मेरो जीवन आफ्‍नै लागि त कुनै मूल्‍यको छैन। म खालि यति मात्र चाहन्‍छु कि परमेश्‍वरले मानिस जातिलाई अनुग्रह गर्नुभएको छ भन्‍ने सुसमाचार फैलाउने कामलाई म पूरा गर्न सकूँ, जुन कामचाहिँ प्रभु येशूले नै मलाई अह्राउनुभएको हो। अब हेर्नुहोस्, तपाईंहरू जसको बीचमा मैले परमेश्‍वरको राज्‍य प्रचार गर्दैआएको छु, तपाईंहरूसँग फेरि मेरो कहिल्‍यै पनि भेट हुँदैन भन्‍ने कुरा मलाई थाहा छ। यसैकारण आज म तपाईंहरूलाई साक्षी दिँदै भन्‍छु, यदि तपाईंहरूमध्‍ये कोही नाश हुनुभयो भने मलाई त्‍यसको दोष लाग्‍नेछैन किनभने परमेश्‍वरले हाम्रो उद्धारको निम्‍ति गर्नुभएको र गर्नुहुने कामको बारेमा कुनै कुरा पनि बाँकी नराखी मैले तपाईंहरूलाई सबै बताइसकेको छु। अब तपाईंहरू आफैंले आफ्‍नो हेरचाहा गर्नुहोस् अनि पवित्र आत्‍माले तपाईंहरूलाई जिम्‍मा लगाउनुभएका बगालहरूको पनि हेर-विचार गर्नुहोस्। परमेश्‍वरको मण्‍डलीको राम्रो गोठाला हुनुहोस् किनभने प्रभु येशूले ती मानिसहरूलाई आफ्‍नै रगत बगाएर किन्‍नुभएको हो। म जान्‍दछु, म गएपछि जङ्गली ब्‍वाँसाजस्‍ता मानिसहरू तपाईंहरूका बीचमा पस्‍नेछन् र मण्‍डलीलाई दु:ख दिन छोड्‍नेछैनन्। तपाईंहरूकै बीचबाट पनि झूटो शिक्षा दिने मानिसहरू निस्‍कनेछन्। तिनीहरूले प्रभुका चेलाहरूलाई आफ्‍नै कुबाटोमा लैजान खोज्‍नेछन्। त्‍यसो हुँदा चनाखो भएर बस्‍नुहोस् अनि मैले तीन वर्षसम्‍म दिन-रात आँसु बगाउँदै प्रभुको एक-एक चेलालाई सिकाएको कुरा नबिर्सनुहोस्। “अब म तपाईंहरूलाई परमेश्‍वरको हातमा जिम्‍मा लाउँदै छु र उहाँकै अनुग्रहले भरिएको सन्‍देशको भरमा छोडिदिन्‍छु, जसद्वारा परमेश्‍वरले तपाईंहरूलाई विश्‍वासमा बलियो बनाइरहनुहुन्‍छ र आफ्‍ना मानिसहरूलाई आशिष्‌को भागीदार बनाउनुहुन्‍छ। मैले कसैको सुन-चाँदी वा लुगाको लोभ गरिनँ। तपाईंहरू आफैंलाई थाहा छ, मेरा हातले काम गरेर मलाई र मेरा साथीहरूलाई चाहिने कुरा जुटाएँ। यसरी ‘लिनेहरूभन्दा दिनेहरू धन्‍य हुन्’ भनेर प्रभु येशू आफैंले भन्‍नुभएको कुरालाई सम्‍झेर कमजोर मानिसहरूको हेरचाहा गर्न सकेसम्‍म परिश्रमसँग काम गर्नुपर्छ भनी मैले सबै कुरामा देखाएको छु।” यति भनेर पावलले सबैसँग मिलेर घुँडा टेकी प्रार्थना गरे।

प्रेरित 20 पढ्नुहोस्

प्रेरित 20:17-36 को लागि भिडियो