YouVersion लोगो
खोज आइकन

प्रेरित 13:26-52

प्रेरित 13:26-52 सरल नेपाली

“दाजुभाइहरू हो, चाहे हामी अब्राहामका सन्‍तानहरू हौं, चाहे हामी परमेश्‍वरको डर राख्‍ने अन्य-जातिकाहरू नै किन नहोऔँ, यो मुक्तिको सन्‍देश परमेश्‍वरले हामी सबैका लागि पठाउनुभएको छ। तर यरूशलेममा बस्‍ने दाजुभाइ र उनीहरूका नेताहरूले येशूलाई मुक्तिदाता हुनुहुन्‍छ भनेर चिन्‍न सकेनन्। अगमवक्ताहरूले धर्मशास्‍त्रमा लेखेको कुरा विश्रामपिच्‍छे पढे पनि उनीहरूले बुझेनन्। येशूलाई मृत्‍युदण्‍ड दिएर उनीहरूले धर्मशास्‍त्रमा उहाँको बारेमा लेखिएका कुरालाई पूरा गरे। मृत्‍युदण्‍ड दिने कुनै दोष नपाउँदा पनि तिनीहरूले येशूलाई मार्नुपर्छ भनी बडा-हाकिम पिलातससँग बिन्‍ती चढाए। यसरी धर्मशास्‍त्रमा उहाँको बारेमा लेखिएका सबै कुरा पूरा गरेपछि तिनीहरूले उहाँलाई क्रूसबाट उतारे अनि चिहानमा राखे। तर परमेश्‍वरले येशूलाई मरेकोबाट बिउँताउनुभयो। गालील क्षेत्रबाट उहाँसँगै यरूशलेममा आएकाहरूले धेरै दिनसम्‍म उहाँको दर्शन पाए र तिनीहरूचाहिँ अहिले इस्राएलका मानिसहरूको लागि उहाँलाई देख्‍ने साक्षीहरू हुन्। अब हामी तपाईंहरूलाई यही सुसमाचार सुनाउँछौं– परमेश्‍वरले हाम्रा पुर्खालाई गर्नुभएको प्रतिज्ञा उहाँले उनीहरूको सन्‍तानको लागि नै पूरा गर्नुभएको छ। येशूलाई मरेकोबाट बिउँताउनुहुँदा उहाँले त्‍यो प्रतिज्ञा हाम्रै लागि नै पूरा गर्नभएको हो। अब परमेश्‍वरले उहाँलाई मरेकोबाट बिउँताउनुहुनेछ भन्‍ने कुराको बारेमा भजनसंग्रहको दोस्रो भजनमा यसरी लेखिएको छ– ‘तिमी मेरा छोरा हौ, आज मैले तिमीलाई जन्‍माएको छु’। उहाँलाई फेरि कहिल्‍यै मर्नुनपर्ने गरी बिउँताउनुहुनेछ भन्‍ने कुराको बारेमा भने परमेश्‍वरले यसो भन्‍नुभएको रहेछ– ‘दाऊदलाई प्रतिज्ञा गरेको पवित्र र निश्‍चित आशिष्‌चाहिँ म तिमीहरूको बीचमा पठाउनेछु’। फेरि, भजनसंग्रहको अर्को भजनमा दाऊद राजाले यसरी लेखेका छन्– हे परमेश्‍वर, तपाईंले आफ्‍नो पवित्र जनलाई कुहिएर नाश हुन दिनुहुन्‍न। “यो कुराचाहिँ दाऊदले आफ्‍नो बारेमा भनेका होइनन् किनभने परमेश्‍वरको इच्‍छामा काम गरिसकेर उनी त मरे अनि आफ्‍ना पुर्खासँगै गाडिएर कुहिए। तर परमेश्‍वरले मरेकोबाट बिउँताउनुभएको चाहिँ त्‍यसरी कुहिनुभएन। त्‍यसकारण प्रिय दाजुभाइहरू हो, उनै येशूबाट पाप मेटिनेछ भनी म तपाईंहरूलाई बताउन चाहन्‍छु। येशूमा विश्‍वास गर्नेहरू जति सबै पापबाट छुट्‍कारा पाएर परमेश्‍वरको अगाडि ठीक ठहरिन्‍छन्। यो काम त मोशाले दिएको व्यवस्थाले पूरा गर्न सकेन। त्‍यसकारण होशियार हुनुहोस् र अगमवक्ताहरूले भनेका यी कुराहरू तपाईंहरूमाथि आइनलागून्– ए गिल्‍ला गर्नेहरू हो, अचम्‍म मान अनि नाश भइजाओ! किनभने तिमीहरूको समयमा म यस्‍तो एउटा काम गर्नेछु, त्‍यस कामको बारेमा कसैले तिमीहरूलाई बताए तापनि तिमीहरूले विश्‍वास गर्नेछैनौ।” पावल र बारनाबास सभाघरबाट निस्‍कँदा मानिसहरूले ‘अर्को विश्रामको दिन फेरि आएर यी कुराहरूको बारेमा हामीलाई अझै सुनाइदिनुहोस्’ भनी बिन्‍ती गरे। सभा सकिएपछि यहूदीहरू र यहूदी धर्म मान्‍ने अरू जातिका मानिसहरू धेरै पावल र बारनाबासको पछि लागे। पावल र बारनाबासले तिनीहरूसँग कुरा गरेर सधैँ परमेश्‍वरको अनुग्रहमा रहिरहनू भनी जोड दिए। अर्को विश्रामको दिन सुसमाचार सुन्‍न सहरका प्राय: सबै मानिसहरू उल्‍टेर आए। यहूदीहरूले मानिसहरूको त्‍यत्रो हुल देखेर पावल र बारनाबासमाथि डाह गर्न थाले। तिनीहरूले विरोध गर्दै पावललाई गाली गरे। तर पावल र बारनाबासले अझ साहससँग भने, “तपाईंहरूकहाँ पहिले परमेश्‍वरको सुसमाचार सुनाउनुपर्थ्‍यो, तर तपाईंहरूचाहिँ सुन्‍न मान्‍नुहुन्‍न। तपाईंहरू आफैंलाई अजम्‍मरी जीवनको अयोग्‍य तुल्‍याउनुहुन्‍छ। यसकारण हामी अरू जातिका मानिसहरूकहाँ जान्‍छौं। प्रभुले हामीलाई यसै गर्नू भनेर आज्ञा दिनुभएको छ– पृथ्‍वीको पल्‍लो छेउसम्‍मका मानिसहरूले मुक्ति पाऊन् भनेर मैले तिमीहरूलाई अरू जातिका मानिसहरूको बीचमा उज्‍यालो छर्नलाई खटाएर पठाएको छु।” यो कुरा सुनेर अन्य-जातिहरू रमाउँदै परमेश्‍वरले दिनुभएको सुसमाचारको प्रशंसा गर्न लागे। अनन्त जीवनको लागि अघिबाटै परमेश्‍वरबाट चुनिएका जतिले येशू ख्रीष्‍टमाथि विश्‍वास गरे। परमेश्‍वरको वचन त्‍यस क्षेत्रमा सबैतिर फैलियो। तर यहूदीहरूले परमेश्‍वरको भक्ति गर्ने उच्‍च श्रेणीका स्‍त्रीहरू र सहरका नेताहरूलाई समेत पावल र बारनाबासको विरोधमा उपद्रव गर्न उठाए र ती दुई जनालाई त्‍यस क्षेत्रको सिमानाबाट बाहिर धपाइदिए। तब पावल र बारनाबासले ती मानिसहरूलाई परमेश्‍वरले नै न्‍याय गर्नुहुनेछ भन्‍ने चेतावनी दिँदै आफ्‍ना खुट्टाको धुलो टक्टकाए र आइकोनियन सहरतिर गए। तिनीहरूले छोडेर गएका प्रभुका चेलाहरूचाहिँ पवित्र आत्‍माले आनन्‍दले भरिए।

प्रेरित 13 पढ्नुहोस्

Video for प्रेरित 13:26-52