YouVersion लोगो
खोज आइकन

२ शमूएल 19

19
योआबले दाऊदलाई सम्‍झाउँछन्‌
1राजाले अब्‍शालोमको निम्‍ति रुँदै विलाप गर्दै छन् भनी योआबले सुने। 2त्‍यसले गर्दा दाऊदका सारा सेनाको निम्‍ति त्‍यस दिन विजयको आनन्‍द शोकमा बदलियो किनभने राजाले आफ्‍नो छोराको निम्‍ति शोक गरेका तिनीहरूले सुने। 3लडाइँबाट भागेर लाजमा परेका सिपाहीहरूजस्‍ता भएर चुपचाप तिनीहरू सहरभित्र पसे। 4मुख छोपेर जोडले रुँदै राजाले बिलौना गरे, “हाय, मेरो छोरो! मेरो छोरो! अब्‍शालोम! मेरो छोरो अब्‍शालोम!”
5राजाको महलमा गएर योआबले भने, “आज हजुरले आफ्‍ना सेवकहरूलाई होच्‍याउनुभयो, हजुर र हजुरका छोरा-छोरी, स्‍वास्‍नी, रखौटीहरूका प्राण जोगाउने आफ्‍ना सेवकहरूलाई लज्‍जित पार्नुभयो। 6आफूलाई प्रेम गर्नेहरूलाई विरोध गर्नुहुन्‍छ र हजुरलाई घृणा गर्नेहरूलाई प्रेम गर्नुहुन्‍छ। हामी अधिकृत र सिपाहीहरू हजुरको निम्‍ति केही होइनौं भनेर प्रष्‍ट गरी देखाइदिनुभयो। म यो स्‍पष्‍ट देख्‍दछु कि हामी सबै मरेर अब्‍शालोम बाँचेका भए हजुर खुसी हुनुहुनेथियो। 7अब गएर आफ्‍ना प्रजालाई आश्‍वासन दिनुहोस्। म परमप्रभुको नाउँमा किरिया खाएर भन्‍छु कि त्‍यसो गर्नुभएन भने भोलि बिहानसम्‍ममा तिनीहरूमध्‍ये एक जना पनि हजुरसित रहनेछैनन्। त्‍योचाहिँ हजुरको जीवनमा आइपरेको सबैभन्दा ठूलो विपत्ति हुनेछ।” 8तब राजा उठेर गए र सहरको ढोकानेर बसे। उनी त्‍यहाँ आएर बसेका छन् भनी मानिसहरूले सुने र तिनीहरू उनको चारैपट्टि भेला भए।
दाऊद यरूशलेम फर्कन्‍छन्
त्‍यस बीचमा सबै इस्राएलीहरू भागेर आ-आफ्‍ना घर गएका थिए। 9सारा देशभरि नै तिनीहरू आपसमा झगडा गर्न थाले। तिनीहरू आपसमा कुरा गर्दै यसो भन्‍दै थिए, “दाऊद राजाले हामीलाई हाम्रा शत्रुहरूदेखि बचाउनुभयो। उनले हामीलाई पलिश्‍तीहरूका हातबाट बचाउनुभयो; तर त्‍यस बेला उनले देश छोडेर अब्‍शालोमबाट बाँच्‍नलाई भाग्‍नुपर्‍यो। 10हामीले अब्‍शालोमलाई राजा अभिषेक गर्‍यौं; तर उनी लडाइँमा मारिए। त अब किन कसैले दाऊद राजालाई फर्काइल्‍याउने उपाय गर्दैनन्?”
11इस्राएलीहरूले के भन्‍दै थिए, त्‍यो दाऊद राजाका कानमा पुग्‍यो। यसकारण उनले सादोक र अबियाथार पूजाहारीहरूलाई यहूदाका अगुवाहरूसित यो प्रश्‍न गर्न पठाए, “राजालाई राजमहलमा फर्काइल्‍याउने काममा मद्दत गर्न किन तिमीहरू पछाडि पर्छौ? 12तिमीहरू मेरा कुटुम्‍ब हौ, मेरै हाड र मासु हौ। मलाई फर्काई ल्‍याउनमा किन तिमीहरू सबैभन्दा पछिल्‍ला हुन्‍छौ?” 13र अमासालाई यसो पनि भन्‍नु भनी दाऊदले भने, “तिमी मेरा नातेदार हौ। अब उसो म तिमीलाई यो योआबको सट्टामा मेरा सेनाको सेनापति खटाउँदै छु। मैले त्‍यो भार तिमीलाई दिइनँ भने परमेश्‍वरले मेरो प्राण लेऊन्!” 14दाऊदका यी समाचारले यहूदाका सबै मानिसहरूको मन जित्‍यो र उनलाई आफ्‍ना सबै भारदारहरूसित फर्किआउन तिनीहरूले खबर पठाए।
15राजा फर्किजाँदा यहूदाका मानिसहरूले उनलाई यर्दन नदीमा भेटे। राजालाई नदी पार गर्दा रक्षा गर्न तिनीहरू गिलगालमा आएका थिए। 16#2 शमूएल 16:5-13यति खेरै बेन्‍यामीन र शिमी दाऊद राजालाई भेट्‍न हतार-हतार यर्दनमा आए। उनी बहूरीमका गेराका छोरा थिए। 17उनीसित बेन्‍यामीन कुलका एक हजार मानिस आएका थिए। शाऊलको घरको चाकर सीबा पनि आफ्‍ना पन्‍ध्र छोरा र बीस जना नोकरसहित आयो र तिनीहरू राजाभन्दा अघि यर्दनमा आइपुगे। 18राजाका दलले नदी पार गर्दा तिनीहरूलाई साथ दिन र राजाले चाहेका काम-कुरा गर्न तिनीहरू नदी तरेर पारिपट्टि गए।
दाऊदले शिमीलाई दया देखाउँछन्
राजाले नदी तर्ने तर्खर गर्न लाग्‍दा शिमी उनका सामुन्‍ने घोप्‍टो परे 19र भने, “राजन्! हजुरले यरूशलेम छोडेको दिन मैले गरेको अपराध भुलिदिनुहोला। त्‍यसलाई मेरो दोष नमान्‍नुहोला र मनमा नराख्‍नुहोला। 20हजुर, म जान्‍दछु कि मैले पाप गरेको छु त्‍यसैकारण उत्तरका कुलहरूबाट हजुरलाई भेट्‍न आज म सबैभन्दा पहिलो व्‍यक्ति आएको हुँ।”
21सरूयाहको छोरो अबीशैले भने, “शिमीलाई प्राणदण्‍ड हुनुपर्छ, होइन र? जुन व्‍यक्तिलाई परमप्रभुले राजा चुन्‍नुभएको थियो, उनलाई त्‍यसले सरापेको थियो, होइन?”
22तर अबीशै र उनका भाइ योआबलाई दाऊदले भने, “कसैले तिमीहरूलाई सोधेको छ र? के तिमीहरू मेरो विरुद्धमा जान्‍छौ? अब म इस्राएलको राजा भएको छु र आज कुनै इस्राएली मारिनेछैन।” 23तब उनले शिमीलाई भने, “म तँलाई वचन दिँदछु कि तँ मारिनेछैनस्।”
दाऊदले मपीबोशेतलाई दया देखाउँछन्
24 # 2 शमूएल 9:1-13; 16:1-4 तब शाऊलका नाति मपीबोशेत राजालाई भेट्‍न आए। राजाले यरूशलेम छोडेका दिनदेखि फेरि विजयी भएर फर्किनआएसम्‍म मपीबोशेतले न त खुट्टा धोएका थिए न दाह्री काटेका वा न त आफूले लाएका लुगा धोएका थिए। 25राजालाई भेट्‍न यरूशलेमबाट मपीबोशेत आइपुग्‍दा दाऊदले उनलाई भने, “मपीबोशेत, तिमी मसित आएनौ, किन?”
26उनले जवाफ दिए, “राजन्! हजुरलाई थाहा छ कि म लङ्गडो छु। मैले त हजुरसित नै जाऊँ भनी गधामा जीन लगाम कस्‍न आफ्‍नो चाकरलाई आज्ञा दिएको थिएँ। तर त्‍यसले मलाई धोका दियो। 27त्‍यसले मेरो बारेमा हजुरलाई झूटा कुरा सुनायो। तर हजुर परमेश्‍वरको दूतझैँ हुनुहुन्‍छ र हजुरको नजरमा जे उचित ठहर्दछ, त्‍यही गर्नुहोस्। 28मेरा बुबाका सम्‍पूर्ण परिवार हजुरका हातबाट मारिनुपर्थ्‍यो, तर हजुरले मलाई आफ्‍नो साथ भोजन गर्ने अधिकार दिनुभयो। राजाबाट अरू बढी निगाह पाऊँ भनी बिन्‍ती गर्ने हक अब मेरो छैन।”
29राजाले जवाफ दिए, “तिमीले अरू धेरै केही भन्‍नुपर्दैन। तिमी र सीबाले शाऊलको सर-सम्‍पत्ति बाँडेर लिनू भन्‍ने मैले फैसला गरिसकेको छु।” 30मपीबोशेतले उत्तर दिए, “सीबाले नै सबै कुरा लैजाओस्। हजुर कुशलसित घर आइपुग्‍नुभयो। त्‍यति भए मलाई पुग्‍यो।”
दाऊदले बर्जिल्‍लैलाई दया देखाउँछन्
31 # 2 शमूएल 17:27-29 गिलादी बर्जिल्‍लै पनि राजालाई यर्दन पार गराउन, रोगलीमबाट आएका थिए। 32बर्जिल्‍लै असी वर्ष पुगिसकेका साह्रै बुढा मानिस थिए। उनी औधी धनी थिए र राजा महनोममा बसेका बेलामा राजालाई खानेकुरा पुर्‍याइदिने गरेका थिए। 33राजाले उनलाई भने, “मसित यरूशलेम जाऊँ। म तिमीलाई हेरचाह गरी राख्‍नेछु।”
34तर बर्जिल्‍लैले उत्तर दिए, “अब म धेरै दिन बाँच्‍दिनँ। हजुरसित म किन यरूशलेम जाऊँ? 35म असी वर्ष पुगिसकें। म केही कुरामा अब आनन्‍द पाउँदिनँ। खाएको, पिएको पनि म केही स्‍वाद पाउँदिनँ। गीत गाएको पनि म सुन्‍न सक्‍दिनँ। म हजुरमाथि भार मात्र हुनेछु। 36यत्रो ठूलो इनामको योग्‍य म छैनँ। यर्दनपारि केही परसम्‍म म हजुरसित जानेछु। 37त्‍यसपछि म घर फर्कन पाऊँ र मेरा आमा-बुबाका चिहानको नजिकै म पनि मर्न पाऊँ। छोरो किमहाम यहाँ छ। त्‍यसले राजाको सेवा गर्नेछ। त्‍यसलाई आफूसित लैजानुहोस्, राजा र हजुरलाई जे उचित लाग्‍नेछ, त्‍यही त्‍योसित गर्नुहोस्।”
38राजाले जवाफ दिए, “म त्‍यसलाई आफूसित लैजाउँला र तिमी जे चाहन्‍छौ, त्‍यही त्‍योसित गरूँला। तिमी जे माग्‍छौ, त्‍यही म तिम्रो निम्‍ति गर्नेछु।” 39त्‍यसपछि दाऊद आफ्‍ना सबै मानिसहरूसहित यर्दन पार भए। उनले बर्जिल्‍लैलाई म्‍वाइँ खाएर आशीर्वाद दिए र बर्जिल्‍लै आफ्‍नो घर फर्के।
राजाबारे यहूदा र इस्राएलको विवाद
40सारा यहूदाबासी र आधा इस्राएलबासीहरूका साथमा राजाले यर्दन नदी पार गरे। उनी गिलगालमा आए र किमहाम उनीसित थिए। 41तब सबै इस्राएलीहरूले राजाकहाँ गएर भने, “राजन्, हाम्रा दाजुभाइ यहूदाका बासिन्‍दाहरूले किन यस्‍तो सोच्‍दछन् कि हजुरलाई हजुरका परिवार र मानिसहरूसहित लिएर यर्दन पार गर्ने हक तिमीहरूको मात्रै छ?”
42यहूदाका मानिसहरूले उत्तर दिए, “राजन्, हामी यहूदाबासीहरू बीचकै एक जना हुन्, यसैले हामीले त्‍यसो गरेका हौं। किन तिमीहरू रिस गर्छौ? राजाको न त हामीले केही खाएका छौं न त केही लिएका छौं।”
43इस्राएलीहरूले जवाफ दिए, “उनी तिमीहरूबीचकै एक जना भए पनि दाऊद राजामाथि हाम्रो अधिकार तिमीहरूको भन्दा दश गुणा धेरै छ। किन तिमीहरू हामीलाई हेला गर्छौ। यो कुरा नभुल कि राजालाई फर्काइल्‍याउने कुरा हामीले सबैभन्दा पहिले उठाएका थियौं!”
तर यहूदाका मानिसहरूले आफ्‍नो दाबी जनाउन इस्राएलका मानिसहरूले भन्दा धेरै झोक देखाएर कुरा गरे।

अहिले सेलेक्ट गरिएको:

२ शमूएल 19: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्