२ राजा 2
2
एलिया स्वर्ग लगिन्छन्
1परमप्रभुले एलियालाई हावाको भूमरीमा स्वर्गमा उठाइलैजाने समय आयो। एलिया र एलीशा गिलगालबाट हिंडे। 2बाटोमा एलियाले एलीशालाई भने, “तिमी यहीं बस। परमप्रभुले मलाई बेथेलमा जाने आज्ञा दिनुभएको छ।”
तर एलीशाले भने, “जीवित परमप्रभुलाई र तपाईंको जीवनलाई समेत साक्षी राखी म भन्दछु, म तपाईंलाई छोड्नेछैनँ।” तब ती दुवै बेथेलमा गए।
3त्यहाँ बास गर्ने एक दल अगमवक्ताहरू एलीशाकहाँ गएर सोधे, “आजदेखि परमप्रभुले तिम्रा स्वामीलाई तिमीदेखि छुट्ट्याई लैजानुहुनेछ भनेर तिमीलाई थाहा छ त?”
“हो, म जान्दछु,” एलीशाले भने, “तर यसबारे कुरा नगरौं।”
4त्यसपछि एलियाले एलीशालाई भने, “तिमी यहीं बस, परमप्रभुले मलाई यरीहोमा जाने आज्ञा गर्नुभएको छ।”
तर एलीशाले भने, “जीवित परमप्रभुलाई र तपाईंको जीवनलाई समेत साक्षी राखी म भन्दछु, म तपाईंलाई छोड्नेछैनँ।” अनि ती दुवै यरीहोसम्म गए।
5त्यहाँ बास गर्ने एक दल अगमवक्ताहरू एलीशाकहाँ गएर सोधे, “आजदेखि परमप्रभुले तिम्रो स्वामीलाई तिमीदेखि छुट्टयाई लैजानुहुनेछ भनेर तिमीलाई थाहा छ त?”
एलीशाले जवाफ दिए, “हो, म जान्दछु; तर यसबारे कुरा नगरौं।”
6एलियाले एलीशालाई भने, “अब तिमी यहीं बस, परमप्रभुले मलाई यर्दन नदीसम्म जाने आज्ञा गर्नुभएको छ।”
तर एलीशाले भने, “जीवित परमप्रभुलाई र तपाईंको जीवनलाई समेत साक्षी राखी म भन्दछु, म तपाईंलाई छोड्नेछैनँ।” अनि तिनीहरू अघि बढे। 7पचास जना अगमवक्ताहरूले तिनीहरूलाई यर्दनसम्म पछ्याए। नदीको छेउमा एलिया र एलीशा अडिए र पचास जना अगमवक्ताहरू केही टाढा उभिए। 8तब एलियाले आफ्नो खास्टो फुकालेर पट्ट्याए र त्यसले पानीलाई हिर्काए। पानी दुई भाग भएर छुट्टियो र सुक्खा भूमिबाट भएर तिनी र एलीशा नदी पारी गए। 9#व्यवस्था 21:17त्यहाँ पुगेर एलियाले एलीशालाई भने, “म उठाई लगिनुअघि तिम्रो निम्ति के गरूँ, तिमी के चाहन्छौ? मलाई भन।”
एलीशाले जवाफ दिए, “तपाईंको आत्माको दोब्बर भाग ममाथि परोस्।”
10“तिमीले गाह्रो कुरा माग्यौ; तर म तिमीबाट उठाई लगिँदा तिमीले मलाई देख्यौ भने त्यो पाउनेछौ तर मलाई देखेनौ भने पाउनेछैनौ,” एलियाले जवाफ दिए।
11तिनीहरू कुरा गर्दै-हिंड्दै थिए। अचानक आगोको घोडाले तानेका आगोकै रथ ती दुईका बीचमा झर्यो र हावाको भूमरीले एलियालाई स्वर्गमा उठाइलग्यो। 12#२ राजा 13:14एलीशाले त्यो देखे र चिच्च्याएर एलियालाई भने, “मेरा बुबा, मेरा बुबा! तपाईं इस्राएलका शक्तिशाली योद्धा! तपाईं जानुभयो।” त्यसपछि तिनले फेरि एलियालाई देखेनन्।
विलाप गर्दै एलीशाले आफ्नो वस्त्र दुई भाग गरेर च्याते। 13त्यसपछि तिनले एलियाको खसेको खास्टो उठाए र फर्केर गई यर्दनको किनारमा उभिए। 14एलियाको खास्टोले नदीको पानीलाई हिर्काई उनले भने, “एलियाका परमप्रभु परमेश्वर कहाँ हुनुहुन्छ?” त्यसरी तिनले पानीलाई हिर्काए र त्यो पानी दुई भाग भई छुट्टियो र सुख्खा भूमिमा हिंडेर तिनी नदीवारि आए। 15यरीहोबाट आएका पचास जना अगमवक्ताहरूले उनलाई देखेर भने, “एलियाको आत्मा एलीशामा उत्रेको छ।” तिनीहरू उनलाई भेट्न गए र उनको अघि घोप्टो परी भने, 16“हामी यहाँ पचास जना बलिया-बलिया मानिसहरू छौं। हामी गएर तपाईंको स्वामीलाई खोजौं। हुन सक्छ, परमप्रभुको आत्माले उनलाई लानुभएर कुनै डाँडा वा भञ्ज्याङमा छोडिराख्नुभएको होला।”
एलीशाले जवाफ दिए, “अँह, तिमीहरू नजाओ।”
17तर तिनीहरूले जिद्दी गरिरहे र उनले तिनीहरूलाई छोडिदिए र तिनीहरू गए। ती पचास जना गएर तीन दिनसम्म एलियालाई उँभो-उँधो सबैतिर खोजे; तर उनलाई भेटेनन्। 18त्यसपछि तिनीहरू एलीशाकहाँ फर्किगए। एलीशा यरीहोमा पर्खिबसेका थिए। उनले तिनीहरूलाई भने, “के मैले तिमीहरूलाई नजानू भनेको होइन त?”
एलीशाका उदेकका कामहरू
19यरीहोका केही मानिसहरू एलीशाकहाँ आएर भने, “हजुरलाई यादै छ, यो हाम्रो सहर असल सहर छ; तर पानीचाहिँ राम्रो छैन र यसले गर्भ तुहाउँछ।”
20एलीशाले आज्ञा गरे, “एउटा नयाँ कचौरामा केही नुन हालेर मकहाँ ल्याओ। तिनीहरूले त्यसै गरे। 21पानीको मुहानमा गएर उनले त्यो नुन पानीमा हालेर भने, “परमप्रभु यसो भन्नुहुन्छ: ‘म यस पानीलाई शुद्ध पार्नेछु। यसले अबदेखि अरू मृत्यु वा गर्भपतन गराउनेछैन।’ 22त्यसपछि एलीशाले भनेझैँ त्यहाँको पानी सधैँ शुद्ध भएर रहेको छ।
23एलीशा बेथेल जानलाई यरीहोबाट बिदा भए। बाटोमा एउटा सहरबाट केही ठिटाहरू निस्किआएर उनको हाँसो उडाउन लागे। “यहाँबाट निस्किजाऊ, ए तालु खुइले!” तिनीहरूले कराउँदै भने।
24एलीशाले फर्केर तिनीहरूलाई हेरे र परमप्रभुको नाउँमा सराप दिए। तब जङ्गलबाट दुई वटा माऊ भालु निस्केर बयालीस जना केटाहरूलाई फहराएर टुक्रा-टुक्रा पारे।
25एलीशा कर्मेल डाँडामा गए। पछि उनी सामरियामा फर्के।
अहिले सेलेक्ट गरिएको:
२ राजा 2: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.