YouVersion लोगो
खोज आइकन

२ इतिहास 8

8
सोलोमनले गरेका कामहरू
(१ राजा ९:१०-२८)
1सोलोमनले परमप्रभुको मन्‍दिर र आफ्‍नो महल बनाउन बीस वर्ष लगाए। 2सोलोमनले आफूलाई हीरामले दिएका सहरहरू फेरि बनाए र इस्राएलका मानिसहरूलाई त्‍यहाँ बसाले। 3तब उनी हमात-सोबामा गए र त्‍यो आफ्‍नो अधीनमा लिए। 4उनले उजाड-भूमिमा तदमोर सहर बनाए अनि हमातमा भएका सबै भण्‍डारका सहरहरू बनाए। 5उनले माथिल्‍लो र तल्‍लो बेथ-होरोनलाई पनि पर्खालले घेरेर त्‍यसमा मूल-ढोका र आग्‍लाहरू लगाए 6अनि बालात र तिनीसँग भएका सबै भण्‍डार राख्‍ने सहरहरू, उनका रथ र घोडचढी सेनाहरू राख्‍ने सहरहरू सोलोमनले बनाए। आफूले चिताएअनुसार सबै घर इत्‍यादि कुराहरू उनले यरूशलेम, लेबनान र आफ्‍ना सारा राज्‍यमा बनाए। 7-8कनान देश जित्‍दा इस्राएलीहरूले नमारेका कनानवासीहरूका सबै सन्‍तानलाई सोलोमनले बेगारी काममा लगाए। तिनीहरू हित्ती, एमोरी, परिज्‍जी, हिव्‍वी र यबूसीहरू थिए, जसका सन्‍तानहरू आजसम्‍म कमारा-कमारी नै छन्। 9इस्राएलीहरूलाई बेगारी काममा लगाइँदैनथ्‍यो। तिनीहरूले सिपाही, अधिकृत, रथका कप्‍तान र घोडचढी सेनामा काम गर्थे। 10यी दुई सय पचास जनाचाहिँ मानिसहरूको रेख-देख गर्ने अधिकृतहरू थिए।
11सोलोमनले मिश्रका राजाकी छोरी आफ्‍नी रानीलाई दाऊदको सहरबाट सारेर आफूले ती रानीको निम्‍ति बनाएको महलमा राखे। तिनले भने, “यिनी दाऊदको महलमा बस्‍नेछैनन् किनभने जुन ठाउँमा करारको सन्‍दुक राखिन्‍छ, त्‍यो पवित्रस्‍थान हो।”
12मन्‍दिरअघि बनाएको वेदीमा सोलोमनले परमप्रभुको निम्‍ति होमबलिहरू चढाए। 13#गन्ती 28:9,10; गन्ती 28:11-15; प्रस्‍थान 23:14-17; 34:22,23; गन्ती 28:16—29:39; व्यवस्था 16:16हरेक पवित्र दिन अर्थात् विश्रामका दिन, औँसीका रात, तीन वटा वार्षिक चाडहरू अर्थात् अखमिरी रोटी, कटनी र छाप्रोबासको चाडका समयमा तिनले मोशाको व्‍यवस्‍थामा तोकिएअनुसार होमबलिहरू चढाउँथे। 14उनले पूजाहारीहरू र तिनीहरूलाई भजन गाउन र सेवा कार्यमा सघाउने काममा लगाउँथे। आफ्‍ना पिता दाऊदले बनाएका नियमअनुसार उनले मन्‍दिरका पहरेदारहरूलाई भाग-भाग गरेर परमेश्‍वरका जन दाऊदका आज्ञाअनुसार दिन-दिनको काममा लगाउँथे। 15भण्‍डार कोठाहरू र अरू विषयबारे दाऊदले पूजाहारी र लेवीहरूलाई दिएका आदेशहरू एक-एक गरी पालन गरिन्‍थे।
16यस बेलासम्‍ममा सोलोमनले सबै योजनाहरू गरिसिध्‍याएका थिए। परमेश्‍वरको मन्‍दिरको जग बसाल्‍ने कामबाट सुरु गरी मन्‍दिर बनाई सकुञ्‍जेलसम्‍मका सबै काम उनले राम्ररी गरिसकेका थिए।
17त्‍यसपछि सोलोमन एदोम देशमा लाल समुद्रको किनारमा भएका सहरहरू एस्‍योन-गेबेर र एलातमा गए, 18हीराम राजाले आफ्‍ना अधिकृत र अनुभवी नाविकहरूका साथमा उनलाई जहाजहरू पठाइदिए। सोलोमनका अधिकृतहरूका साथमा तिनीहरू ओपीर देशमा गए र त्‍यहाँबाट पन्‍ध्र हजार किलोग्रामभन्दा धेरै सुन सोलोमन राजालाई ल्‍याएर दिए।

अहिले सेलेक्ट गरिएको:

२ इतिहास 8: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्