१ शमूएल 25
25
शमूएलको मृत्यु
1शमूएल मरे र सबै इस्राएलीहरूले एकसाथ भएर तिनको निम्ति बिलौना गरे। तिनलाई रामामा तिनकै घरमा गाडे।
दाऊद र अबीगेल
त्यसपछि दाऊद माओनको मरुस्थलमा गए। 2-3त्यहाँ कालेबको वंशको नाबाल नाम गरेको एक जना मानिस थियो। त्यो माओन सहरबाट आएको थियो र कर्मेल सहरछेउ त्यसको ठूलो जमिन थियो। त्यो औधी धनी थियो र त्यसका तीन हजार भेडा र एक हजार बाख्राहरू थिए। त्यसकी स्वास्नी अबीगेल सुन्दरी र बुद्धिमति थिइन्; तर त्यो आफैंचाहिँ नीच र रिसाहा थियो।
नाबालले कर्मेलमा भेडाका ऊन कत्रँदै थियो 4र मरुस्थलमा दाऊदले त्यसबारे सुने। 5तिनले दश जना केटाहरूलाई कर्मेलमा गई नाबाललाई भेट्ने र उनको शुभकामना जनाउने आज्ञा दिएर पठाए। 6तिनले नाबाललाई यसो भने, “दाऊदले तपाईंलाई आफ्नो अभिवादन पठाएका छन्। तपाईंका परिवार र अरू जम्मै तपाईंका सन्तानलाई शुभकामना पठाएका छन्। 7तपाईंले भेडाका ऊन कत्रँदैगरेका उनले सुने र उनले तपाईंलाई यो थाहा भएको चाहन्छन् कि तपाईंका गोठालाहरू हामीकहाँ आएका थिए र हामीले तिनीहरूको केही हानि गरेनौं। तिनीहरू कर्मेलमा रहुञ्जेलसम्म तिनीहरूका कुनै कुरा चोरी भएन। 8तिनीहरूलाई सोध्नुहोस् र तिनीहरूले पनि यो कुरा भन्नेछन्। आज हामी एउटा भोजको चाड मनाउन आएका छौं र हामीलाई कृपा गरी ग्रहण गर्नुहोस् भनी उनले बिन्ती पठाएका छन्। हामी तपाईंका सेवक र तपाईंका प्रिय मित्र दाऊदलाई जे सक्नुहुन्छ, दिनुहोला।”
9दाऊदका मानिसहरूले उनका नाउँमा नाबाललाई यो समाचार दिए। तिनीहरू पर्खिबसे 10र अन्तमा नाबालले यस्तो उत्तर दियो, “दाऊद? उनी को हुन्? मैले कहिल्यै उनको बारेमा सुनिनँ। यो देश आजकाल भगुवा कमाराहरूले भरिएको छ! 11मेरो आफ्नै रोटी र पानी अनि ऊन कत्रनेहरूको निम्ति मारेको पशुको मासु मैले नजानेको ठाउँबाट आउने मानिसहरूलाई दिन्नँ!”
12दाऊदका मानिसहरू फर्किगए र उनलाई नाबालले भनेका कुरा सुनाए। 13“तिम्रा तरवार भिर,” उनले आज्ञा गरे र तिनीहरूले आ-आफ्ना तरवार भिरे। दाऊदले पनि आफ्नो तरवार भिरे र चार सय जना आफ्ना मानिसहरू लिएर हिंडे। दुई सय मानिसहरूलाई माल-सामान हेर्न छोडिराखे।
14नाबालको एउटा चाकरले उनकी स्वास्नी अबीगेललाई भन्यो, “तपाईंले सुन्नुभयो? दाऊदले वनबाट केही मानिसहरू आफ्नो शुभकामनासाथ हाम्रा मालिककहाँ पठाएका थिए; तर तिनले त तिनीहरूलाई अपमान पो गरे। 15तर तिनीहरूले हामीसित असल व्यवहार गरेका थिए, तिनीहरूले हामीलाई कहिल्यै दु:ख दिएनन् र जतिञ्जेल हामी तिनीहरूसित मैदानमा थियौं, हाम्रो केही थोक हराएन। 16हामी आफ्ना भेडाका बगाल हेरेर तिनीहरूसित रहँदाबस्दा सबै समय, रात-दिन, तिनीहरूले हाम्रो रक्षा गरे। 17यसमाथि विचार गरी हामीले के गर्नुपर्ने हो, कृपा गरी निर्णय गर्नुहोस्। यो कुरा हाम्रा मालिक र तिनका परिवारको लागि विपत्तिपूर्ण हुन सक्छ, तिनी यति जिद्दीवाल छन् कि कसैका कुरा सुन्दैनन्!”
18अबीगेलले हतारसाथ दुई सय रोटी, दाखमद्यले भरिएका दुई वटा छालाका मशकहरू, पाँच वटा आगोमा पोलेका भेडा, सत्र किलोग्राम भुटेको अन्न, एक सय झुप्पा सुकाएका अङ्गुर र दुई सय वटा सुकेका नेभाराका डल्ला जम्मा गरिन् र गधामा लदाइन्। 19तब तिनले आफ्ना चाकरहरूलाई भनिन्, “तिमीहरू अघि-अघि जाओ। म पछिपछि आउनेछु।” तर तिनले लोग्नेलाई केही भनिनन्।
20तिनी आफ्नो गधामा चढी डाँडाको एउटा घुम्ती घुमेर जाँदै थिइन्। अचानक तिनले दाऊद र तिनका मानिसहरू आफूतिर आइरहेका देखिन्। 21दाऊदले मनमा यस्तो गुन्दै थिए, “किन मैले वनमा त्यस मानिसको सम्पत्तिको रक्षा गरेछु? त्यसको एउटा थोक पनि चोरी भएन र यस प्रकारले त्यसले मेरो मद्दतको सट्टामा मलाई खराबी गर्दै छ। 22ती मानिसहरू एक-एकलाई आज बिहानै मैले मारिनँ भने परमेश्वरले मलाई मारून्।”
23दाऊदलाई देखेर अबीगेल तुरुन्तै गधाबाट ओर्लिन् 24र तिनका खुट्टानिर भूइँमा तेर्सो परिन् र तिनलाई भनिन्, “हजुर, कृपा गरी मेरा कुरा सुन्नुहोस्! म आफूमाथि दोष लिँदछु। 25दया गरी नाबालतिर ध्यान नदिनुहोस्, त्यो व्यर्थको मानिस हो! त्यो त्यसको नामजस्तै मूर्ख छ! तपाईंका चाकरहरू आउँदा म त्यहाँ थिइनँ। 26परमेश्वरले तपाईंलाई आफ्ना शत्रुहरूसित बदला लिएर तिनीहरूलाई नाश पार्नदेखि रोक्नुभएको छ। जीवित परमप्रभुलाई र तपाईंको जीवनलाई समेत साक्षी राखी म भन्दछु कि तपाईंका शत्रुहरू र तपाईंको नाश चाहनेहरू सबैको दशा नाबालकै जस्तै होस्। 27हजुर, कृपा गरी मैले लिइआएका यी सौगात ग्रहण गर्नुहोस् र आफ्ना मानिसहरूलाई दिनुहोस्। 28हजुर, मैले गरेका कुनै भुल छन् भने मलाई माफ गर्नुहोला। परमप्रभुले तपाईंलाई र तपाईंका सन्तानलाई पनि राजा बनाउनुहुनेछ किनभने तपाईंले उहाँका लडाइँहरू लड्दै हुनुहुन्छ र आफ्नो जीवनभरि तपाईंले कुनै खराब काम गर्नुहुनेछैन। 29यदि कसैले तपाईंलाई हमला गरेर मार्ने चेष्टा गर्यो भने परमप्रभु तपाईंको परमेश्वरले मानिसको बहुमूल्य धन-राशिको जगेरा गरेझैँ तपाईंलाई रक्षा गर्नुहुनेछ। तपाईंका शत्रुहरूलाई चाहिँ मानिसले घुँयेत्रोले ढुङ्गा हानेझैँ उहाँले फ्याँकिदिनुहुनेछ। 30परमप्रभुले तपाईंलाई प्रतिज्ञा गर्नुभएको हरेक असल कुरा गरिसक्नुभएपछि र तपाईंलाई इस्राएलका राजा बनाउनुभएपछि 31तपाईंले केही कुरामा कसैलाई कारणबिना मारें वा बदला लिएँ भनेर दु:ख वा पछुताउ गर्नुपर्ने छैन र जब परमप्रभुले तपाईंलाई आशीर्वाद दिनुहुन्छ, मलाई नबिर्सनुहोला।”
32दाऊदले तिनलाई भने, “परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा होस्, जसले तिमीलाई आज मसित भेट गर्न पठाउनुभयो! 33तिम्रो विवेकी बुद्धिको निम्ति र मलाई हत्याको अपराध गर्न आफैं बदला लिनदेखि रोकेर कस्तो असल काम गर्यौ, त्यसको निम्ति परमेश्वरलाई धन्यवाद देऊ। 34तिम्रो नोक्सान गर्नदेखि परमप्रभुले मलाई रोक्नुभयो। जीवित परमप्रभु इस्राएलका परमेश्वरलाई साक्षी राखी म भन्दछु, यदि तिमी मलाई भेट्न झट्टै नआएकी भए नाबालका परिवारको एउटै पुरुष पनि बिहानसम्म जीवित रहनेथिएन!” 35त्यसपछि तिनले ल्याएका चीजबीज दाऊदले ग्रहण गरे र भने, “घर फर्केर जाऊ र निस्फिक्रीसाथ बस। म तिमीले चाहेझैँ गर्नेछु।”
36अबीगेल फर्केर नाबालकहाँ गइन्। त्यो घरमा बसेर राजाले खाने किसिमको भोज खाँदै थियो। त्यो मातेको थियो र असल मिजासको थियो। यसकारण तिनले भोलिपल्ट बिहानसम्म त्यसलाई केही भनिनन्। 37त्यसको होश खुलेपछि सबै कुरा तिनले त्यसलाई बताइन्। त्यसलाई हृदयघात भएर चलहल गर्न नसक्ने भयो। 38अरू दश दिनपछि परमप्रभुले त्यसलाई प्रहार गर्नुभयो र त्यो मर्यो।
39नाबाल मर्यो भनी दाऊदले सुने र तिनले भने, “परमप्रभुको प्रशंसा होस्! मलाई अपमान गरेको निम्ति उहाँले त्योसित बदला लिनुभयो र मलाई खराब काम गर्नदेखि बचाउनुभयो। नाबाललाई त्यसले गरेको खराबको निम्ति परमप्रभुले सजाय दिनुभएको हो।” त्यसपछि दाऊदले अबीगेललाई आफूले विवाह गर्ने प्रस्ताव पठाए। 40तिनका चाकरहरू कर्मेलमा तिनीकहाँ गए र भने, “हामीलाई दाऊदले तपाईंलाई तिनकी स्वास्नी हुन लिन पठाएका छन्।”
41अबीगेलले भूइँमा घोप्टेर ढोगिन् र भनिन्, “म उनकी दासी हुँ र उनका चाकरहरूका खुट्टा धुन तयार छु।” 42तिनी हतारसाथ उठिन् र आफ्नो गधामा सवार भइन्। आफ्ना पाँच दासीहरू साथ लिएर तिनी दाऊदका चाकरहरूका साथमा गइन् र विवाह गरी तिनकी स्वास्नी भइन्।
43दाऊदले यिजरेलकी अहीनोमलाई विवाह गरेका थिए र अब अबीगेल पनि तिनकी स्वास्नी भइन्। 44#2 शमूएल 3:14-16त्यही बेला शाऊलले आफ्नी छोरी र दाऊदकी स्वास्नी मीकललाई लेशको छोरो पल्तिएललाई दिइहाले। लेश गल्लीम सहरबाट आएका थिए।
अहिले सेलेक्ट गरिएको:
१ शमूएल 25: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.