YouVersion लोगो
खोज आइकन

१ शमूएल 22

22
पूजाहारीहरूको हत्‍या
1 # भजनसंग्रह 57; 142 दाऊद गात सहरबाट भागेर अदुल्‍लाम सहरछेउको एउटा ओडारमा गए। तिनका दाजुहरू र परिवारका अरूहरूले तिनी त्‍यहाँ छन् भनी सुनेर तिनीकहाँ आए। 2अत्‍याचार वा ऋण वा असन्‍तोषमा परेका मानिसहरू तिनीकहाँ गए। तिनीहरू जम्‍मा चार सय जति थिए र तिनी तिनीहरूका अगुवा भए।
3दाऊद त्‍यहाँबाट मोआबको मिस्‍पामा गए र मोआबका राजालाई भने, “परमेश्‍वरले मेरा लागि के गर्नुहुनेछ, त्‍यो थाहा नभएसम्‍म मेरा माता-पितालाई तपाईंकहाँ आएर बास गर्न दिनुहोस्।” 4त्‍यसरी दाऊदले आफ्‍ना माता-पितालाई मोआबको राजाकहाँ छोडी राखे र जहिलेसम्‍म तिनी ओडारमा लुकिबसे, तहिलेसम्‍म तिनीहरू त्‍यहीँ बसिरहे।
5अगमवक्ता गाद दाऊदकहाँ आएर भने, “यहाँ नबस्‍नुहोस्। झट्टै यहूदा देशमा गइहाल्‍नुहोस्।” यसकारण दाऊद त्‍यहाँबाट हिंडे र हारेतको वनमा गए।
6एक दिन शाऊल हातमा भाला लिई गिबाको एउटा डाँडामा एउटा झ्‍याउजस्‍तै रूखको बोटमुनि बसेका थिए र तिनका सबै भारदारहरू तिनका चारैपट्टि उभिएका थिए। दाऊद र तिनका मानिसहरू फेला परे भनी तिनलाई भनिएको थियो। 7तिनले भारदारहरूलाई भने, “बेन्‍यामीनीहरू हो, सुन! के दाऊदले तिमीहरू सबैलाई खेत र दाखबारी दिनेछ र त्‍यसका सेनामा अधिकृत बनाउनेछ भनी सोच्‍दछौ? 8के त्‍यही कारण तिमीहरू मेरा विरुद्धमा षड्‍यन्‍त्र गर्दछौ? मेरो छोराले दाऊदसित मिलाप गरेको छ भनी तिमीहरू कसैले मलाई भनेनौ। कसैले मेरो वास्‍ता गर्दैन वा मेरै मानिसहरूमध्‍ये एक जना दाऊदले यो घडी मलाई मार्ने मौका खोज्‍दै छ र मेरो छोराले त्‍यसलाई सुर्‍याउँदै छ भनी मलाई भन्‍दैन।”
9 # १ शमूएल 21:7-9; भजनसंग्रह 52 शाऊलका भारदारहरूसित दोएग खडा थियो र त्‍यसले भन्‍यो, “नोबमा अहीतूबका छोरा अहीमेलेककहाँ दाऊद गएको बेलामा मैले उनलाई देखें। 10दाऊदले कसो गर्नुपर्ने हो, सो अहीमेलेकले परमप्रभुसित सोधे र तिनले दाऊदलाई केही भोजन र पलिश्‍ती गोल्यतको तरवार दिए।”
11यसकारण शाऊल राजाले अहीमेलेक र उनका नोबमा पूजाहारी काम गर्ने नातेदारहरूलाई बोलाउन पठाए र तिनीहरू राजाकहाँ आए। 12शाऊलले अहीमेलेकलाई भने, “अहीमेलेक, सुन!”
“हजुर, म सेवामा हाजिर छु,” अहीमेलेकले उत्तर दिए।
13शाऊलले उनलाई सोधे, “किन तिमी र दाऊदले मेरो विरुद्धमा षड्यन्‍त्र गर्दछौ? तिमीले किन त्‍यसलाई भोजन र एउटा तरवार दियौ र त्‍यसको निम्‍ति परमेश्‍वरदेखि सल्‍लाह माग्‍यौ? अहिले त्‍यो मेरो विरुद्धमा खडा भएको छ र मलाई मार्ने मौका हेर्दछ!”
14अहीमेलेकले उत्तर दिए, “तपाईंसित भएका सबैभन्दा विश्‍वासी अधिकृत दाऊद हुन्। तिनी तपाईंको आफ्‍नै ज्वाइँ, हजुरका अङ्ग-रक्षकहरूका नाइके र राज-दरबारमा सबैले खुबै आदर गरेका व्‍यक्ति हुन्। 15हो, मैले उनको पक्षमा परमेश्‍वरको सल्‍लाह लिएँ, त्‍यो पहिलो चोटि पनि थिएन, षड्‍यन्‍त्रबारे चाहिँ हजुरले मलाई वा मेरा परिवारका अरू कसैलाई दोष नदिनू होला। यस विषयमा म केही कुरा जान्‍दिनँ!”
16राजाले भने, “अहीमेलेक! तिमी र तिम्रा सबै नातेदारहरू मारिनुर्छ।” 17तब तिनले आफ्‍ना छेउमा उभिरहेका पहरादारहरूलाई भने, “परमप्रभुका पूजाहारीहरू सबैलाई मार! तिनीहरूले दाऊदसित मिलेर षड्यन्‍त्र गरे र सबै कुरा थाहा हुँदाहुँदै पनि त्‍यो भागेको कुरा मलाई भनेनन्।” तर पहरेदारहरूमध्‍ये एक जनाले पनि परमप्रभुका पूजाहारीहरूलाई मार्न भनी आफ्‍नो हात उठाएन। 18यसकारण शाऊलले दोएगलाई भने, “तैँले तिनीहरूलाई मार्‌!” र दोएगले तिनीहरू सबैलाई मार्‍यो, त्‍यस दिन त्‍यसले पचासी जना एपोद लाउनलाई योग्‍य पूजाहारीहरू मार्‍यो। 19पूजाहारीहरूका सहर नोबका अरू सबै बासिन्‍दाहरूलाई पनि मार्ने आज्ञा शाऊलले दिए। पुरुष, स्‍त्री, दूधे-बालक, गाई-गोरु, गधा र भेडाहरू सबै संहार गरिए।
20तर अहीमेलेकको एक जना छोरो अबियाथार बाँचेर भागे र गएर दाऊदसित मिले। 21शाऊलले कसरी परमप्रभुका पूजाहारीहरूलाई मारेका थिए, त्‍यो कुरा तिनले दाऊदलाई सुनाए। 22दाऊदले तिनलाई भने, “जब त्‍यो दिन मैले दोएगलाई देखें, तब त्‍यसले शाऊललाई त्‍यो कुरा भन्‍नेछ भनी म पक्‍का थिएँ। मलाई पक्‍का लागेको थियो। र तिम्रा सबै नातेदारहरूका मृत्‍युको लागि म जिम्‍मेवार छु। 23मसित बस र नडराऊ। शाऊल तिमी र म दुवैलाई मार्न चाहन्‍छन्; तर तिमी मसित सुरक्षित रहनेछौ।”

अहिले सेलेक्ट गरिएको:

१ शमूएल 22: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्