YouVersion लोगो
खोज आइकन

१ शमूएल 2:1-11

१ शमूएल 2:1-11 सरल नेपाली

हन्‍नाहले यसरी प्रार्थना गरिन्– “परमप्रभुले मेरो हृदय आनन्‍दले भर्नुभएको छ। उहाँले गर्नुभएको कामले गर्दा म अति खुसी छु! म मेरा शत्रुहरूमाथि हाँस्‍दछु; परमेश्‍वरले मलाई मद्दत गर्नुभएको कारणले म हर्षित छु! “परमप्रभुजस्‍तो पवित्र कोही पनि छैनन्; उहाँजस्‍तो कोही पनि छैनन्, हाम्रा परमेश्‍वरजस्‍तो रक्षा गर्नुहुने कोही पनि छैनन्। तिम्रा ठूल्‍ठूला घमण्‍डका स्‍वर बन्‍द गर; तिम्रा अहङ्कारका शब्‍दहरू ननिकाल किनभने परमप्रभु सर्वज्ञानी परमेश्‍वर हुनुहुन्‍छ र उहाँले मानिसहरूका सबै काममाथि न्‍याय गर्नुहुन्‍छ। बलिया सिपाहीहरूका धनुहरू भाँचिएका छन्, तर दुर्बलहरू बलिया हुन्‍छन्। एक समय मीठा-मीठा खाना खाने मानिसहरू अहिले खाना खानलाई ज्‍यालामा काम गर्छन्, तर जो भोका थिए ती अब भोका छैनन्। नि:‍सन्‍तान स्‍वास्‍नीले सात वटा छोरा-छोरी पाइन्, तर धेरै जनाकी आमासित एउटै पनि बालक छैन। परमप्रभुले मार्नुहुन्‍छ र फेरि जीवन दिनुहुन्‍छ; उहाँले नै मानिसहरूलाई मृत्‍यु-लोकमा पठाउनुहुन्‍छ, अनि तिनीहरूलाई फेरि जीवित पार्नुहुन्‍छ। उहाँले नै कसैलाई गरीब र अरू कसैलाई धनी बनाउनुहुन्‍छ; उहाँले कसैलाई नम्र बनाउनुहुन्‍छ र अरू कसैलाई महान् बनाउनुहुन्‍छ। उहाँले गरीबलाई धूलोबाट उठाउनुहुन्‍छ, अभावमा परेकाहरूलाई तिनका कष्‍टदेखि उचाल्‍नुहुन्‍छ। उहाँले तिनीहरूलाई राजकुमारहरूका साथी बनाउनुहुन्‍छ, र आदरका स्‍थानहरूमा राख्‍नुहुन्‍छ। पृथ्‍वीका जगहरू परमप्रभुकै हुन्; तीमाथि उहाँले संसार बसाल्‍नुभएको छ। “उहाँले आफ्‍ना विश्‍वासयोग्‍य जनहरूको जीवन रक्षा गर्नुहुन्‍छ, तर दुष्‍टहरू अन्‍धकारमा हराएर जानेछन्; कुनै मानिसले आफ्‍नो शक्तिले जित्‍न सक्‍दैन। परमप्रभुका शत्रुहरू नाश भएर जानेछन्; उहाँ तिनीहरूका विरुद्धमा स्‍वर्गबाट गर्जनुहुन्‍छ। परमप्रभुले सारा संसारको न्‍याय गर्नुहुन्‍छ, उहाँले आफ्‍नो राजालाई शक्ति दिनुहुनेछ, उहाँले आफूले चुनेका राजालाई विजयी बनाउनुहुन्‍छ।” त्‍यसपछि एल्‍काना आफ्‍नो घर रामामा गए; तर बालक शमूएल शीलोमा बसे र पूजाहारी एलीको अधीनमा परमप्रभुको सेवा गर्न लागे।

१ शमूएल 2 पढ्नुहोस्