YouVersion लोगो
खोज आइकन

१ शमूएल 11

11
शाऊलले अम्‍मोनीहरूलाई जित्‍छन्‌
1एक महिनापछि अम्‍मोनका राजा नाहाश आफ्‍ना सेना लिएर गिलादको इलाकाको याबेश सहरमा आए र त्‍यसलाई घेरामा हाले। याबेश-वासीहरूले नाहाशलाई भने, “हामीसित सन्‍धि गर्नुहोस् र हामी तपाईंलाई आफ्‍ना राजा मान्‍नेछौं।”
2नाहाशले जवाफ दिए, “एउटा शर्तमा म तिमीहरूसित सन्‍धि गर्नेछु। म सबैको दाहिने आँखा निकालिदिनेछु र यसरी इस्राएलको बेइज्‍जत गरिनेछ।”
3याबेशका अगुवाहरूले भने, “इस्राएल देशमा चारैतिर खबर गर्ने मानिसहरू पठाउनलाई हामीलाई सात दिन समय दिनुहोस्। यदि कसैले हामीलाई मद्दत गरेनन् भने हामी तपाईंलाई समर्पण गर्नेछौं।”
4दूतहरू शाऊल बास गरेका गिबामा आए र खबर दिएपछि मानिसहरू हताश भई रुन लागे। 5शाऊल आफ्‍नो खेतबाट गोरुहरू लिएर भर्खर घर आउन लागेका थिए। तिनले सोधे, “के भयो? किन सबै जना रोइरहेका छन्?” याबेशबाट आएका दूतहरूले भनेका खबर तिनीहरूले शाऊललाई सुनाए। 6त्‍यो सुनेपछि परमेश्‍वरका आत्‍मा तिनमा उत्रिआउनुभयो र तिनी झोक्‍किए। 7तिनले दुई वटा गोरुहरू लिएर टुक्रा-टुक्रा गरी काटे र ती टुक्रा लिएर दूतहरूलाई सारा इस्राएल देशमा यस्‍तो चेतावनी दिएर पठाए, “जोजो शमूएल र शाऊलका पछि लडाइँमा जाँदैनन्, तिनीहरूको दशा पनि गोरुहरूको जस्‍तै हुनेछ!”
परमप्रभुले इस्राएलका प्रजालाई के गर्नुहुने होला नि भन्‍ने डर भयो र तिनीहरू सबै जना एक साथ भेला भए। 8शाऊलले तिनीहरूलाई बेजेकमा भेला गरे। त्‍यहाँ इस्राएलबाट तीन लाख र यहूदाबाट तीस हजार मानिसहरू आएका थिए। 9तिनीहरूले याबेशबाट आएका दूतहरूलाई भने, “तिम्रा मानिसहरूलाई भन कि भोलि मध्‍यदिनको अघि तिनीहरूले छुटकारा पाउनेछन्।” जब याबेशका मानिसहरूले त्‍यो खबर पाए, तिनीहरू साह्रै खुसी भए 10र नाहाशलाई भने, “भोलि हामी तपाईंको सामुन्‍ने समर्पित हुनेछौं र तपाईंले हामीसित जे मन लाग्‍छ, त्‍यो गर्न सक्‍नुहुनेछ।”
11भोलिपल्‍ट बिहानै शाऊलले आफ्‍ना मानिसहरूलाई तीन दलमा छुट्ट्याए र मिर्मिरे उज्‍यालो हुँदा तिनीहरूले शत्रुका छाउनीमा दगुरेर गई अम्‍मोनीहरूमाथि हमला गरे। मध्‍यदिनसम्‍म तिनीहरूको संहार गरे। बाँचेकाहरू जति छरपष्‍ट भएर भागे।
12तब इस्राएलका प्रजाले शमूएललाई भने, “शाऊल हाम्रा राजा हुनुहुन्‍न भन्‍ने मानिसहरू कहाँ छन्? तिनीहरूलाई हाम्रा हातमा दिनुहोस् र हामी तिनीहरूलाई मार्नेछौं!”
13तर शाऊलले भने, “कोही आज मारिनेछैन किनभने आजको दिन परमप्रभुले इस्राएललाई बचाउनुभएको छ।” 14अनि शमूएलले तिनीहरूलाई भने, “हामी सबै जना गिलगालमा जाऔं र फेरि एकचोटि शाऊललाई आफ्‍ना राजा भनी घोषणा गरौं।” 15यसरी तिनीहरू सबै जना गिलगालमा गए र त्‍यहाँ पवित्र स्‍थानमा शाऊललाई राजा भनी घोषणा गरे। तिनीहरूले मेलबलि चढाए अनि शाऊल र इस्राएलका सारा प्रजाले त्‍यो दिन एउटा उत्‍सव मनाए।

अहिले सेलेक्ट गरिएको:

१ शमूएल 11: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्