सबैको भलाइ होस् भनेर हरेक मानिसलाई पवित्र आत्माको काम प्रकट हुन हरेकलाई वरदानहरू दिइएको छ। कसैलाई पवित्र आत्माले नै बुद्धिको वचन दिने वरदान दिनुहुन्छ र उही आत्माले कसैलाई ज्ञानको वचन दिने वरदान दिनुहुन्छ। उही पवित्र आत्माले कसैलाई विशेष विश्वास दिनुहुन्छ र कसैलाई बिरामी निको पार्ने वरदानहरू दिनुहुन्छ। कसैलाई चाहिँ अचम्म-अचम्मका काम गर्ने शक्ति दिनुहुन्छ। कसैलाई अगमवाणी बोल्ने (अर्थात् बुझ्ने भाषामा परमेश्वरको तर्फबाट बोल्ने) वरदान, कसैलाई आत्माहरू छुट्याउने वरदान अनि कसैलाई विभिन्न किसिमका अन्य भाषाहरूमा बोल्ने वरदान त कसैलाई ती भाषाहरूको अर्थ खोल्ने वरदान पवित्र आत्माले नै दिनुहुन्छ। यी सबै उही एउटै पवित्र आत्माका काम हुन्। पवित्र आत्माले आफ्नै इच्छाअनुसार सबैलाई यी बेग्ला-बेग्लै वरदानहरू दिनुहुन्छ। हाम्रो एउटा जिउमा धेरै अङ्ग छन्– यी बेग्ला-बेग्लै अङ्ग मिलेर एउटै जिउ बन्छ। ख्रीष्ट पनि यस्तै हुनुहुन्छ। हामी यहूदी भए पनि, ग्रीक भए पनि, कमारा भए पनि, स्वतन्त्र भए पनि हामीले एउटै पवित्र आत्माद्वारा बप्तिस्मा पाएकोले एउटै शरीर भएका छौं अनि हामी सबैले एउटै आत्माबाट पिएका छौं। किनभने मानिसको शरीर एउटै अङ्गले बनिएको होइन, तर धेरै अङ्ग मिलेर बनेको छ। खुट्टाले म हात होइनँ। त्यसैकारण म शरीरको होइनँ भन्दैमा के खुट्टा शरीरको नहुने हो र? कानले म आँखा होइनँ। त्यसैकारण म शरीरको होइनँ भन्दैमा ऊ शरीरको नहुने हो र? पूरै शरीरमा आँखा मात्रै भयो भने केले सुन्ने? र कान मात्रै भयो भने केले सुँघ्ने? शरीरमा भएका अङ्गहरू परमेश्वरले आफ्नै इच्छाले शरीरमा राखिदिनुभएको हो। एउटै अङ्गले पूरै शरीर ढाक्यो भने शरीर हुने नै थिएन। अङ्गहरू धेरै छन्, तर शरीरचाहिँ एउटै छ। आँखाले हातलाई ‘मलाई तेरो खाँचो छैन’ भन्न सक्दैन। त्यसरी नै टाउकोले खुट्टालाई पनि ‘तेरो खाँचो छैन’ भन्न सक्दैन। अझ उल्टा शरीरका सबैभन्दा कमजोर अङ्गहरू नै हामी बढी जतन गर्छौं अनि नराम्रो अङ्गलाई नै स्याहार्छौं। जुन अङ्गहरूलाई हामी निच ठान्छौं, त्यसैको धेरै याद गर्दछौं, जब ती शरीरका अङ्गहरू, जुनचाहिँ धेरै राम्रा देखिंदैनन्, त्यसैलाई राम्ररी छोप्छौं। अरू राम्रा अङ्गहरूको पो हामी वास्ता गर्दैनौं। तर कमजोर अङ्गलाई बढी आदर दिनुपर्ने गरी परमेश्वरले नै यस शरीरका अङ्गहरू मिलाएर राख्नुभएको छ र शरीरमा फाटो नपरोस् तर शरीरका अङ्गहरूले एक-अर्काको वास्ता गरून्। कुनै अङ्गले दु:ख पाउँदा सबै शरीरले नै दु:ख भोग्छ। एउटा शरीरको अङ्गले प्रशंसा पाउँदा पूरै शरीरले नै प्रशंसा पाउँछ। त्यसैगरी तिमीहरू सबै खीष्टका शरीर हौ। हरेक त्यसका अङ्गहरू हौ।
१ कोरिन्थी 12 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ कोरिन्थी 12:7-27
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू