म ख्रीष्टले गरेझैँ गर्छु, तिमीहरूले पनि मैले गरेझैँ गर। सधैँ मलाई सम्झेको र मैले दिएको शिक्षा मानेकोले म तिमीहरूको प्रशंसा गर्दछु। तर तिमीहरूलाई थाहा होस् कि ख्रीष्ट सबै मानिसको शिर हुनुहुन्छ। पत्नीको शिर पति हो र परमेश्वरचाहिँ ख्रीष्टका शिर हुनुहुन्छ। टाउको छोपेर प्रार्थना वा अगमवाणी बोल्ने (अर्थात् परमेश्वरको तर्फबाट बोल्ने) पुरुषले आफ्नो शिर ख्रीष्टको बेइज्जत गर्छ। आफ्नो टाउको नछोपी प्रार्थना गर्ने र अगमवाणी बोल्ने स्त्रीले लोग्नेको बेइज्जत गर्छे। त्यस्ती स्त्री त कपाल खौरेकी स्त्रीजस्तै हो। यदि कुनै स्त्रीले टाउको छोप्तिन भने बरु उसले कपाल काट्नु वा खौरिनु राम्रो हो। होइन भने उसले टाउको छोप्नैपर्छ। परुषले टाउको छोप्नुपर्दैन किनभने ऊ परमेश्वरको स्वरूप र शोभा हो। स्त्रीचाहिँ लोग्नेको शोभा हो किनभने पुरुष स्त्रीबाट सृष्टि भएको होइन। तर स्त्री पुरुषबाट सृष्टि भएको हो। अनि पुरुष स्त्रीको लागि बनेको होइन, तर स्त्री पुरुषको लागि बनेको हो। त्यसैकारण स्वर्गदूतका अघि स्त्रीले आफ्नो लोग्नेको अधीनमा छु भनी देखाउन टाउको छोप्नुपर्छ। तैपनि प्रभुको सामु स्त्री पुरुषदेखि स्वतन्त्र हुँदिन र पुरुष पनि स्त्रीदेखि स्वतन्त्र हुँदैन किनभने स्त्री पुरुषबाट सृष्टि गरियो अनि पुरुष पनि स्त्रीबाटै जन्मिन्छ र सबैको मूलचाहिँ परमेश्वर नै हुनुहुन्छ। आफैं विचार गर, के स्त्रीलाई टाउको नछोपी परमेश्वरलाई प्रार्थना गर्न सुहाउँछ? किनभने प्रकृतिले नै तिमीलाई सिकाउँछ, पुरुषको लामो केश हुनु बेइज्जतको कुरो हो। स्त्रीको चुल्ठो त उसको शोभा र घुम्टो हो। यसको बारेमा कोही तर्क गर्न चाहन्छ भने म भन्दछु, योबाहेक हाम्रो अरू कुनै चलन छैन र परमेश्वरको मण्डलीको अरू कुनै रीतिथिति छैन। अब मैले भन्ने कुरामा म तिमीहरूलाई सर्काउन सक्तिनँ। तिमीहरूले मण्डलीमा भेला हुँदा जे गर्छौ, त्यो राम्रोभन्दा धेरै नराम्रो गरेका छौ। पहिलो कुरो, तिमीहरू सभामा भेला हुँदा तिमीहरूका माझमा फाटो हुन्छ भन्ने सुन्दछु, केही अंशमा साँचो पनि होला। साँचो मानिस चिनिनलाई फाटो त हुनै पनि पर्छ। तिमीहरू भेला हुँदा प्रभुको भोज खानलाई भेला हुँदारहेछौ किनभने आफ्नै सुरमा तिमीहरू आफूले ल्याएका खानेकुरो खान लाग्छौ, नहुनेचाहिँ भोकै हुन्छन् र हुनेचाहिँ मात्छन्। तिमीहरूले आफ्नै घरमा खाँदा हुँदैन र? कि तिमीहरू परमेश्वरको मण्डलीलाई तुच्छ सम्झन्छौ? अनि नहुनेलाई लाजमा पार्न खोज्छौ? यस बारेमा तिमीहरूलाई मैले के भन्ने? यसमा के म तिमीहरूले राम्रो गर्यौ भनूँ? अँहँ, म राम्रो गर्यौ भन्नै सक्तिनँ। किनभने मैले दिएको यो शिक्षा प्रभुबाटै पाएको हुँ। प्रभु येशू पक्राउ पर्नुभएको रातमा उहाँले रोटी लिनुभयो अनि परमेश्वरलाई धन्यवाद दिएर टुक्र्याउँदै भन्नुभयो, “तिमीहरूका लागि दिएको यो मेरो शरीर हो, मेरो सम्झनाको लागि यसै गर्ने गर’। त्यसै गरी रोटी खाएपछि कचौरा लिएर भन्नुभयो, ‘यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो। जति खेर तिमीहरू यो पिउँछौ, मेरो सम्झनाको लागि यसै गर्ने गर’।” यसरी तिमीहरू रोटी खाँदा र यो कचौराबाट पिउँदा प्रभु नआउञ्जेलसम्म उहाँको मृत्युको प्रचार गर्नेछौ। यसैकारण ज-जसले बेठीकसँग प्रभुको रोटी खान्छ र उहाँको कचौराबाट पिउँछ, उनीहरू प्रभुको शरीर र रगतको दोषी हुनेछन्। हरेकले आफूलाई पहिले जाँचोस् र त्यसपछि रोटी खाओस् र कचौराबाट पिओस् किनभने खाने र पिउने मानिसले प्रभुको शरीरको बारेमा नबुझी खान्छ र पिउँछ भने आफैंमाथि सजाय ल्याउँछ। यसैले तिमीहरूमा धेरै जना कमजोर छौ अनि कत्ति त मरे पनि। यदि पहिले नै आफैंलाई ठीकसँग जाँच्यौ भने परमेश्वरले दोषी ठहराउनुहुनेछैन। संसारका मानिसहरूसँगै नाश नहौं भनेर हामीलाई प्रभुले न्याय गर्नुहुन्छ र ताडना दिनुहुन्छ। यसैकारण प्यारा भाइहरू, तिमीहरू यसरी प्रभुको भोज खान भेला हुँदा एक-अर्कालाई पर्ख। कोही भोकाएको छ भने उसले घरमै खाओस् र प्रभुको भोज खाँदा तिमीहरूले परमेश्वरबाट दोषी ठहरिनुनपरोस्। अरू कुराको बारेमा चाहिँ म आएको बेला नै मिलाउनेछु।
१ कोरिन्थी 11 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ कोरिन्थी 11:1-34
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू