१ इतिहास 29
29
मन्दिर बनाउन आएका दानहरू
1 #
१ इतिहास 22:5
दाऊद राजाले सम्पूर्ण जन-समुदायलाई यस्तो घोषणा गरे, “परमेश्वरले चुन्नुभएको व्यक्ति मेरो छोरो सोलोमन हो; तर त्यो अहिले कलिलै छ र अनुभवमा कम छ। गर्नुपर्ने काम ठूलो छ किनभने यो मानिसको लागि बनाइने महल होइन; तर परमप्रभु परमेश्वरको मन्दिर हो। 2मन्दिरको लागि चाहिने सबै सामान तयार पार्ने चेष्टा मैले सकभर गरेको छु— सुन, चाँदी, काँसा, फलाम, काठपात, बहुमूल्य पत्थर र रत्नहरू, सिँङ्गार्ने रङ्गी-विरङ्गी ढुङ्गाहरू र धेरै सिङ्गमरमरहरू यहाँ छन्।
3मैले बटुलेका यी सबै कुराहरूमाथि मैले आफ्नो निजी भण्डारबाट चाँदी र सुन थपेको छु किनभने म परमेश्वरको मन्दिरलाई प्रेम गर्दछु।
4-5मन्दिरका भित्ताहरू सिँगार्न र कारिगरहरूले बनाउनुपर्ने अरू सबै कुराहरूको लागि मैले एक सय टनभन्दा बढ्ता निखुर सुन र करिब दुई सय चालीस टन चाँदी दिएको छु। अब परमप्रभुलाई मुट्ठी खोलेर भेटी चढाउन अरूको-को राजी छन्?”
6तब गोत्र-गोत्रका अगुवाहरू, कुल-कुलका अधिकृतहरू, सेनाका कप्तानहरू र राजकीय सम्पत्तिका रेख-देख गर्ने अधिकारीहरूले आफ्नो इच्छाले मन्दिरको कामको लागि 7यी कुराहरू दिए— १७० टनभन्दा धेरै सुन, ३४० टनभन्दा धेरै चाँदी, करिब ६२० टन काँसा र ३,४०० टनभन्दा ज्यादा फलाम। 8जोसँग अमूल्य रत्नहरू थिए, ती तिनीहरूले मन्दिरको भण्डारमा दिए, जसको जिम्मेवारचाहिँ गेर्शोनका लेवी कुलका यहीएल थिए। 9अगुवाहरूले ती कुरा राजीखुसीले परमप्रभुलाई दिएका थिए। त्यति धेरै भेटीहरू जम्मा भएकोमा मानिसहरू खुसी थिए। दाऊद राजा पनि औधी खुसी थिए।
दाऊदले परमेश्वरको प्रशंसा गर्छन्
10त्यहाँ सम्पूर्ण जन-समुदायअघि दाऊद राजाले परमप्रभुको प्रशंसा गरे। तिनले भने, “परमप्रभु हाम्रा पुर्खा याकूबका परमेश्वर, तपाईंको प्रशंसा सदासर्वदा होइरहोस्! 11#मत्ती 6:13तपाईं महान् र शक्तिशाली, गौरवमय, उदेकका र प्रतापी हुनुहुन्छ। स्वर्ग र पृथ्वीका सबै थोकहरू तपाईंका हुन् र तपाईं राजा र सर्वोच्च शासक हुनुहुन्छ। 12सारा धन-सम्पत्ति तपाईंबाट आउँछन् र सबैमाथि तपाईंले आफ्नो शक्ति र प्रतापले शासन गर्नुहुन्छ अनि तपाईंले जोसुकैलाई महान् र शक्तिशाली बनाउन सक्नुहुन्छ। 13अब हे हाम्रा परमेश्वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौं र तपाईंको महिमापूर्ण नामको प्रशंसा गर्छौं।
14“तथापि म र मेरा प्रजाले वास्तवमा तपाईंलाई केही पनि दिन सक्दैनौं किनभने सबै थोक तपाईंका दान हुन् र ती तपाईंकै हुन्, त्यो त फर्काएका मात्र हौं। 15हे परमप्रभु, तपाईं जान्नुहुन्छ कि हामी हाम्रा जीवन हाम्रा पितापुर्खाहरूजस्तै परदेशी र देशनिकालाहरूजस्ता भएर बिताउँछौं। हाम्रा जीवन सरिजाने छायाँजस्तो छ र हामी मृत्युबाट भाग्न सक्दैनौं। 16हे परमप्रभु, हाम्रा परमेश्वर, तपाईंको पवित्र नामको आदर गर्न मन्दिर बनाउन हामीले यो धन जम्मा गरेका छौं तर यी सबै तपाईंबाट आएका हुन् र तपाईंकै हुन्। 17म जान्दछु कि तपाईंले हरेकको हृदय जाँच्नुहुन्छ र निष्कपट मानिससित खुसी हुनुहुन्छ। यी सबै थोक मैले राजी-खुसीले इमानदारी र शुद्ध हृदयसाथ तपाईंलाई चढाएको छु। तपाईंका मानिसहरू, जो यहाँ भेला भएका छन्, तपाईंकहाँ आफ्ना भेटीहरू ल्याउँदा खुसी छन्, त्यो मैले देखेको छु। 18परमप्रभु हाम्रा पिता-पुर्खाका परमेश्वर, अब्राहाम, इसहाक र याकूबका परमेश्वर यस्तो भक्ति आफ्ना प्रजाका हृदयमा दरिलो पारी राखिदिनुहोस् र तिनीहरूलाई सदासर्वदा आफूतर्फ विश्वासयोग्य बनाइराख्नुहोस्। 19मेरो छोरो सोलोमनलाई तपाईंका सबै आज्ञा मान्ने र तपाईंको मन्दिर बनाउने हृदयदेखिको इच्छा दिनुहोस्। तपाईंको मन्दिर बनाउन मैले यी कुराहरू तयारी गरेको छु।”
20त्यसपछि दाऊदले मानिसहरूलाई आज्ञा दिए, “परमप्रभु, तिम्रा परमेश्वरको प्रशंसा गर!” सारा जन-समुदायले परमप्रभु आफ्ना पिता-पुर्खाका परमेश्वरको र भूइँसम्म शिर निहुराएर परमप्रभु र राजालाई आदर गर्दै प्रणाम गरे।
21भोलिपल्ट परमप्रभुलाई अर्पण गर्दै बलिदान चढाएर तिनीहरूले पशु मारे र मानिसहरूलाई मासु खान दिए। त्यसमाथि तिनीहरूले एक हजार साँढे, एक हजार भेडा र एक हजार थुमा होमबलि चढाए र वेदीमाथि सिँगै जलाए। तिनीहरूले मद्यबलि पनि चढाए। 22त्यो दिन तिनीहरूले परमप्रभुको अघि खाए, पिए र औधी खुसी मनाए।
दोस्रोपल्ट तिनीहरूले सोलोमनलाई राजा घोषणा गरे।
परमप्रभुको नाममा तिनीहरूले उनलाई आफ्ना राजा र सादोकलाई पूजाहारी अभिषेक गरे। 23#१ राजा 2:12यसरी सोलोमन आफ्ना बुबा दाऊदका सिंहासनमा बसे, जुन सिंहासन परमप्रभुले स्थापना गर्नुभएको थियो। उनी सफल राजा भए र सारा इस्राएल जातिले उनका आज्ञापालन गर्थे। 24सबै अधिकृत र सिपाहीहरूले र दाऊद राजाका अरू छोराहरूले समेत सोलोमनलाई राजा मानी उनीप्रति राजभक्त रहने प्रतिज्ञा गरे। 25परमप्रभुले सारा इस्राएली जातिका नजरमा उनलाई यस्तो गौरव दिनुभयो कि उनी अघि इस्राएलमा राज्य गर्ने कुनै राजाले त्यस्तो गौरव पाएका थिएनन्।
दाऊदको शासनको सारांश
26यिशैका छोरा दाऊदले सारा इस्राएलमाथि चालीस वर्ष राज्य गरे। 27#2 शमूएल 5:4,5; १ इतिहास 3:4उनले हेब्रोनमा सात वर्ष र यरूशलेममा तेत्तीस वर्ष राज्य गरे। 28उनी पूरा उमेर पुगेर वृद्ध अवस्थामा धन र सम्मान्साथ मरे र उनका छोरा सोलोमन उनीपछि राजा भए। 29दाऊद राजाको कथा सुरुदेखि अन्त्यसम्म तीन जना अगमवक्ता अथवा शमूएल, नातान र गादका पुस्तकहरूमा लेखिएको छ। 30ती लेखहरूमा उनले कसरी राज्य गरे, उनी कति शक्तिशाली थिए र उनी र इस्राएल जाति अनि चारैतिरका राज्यहरूसित के-के घटना भएका थिए, ती सबैको बयान गरिएको छ।
अहिले सेलेक्ट गरिएको:
१ इतिहास 29: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.