१ इतिहास 18
18
दाऊदका सैनिक विजयहरू
(२ शमूएल ८:१-१८)
1केही समयपछि दाऊद राजाले फेरि पलिश्तीहरूमाथि आक्रमण गरे र तिनीहरूलाई जिते। गात सहर र त्यसका चारैतिरका गाउँ-बस्तीहरू उनले तिनीहरूका हातबाट खोसे। 2उनले मोआबीहरूलाई पनि जिते र तिनीहरूले उनका प्रजा भई कर तिर्न लागे।
3त्यसपछि दाऊदले हमात देशको छेउमा भएको अरामी देश सोबाका राजा हददेजेरलाई हमला गरे किनभने हददेजेरले माथिल्लो यूफ्रेटिस नदीको किनारपट्टिको इलाका आफ्नो अधीनमा लिने चेष्टा गर्दै थिए। 4तिनका एक हजार रथ, सात हजार घोडचढी सैनिक र बीस हजार पैदल सेना दाऊदले कब्जा गरे। एक सय रथलाई पुग्दो गरी घोडाहरू राखेर अरू सबै उनले खोरन्डा बनाइदिए।
5दमस्कसका अरामीहरूले हददेजेर राजालाई मद्दत दिन एक दल सेना पठाए। दाऊदले त्यस सेनालाई हमला गरे र बाईस हजार मानिसहरूलाई मारे। 6त्यसपछि तिनीहरूको देशभित्र दाऊदले सैनिक अड्डा खोले र तिनीहरू उनका प्रजा भए र राजकर तिरे। सबैतिर दाऊदलाई परमप्रभुले विजयी तुल्याउनुभयो। 7हददेजेरका अधिकृतहरूले बोकेका सुनका ढालहरू दाऊदले कब्जा गरे र यरूशलेममा लगे। 8#१ राजा 7:40-47; २ इतिहास 4:11-18हददेजेरले शासन गरेका तेबह र कून सहरहरूबाट काँसा पनि धेरै मात्रामा उनले लगे। (पछिबाट सोलोमनले ती काँसा मन्दिरको निम्ति कुण्ड, स्तम्भ र भाँडा-कुँडा बनाउने काममा लाए।)
9हमातका राजा तोऊले हददेजेरको सम्पूर्ण सेनालाई दाऊदले जितेका कुरा सुने। 10यसकारण तिनले आफ्नो छोरो हदोरमलाई दाऊद राजालाई अभिवादन गर्न र हददेजेरलाई जितेका निम्ति उनलाई बधाई दिन पठाए। तोऊले हददेजेरसित धेरैपल्ट लडाइँ गरेका थिए। हदोरमले दाऊदकहाँ सुन, चाँदी र काँसाका कोसेलीहरू ल्याए। 11दाऊदले ती कोसेलीहरू आफूले जितेका अरू देशहरू, एदोम, मोआब, अम्मोन, पलिश्ती देश र अमालेकबाट लिएका सुन र चाँदीसँग मिलाएर परमप्रभुलाई अर्पण गरे।
12 #
भजनसंग्रह 60
अबीशैले, जसकी आमा सरूयाह थिइन्, एदोमीहरूलाई नुनको बेसीमा विजय गरे र अठार हजार एदोमीहरूलाई मारे। 13एदोममा जहीँ-तहीँ तिनले सैनिक अड्डा बसाले र त्यहाँका मानिसहरू दाऊद राजाका प्रजा भए।
14दाऊदले सबै ठाउँमा सारा इस्राएलमाथि राज्य गरे र आफ्ना प्रजाले सधैँ ठीक न्यायको व्यवहार पाउने काम गरे। 15अबीशैको दाजु योआब सेनापति थिए, अहीलूदको छोरो यहोशापातले राज्यका कागज-पत्र राख्थे। 16अहीतूबको छोरो सादोक र अबीयाथारको छोरो अहीमेलेक पूजाहारी थिए। शब्शा महलका सचिव थिए। 17दाऊदका अङ्गरक्षक दलका कप्तान यहोयादाको छोरो बनायाह थिए। राजाका छोराहरू राज-सेवामा ठूल्ठूला पदमा नियुक्त भएका थिए।
अहिले सेलेक्ट गरिएको:
१ इतिहास 18: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.