१ इतिहास 14
14
दाऊदले यरूशलेममा गरेका कामहरू
(२ शमूएल ५:११-१६)
1टुरोसका राजा हीरामले दाऊदकहाँ एक व्यापारी दल पठाए। उनले महल बनाउन दाऊदकहाँ देवदारुका काठ अनि डकर्मी र सिकर्मीहरू पनि पठाए। 2त्यसरी दाऊदले थाहा पाए कि परमप्रभुले उनलाई इस्राएलका राजा बनाई स्थिर गर्नुभयो र आफ्ना प्रजाको लागि उनको राज्यको फलिफाप गराउँदै हुनुहुन्थ्यो।
3यरूशलेममा दाऊदले अरू धेरै स्वास्नीहरू विवाह गरे र उनका अरू धेरै छोरा-छोरीहरू भए। 4यरूशलेममा तिनका यी छोरा-छोरीहरू जन्मेका थिए— शम्मूअ, शोबाब, नातान, सोलोमन, 5यिभार, एलीशूअ, एल्पेलेत, 6नोगह, नेपेग, यापी, 7एलीशामा, बेलीयादा र एलीपेलेत।
पलिश्तीहरूमाथि विजय
(२ शमूएल ५:१७-२५)
8दाऊद सम्पूर्ण इस्राएल देशमाथि राजा भएका छन् भनी पलिश्तीहरूले सुने र तिनीहरूको फौज उनलाई पक्रन निस्क्यो। दाऊद पनि तिनीहरूको सामना गर्न निस्के। 9पलिश्तीहरू रपाई बेसीमा पुगे र लुट-पिट गर्न लागे। 10दाऊदले परमेश्वरलाई सोधे, “के म पलिश्तीहरूलाई हमला गरूँ? के तपाईंले मलाई विजय दिनुहुन्छ?”
परमप्रभुले उत्तर दिनुभयो, “अँ, हमला गर्! म तँलाई विजय दिनेछु!”
11दाऊदले तिनीहरूलाई बालपराजीममा हमला गरे र जिते। उनले भने, “शत्रुका सेना नाश पार्न परमेश्वरले मलाई बाढीजस्तै प्रयोग गर्नुभयो।” यसकारण त्यस ठाउँको नाम बाल-पराजीम भएको हो। 12पलिश्तीहरू भागेर जाँदा तिनीहरूले आफ्ना देवीदेवताका मूर्तिहरू छोडिराखे र ती जलाइदिन दाऊदले आज्ञा दिए।
13फेरि छिट्टै पलिश्तीहरू बेसीमा नै फर्केर आए र लुट-पाट सुरु गरे। 14फेरि एकपल्ट दाऊदले परमेश्वरको सल्लाह लिए। उहाँले उत्तर दिनुभयो, “तिनीहरूलाई यहाँबाट हमला नगर् तर घुमेर जा र अर्कोपट्टिबाट सुगन्धित रूख छेउबाट हमला गर्ने तयारी गर्। 15जब तैँले रूखका टुप्पाहरूबाट सेना हिँडेको आवाज सुन्छस्, तब हमला गर्नू किनभने म तेरा अघि-अघि पलिश्ती सेनाको हार गराउन हिँड्नेछु।” 16दाऊदले परमेश्वरको आज्ञाअनुसार गरे र पलिश्तीहरूलाई खेदेर गिबोनदेखि गेजेरसम्म पुर्याए। 17दाऊदको सुनाम जहीं-तहीं फैलिएर गयो र परमप्रभुले हरेक जातिलाई उनीदेखि डराउन लाउनुभयो।
अहिले सेलेक्ट गरिएको:
१ इतिहास 14: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.