YouVersion लोगो
खोज आइकन

जकरिया 11:4-17

जकरिया 11:4-17 NNRV

परमप्रभु मेरा परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, “काटिने भेड़ाबाख्राहरूलाई चरा। ती किन्‍नेहरूले तिनलाई काटेर मार्छन्, र सजाय नपाई जान्‍छन्‌। तिनलाई बेच्‍नेहरू भन्‍दछन्, ‘परमप्रभुलाई प्रशंसा होस्, किनकि म धनी भएँ’। तिनीहरूका आफ्‍नै गोठालाहरूले तिनलाई छोड्‌दैनन्‌। किनभने देशका मानिसहरूलाई म टिठ्याउनेछैनँ,” परमप्रभु भन्‍नुहुन्‍छ। “म हरेकलाई त्‍यसकै छिमेकीको हातमा र त्‍यसकै राजाको हातमा सुम्‍पिदिनेछु। उनीहरूले देशलाई अत्‍याचार गर्नेछन्, र उनीहरूका हातदेखि म तिनीहरूलाई छुटाउनेछैनँ।” यसैले काटिनलाई राखिएका भेड़ाबाख्राहरूको बगाललाई मैले चराएँ, विशेष गरी बगालका थिचोमिचोमा परेकाहरूलाई। अनि मैले आफ्‍नो निम्‍ति दुई वटा लौरा लिएँ— एउटाको नाउँ मैले ‘अनुग्रह’ राखें, र अर्कोको ‘एकता’— र मैले बगाललाई चराएँ। मैले तीन जना गोठालाहरूलाई एकै महिनामा हटाएँ। त्‍यस बगालले मलाई घृणा गर्‍यो, र म तिनीहरूसँग वाक्‍क भएँ। मैले भनें, “म तिमीहरूको गोठालो हुनेछैनँ। मर्नेहरू मरिरहून्, नष्‍ट हुनेहरू नष्‍ट भइरहून्, र बाँचिरहनेचाहिँ एउटाले अर्काको मासु खाऊन्‌।” तब मैले मेरो ‘अनुग्रह’ नामक लहुरो लिएँ, र सबै जाति-जातिहरूसित बाँधेको करार रद्द गरेर त्‍यो भाँचें। त्‍यो करार त्‍यही दिन रद्द भयो, र यसरी बगालका दु:खीहरूले, जसले मलाई हेरिराखेका थिए, तिनीहरूले त्‍यो त परमप्रभुको वचन रहेछ भनी जाने। तब मैले तिनीहरूलाई भनें, “तिमीहरूलाई असल लागे मलाई मेरो ज्‍याला देओ। होइन भने राख।” यसैले तिनीहरूले मलाई चाँदीका तीस टुक्रा दिए। परमप्रभुले मलाई भन्‍नुभयो, “त्‍यो पैसा कुमालेलाई फ्‍याँकिदे”— यो बहुमूल्‍य दाम जो तिनीहरूले मेरो निम्‍ति लगाए। तब मैले चाँदीका ती तीस टुक्रा लगेर परमप्रभुका भवनको भण्‍डारमा कुमालेको निम्‍ति फालिदिएँ। तब यहूदा र इस्राएलका बीचका दाजुभाइको नाता टुटाइदिनलाई मैले ‘एकता’ नाउँ भएको अर्को लहुरो भाँचें। तब परमप्रभुले मलाई भन्‍नुभयो, “मूर्ख गोठालाको हतियार तैंले फेरि ली। किनकि म यस देशमा यस्‍तो एउटा गोठालो खड़ा गर्नेछु, जसले हराएकाहरूलाई हेरचाह गर्नेछैन, न त छरपष्‍ट भएकाहरूलाई भेला गर्नेछ, न चोट लागेकाहरूलाई निको पार्नेछ, न त निरोगीहरूलाई चराउनेछ, तर त्‍यसले राम्रा भेड़ाका खुर च्‍यातेर तिनीहरूको मासु खानेछ। “बगाल छोड़ेर जाने बेकामको गोठालालाई धिक्‍कार! त्‍यसको पाखुरा र दाहिने आँखालाई तरवारले हानोस्‌। त्‍यसको पाखुरा जम्‍मै सुकेर जाओस्‌ र त्‍यसको दाहिने आँखा पूरा अन्‍धो होस्‌।”