YouVersion लोगो
खोज आइकन

तीतस 1:1-9

तीतस 1:1-9 NNRV

परमेश्‍वरको दास र येशू ख्रीष्‍टको प्रेरित पावलबाट, परमेश्‍वरका चुनिएकाहरूको विश्‍वास र भक्तिसँग मिल्‍दो तिनीहरूका सत्‍यको ज्ञान बढ़ाउनलाई, जुन विश्‍वास र ज्ञान अनन्‍त जीवनको आशामा स्‍थिर छन्, अनि कहिल्‍यै झूट नबोल्‍नुहुने परमेश्‍वरले अनन्‍त कालदेखि प्रतिज्ञा गर्नुभयो। परमेश्‍वर हाम्रा मुक्तिदाताको आज्ञाअनुसार मलाई जिम्‍मा लाएको प्रचारद्वारा उचित समयमा उहाँले आफ्‍नो वचन प्रकट गर्नुभयो। एउटै विश्‍वासमा भएको मेरो साँचो बालक तीतसलाई— परमेश्‍वर पिता र हाम्रा मुक्तिदाता येशू ख्रीष्‍टबाट अनुग्रह र शान्‍ति। यसैकारण मैले तिमीलाई क्रेटमा छोडें, कि मैले तिमीलाई अह्राएबमोजिम तिमीले त्‍यहाँ अपूरा कुराहरू पूरा गर्नू, र हरेक सहरमा एल्‍डरहरू नियुक्त गर्नू। एल्‍डर एउटै स्‍त्रीको पति र दोषरहित र यस्‍तो व्‍यक्ति होस्, जसका छोरा-छोरीहरू विश्‍वासी होऊन्, र चरित्रहीन र अनाज्ञाकारी नहोऊन्‌। किनभने परमेश्‍वरको कारिन्‍दा हुनुपर्ने हुनाले बिशपचाहिँ दोषरहित हुनुपर्छ। तिनी हठी वा झट्टै रीस गर्ने, वा मतवाला, वा झगड़ालु वा धनको लोभी हुनुहुँदैन, तर अतिथिसत्‍कार गर्ने, भलाइ प्रेमी, आफूलाई वशमा राख्‍ने, ईमानदार, पवित्र र संयमी हुनुपर्दछ। तिनलाई सिकाइएको विश्‍वासयोग्‍य वचनमा तिनी दह्रिलो बस्‍नुपर्छ, ताकि तिनले पक्‍का सिद्धान्‍तअनुसार शिक्षा दिन सकून्, र ती कुराहरूको खण्‍डन गर्नेहरूलाई झूटा साबित गर्न सकून्‌।