YouVersion लोगो
खोज आइकन

प्रकाश 16:8-21

प्रकाश 16:8-21 NNRV

त्‍यसपछि चौथो स्‍वर्गदूतले आफ्‍नो कचौरो सूर्यमाथि खन्‍याए, र मानिसहरूलाई अग्‍निले डढ़ाउने अनुमति सूर्यलाई दिइयो। मानिसहरू प्रचण्‍ड तापले डढ़े, र तिनीहरूले ती विपत्तिहरूमाथि अधिकार भएका परमेश्‍वरका नाउँको निन्‍दा गरे। तर तिनीहरूले पश्‍चात्ताप गर्न र उहाँलाई महिमा दिन इन्‍कार गरे। अनि पाँचौँ स्‍वर्गदूतले आफ्‍नो कचौरो त्‍यस पशुको सिंहासनमा खन्‍याए, र त्‍यसको राज्‍यमा अन्‍धकार छायो, र वेदनामा मानिसहरूले आ-आफ्‍नो जिब्रो टोके। तिनीहरूका वेदना र घाउ-खटिराले गर्दा तिनीहरूले स्‍वर्गका परमेश्‍वरलाई सरापे। तर आफूले गरेका कुकर्मबाट पश्‍चात्ताप गर्न तिनीहरूले इन्‍कार गरे। तब छैटौँ स्‍वर्गदूतले आफ्‍नो कचौरो महानदी यूफ्रेटिसमा खन्‍याए, र नदीको पानी सुकिहाल्‍यो र पूर्वबाट आउने राजाहरूका निम्‍ति मार्ग तयार भयो। तब मैले अजिङ्गरको मुखबाट, त्‍यस पशुको मुखबाट र झूटो अगमवक्ताको मुखबाट भ्‍यागुताहरूजस्‍ता तीन वटा घृणित आत्‍माहरू निस्‍किरहेका देखें। तिनीहरू चमत्‍कार देखाउने दुष्‍टात्‍माहरू हुन्‌। तिनीहरू समस्‍त संसारका राजाहरूकहाँ जाँदछन्, र सर्वशक्तिमान्‌ परमेश्‍वरको महान्‌ दिनमा युद्ध गर्नलाई तिनीहरूलाई भेला गर्छन्‌। “हेर, म चोरजस्‍तै आउनेछु। त्‍यो धन्‍य हो, जो जागा रहन्‍छ र आफ्‍नो वस्‍त्रको रक्षा गर्छ। नत्रता त्‍यो नाङ्गै हिँड्‌नेछ, र त्‍यसको नग्‍नता देखिनेछ।” तिनीहरूले राजाहरूलाई त्‍यस ठाउँमा भेला गरे जसलाई हिब्रू भाषामा आर-मागेड्डोन भनिन्‍छ। अनि सातौँ स्‍वर्गदूतले आफ्‍नो कचौरो हावामा खन्‍याए, र मन्‍दिरको सिंहासनबाट यसो भन्‍ने एउटा चर्को आवाज निस्‍क्‍यो, “अब सिद्धियो।” तब बिजुली चम्‍के, आवाजहरू र मेघ गर्जनहरू भए, र भयानक भूकम्‍प गयो, यति भयानक भूकम्‍प कि पृथ्‍वीमा मानिसहरूको उत्‍पत्ति भएदेखि यसो कहिल्‍यै गएको थिएन। त्‍यो महानगरी तीन भागमा टुक्रा-टुक्रा भयो, र देश-देशका सहरहरू ध्‍वंस-विध्‍वंस भए। परमेश्‍वरलाई महान्‌ बेबिलोनको याद आयो, र उहाँले आफ्‍नो क्रोधको भयानक मद्यले भरिएको कचौरो त्‍यसलाई पिउन दिनुभयो। अनि हरेक टापू लोप भएर गयो र पहाड़हरू बेपत्ता भए। चालीस-चालीस किलोग्रामका असिना मानिसहरूमाथि ओइरिन लागे, र मानिसहरूले असिनाका विपत्तिको कारण परमेश्‍वरलाई सराप्‍न लागे। किनकि यो विपत्ति अति भयानक थियो।