YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 44:1-13

भजनसंग्रह 44:1-13 NNRV

हे परमेश्‍वर, हामीले आफ्‍नै कानले सुनेका छौं, हाम्रा पिता-पुर्खाहरूले हामीलाई भनेका छन्‌, तपाईंले प्राचीनकालमा उनीहरूका समयमा कस्‍ता-कस्‍ता काम गर्नुभयो। तपाईंले आफ्‍नै बाहुलीले जातिहरूलाई धपाएर उनीहरूलाई बसाल्‍नुभयो। तपाईंले मानिसहरूलाई दमन गर्नुभयो, र हाम्रा पिता-पुर्खाहरूलाई वृद्धि गर्नुभयो। उनीहरूले तरवारको बलले देश जितेका होइनन्‌, न त उनीहरूको बाहुबलले उनीहरूले विजय हासिल गरेका हुन्‌। तपाईंकै दाहिने बाहुलीले, तपाईंकै पाखुराले र तपाईंका मुहारको प्रकाशले उनीहरू विजयी भएका थिए, किनभने तपाईंले उनीहरूलाई प्रेम गर्नुहुन्‍थ्‍यो। तपाईं मेरा राजा र परमेश्‍वर हुनुहुन्‍छ, जसले याकूबलाई विजय प्रदान गर्नुहुन्‍छ। तपाईंद्वारै हामी आफ्‍ना विरोधीहरूलाई पछाडि धपाउँछौं। हाम्रा विरुद्धमा उठ्‌नेहरूलाई हामी तपाईंकै नाउँले कुल्‍चदँछौं। आफ्‍नो धनुमा म भरोसा गर्दिनँ, मेरो तरवारले मलाई विजय दिँदैन। तर तपाईंले हामीलाई हाम्रा शत्रुहरूमाथि विजय दिनुहुन्‍छ, र हाम्रा विरोधीहरूलाई शर्ममा पार्नुहुन्‍छ। परमेश्‍वरमा नै हामी निरन्‍तर गर्व गर्छौं र सदा तपाईंकै नाउँको प्रशंसा गर्नेछौं। सेला तर अब तपाईंले हामीलाई त्‍यागेर हामीलाई दीन तुल्‍याउनुभएको छ, र तपाईं हाम्रा सेनाहरूलाई साथ दिनुहुन्‍न। तपाईंले हामीलाई शत्रुहरूबाट पछि हट्‌ने तुल्‍याउनुभएको छ, र हाम्रा विरोधीहरूले हामीलाई लुटेका छन्‌। तपाईंले अरूको आहार हुन भेड़ाहरूजस्‍तै हामीलाई त्‍यागिदिनुभएको छ, र जाति-जातिहरूका बीचमा हामीलाई तितरबितर पार्नुभएको छ। तपाईंले आफ्‍नो प्रजालाई नाम मात्रको मूल्‍यमा बेच्‍नुभएको छ, र तिनीहरूको बिक्रीबाट तपाईंलाई कुनै लाभ भएको छैन। हाम्रा छिमेकीहरूका सामुन्‍ने तपाईंले हामीलाई निन्‍दाको पात्र बनाउनुभयो, हाम्रा वरिपरिका मानिसहरूका बीचमा हामीलाई तिरस्‍कार र उपहासको पात्र बनाउनुभएको छ।