परमप्रभुमा धन्यवाद चढ़ाओ, किनभने उहाँ भलो हुनुहुन्छ,
र उहाँको करुणा सदासर्वदा रहिरहन्छ।
इस्राएलले भनोस्, “उहाँको करुणा सदासर्वदा रहिरहन्छ।”
हारूनको वंशले भनोस्, “उहाँको करुणा सदासर्वदा रहिरहन्छ।”
परमप्रभुको भय मान्नेहरूले भनून्, “उहाँको करुणा सदासर्वदा रहिरहन्छ।”
मनको वेदनामा मैले परमप्रभुलाई पुकारें,
र उहाँले मलाई जवाफ दिनुभयो,
र मलाई मुक्त गर्नुभयो।
परमप्रभु मेरो साथमा हुनुहुन्छ, म भयभीत हुँदिनँ, मानिसले मलाई के गर्न सक्छ र?
परमप्रभु मेरो साथमा हुनुहुन्छ, उहाँ मेरा सहायक हुनुहुन्छ। म मेरा शत्रुहरूलाई विजयको दृष्टिले हेर्नेछु।
परमप्रभुको शरण लिनु मानिसहरूमाथि निर्भर गर्नुभन्दा उत्तम हुन्छ।
परमप्रभुको शरण लिनु शासकहरूमाथि निर्भर गर्नुभन्दा उत्तम हुन्छ।
सबै जातिहरूले मलाई घेरे, तर परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्ट पारें।
तिनीहरूले मलाई हरेक दिशाबाट घेरे, तर परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्ट पारें।
तिनीहरूले मलाई मौरीहरूले झैँ छोपे, तर काँढ़ाहरूमा लागेको आगोजस्तो शीघ्र निभिगए। परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्ट पारें।
म बलपूर्वक पछाडि घचेटिएँ र लड्न लागेको थिएँ, तर परमप्रभुले मलाई सहायता गर्नुभयो।
परमप्रभु मेरो शक्ति र मेरो भजन हुनुहुन्छ,
र उहाँ मेरो उद्धार हुनुभएको छ।
धर्मीहरूका पालमा हर्ष र विजयको गुञ्जन हुन्छ:
“परमप्रभुको दाहिने बाहुलीले सामर्थी काम गरेको छ!
परमप्रभुको दाहिने बाहुली उचालिएको छ, परमप्रभुको दाहिने बाहुलीले सामर्थी काम गरेको छ।”
म मर्दिनँ, तर जीवित रहनेछु,
र परमप्रभुले गर्नुभएका कार्यहरूको घोषणा गर्नेछु।
परमप्रभुले मलाई कठोरतासाथ ताड़ना दिनुभएको छ, तर उहाँले मलाई मृत्युको वशमा सुम्पनुभएको छैन।
मेरो निम्ति धार्मिकताका ढोकाहरू खोलिदिनुहोस्, तीभित्र प्रवेश गरेर म परमप्रभुमा धन्यवाद चढ़ाउनेछु।
परमप्रभुको ढोका यही हो, भक्तहरू यसभित्र प्रवेश गर्दछन्।
तपाईंले दिनुभएका मेरा प्रार्थनाहरूका उत्तरका निम्ति म तपाईंलाई धन्यवाद दिनेछु, तपाईं मेरो उद्धार हुनुभएको छ।
जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्यहीचाहिँ कुनाको शिर-ढुङ्गो बन्यो,
यो परमप्रभुबाट भएको हो, अनि हाम्रो दृष्टिमा आश्चर्यमय छ।
आजको दिन परमप्रभुले सृजनुभएको हो, यसमा हामी आनन्दित होऔं र रमाऔं।
हे परमप्रभु, हामीलाई बचाउनुहोस्, हे परमप्रभु, हामीलाई सफलता दिनुहोस्।
परमप्रभुको नाउँमा आउने धन्यको हो। परमप्रभुको भवनबाट हामी तिमीहरूलाई आशीर्वाद दिन्छौं।
परमप्रभु नै परमेश्वर हुनुहुन्छ,
र उहाँले हामीमाथि आफ्नो प्रकाश चम्कन दिनुभएको छ। हातमा स्याउला लिएर शोभायात्रामा वेदीका सीङहरूसम्म हर्षसाथ जाओ।
तपाईं मेरा परमेश्वर हुनुहुन्छ, र म तपाईंमा धन्यवाद चढ़ाउनेछु। तपाईं मेरा परमेश्वर हुनुहुन्छ, र म तपाईंलाई उच्च पार्नेछु।
परमप्रभुलाई धन्यवाद चढ़ाओ, किनभने उहाँ भलो हुनुहुन्छ। उहाँको करुणा सदासर्वदा रहिरहन्छ।