हितोपदेश 16
16
1हृदयका योजनाहरू मानिसको हो, तर जिब्रोको जवाफ भने परमप्रभुबाट नै आउँछ।
2मानिसका सारा मार्गहरू आफैलाई निर्दोष लाग्ला, तर त्यसका अभिप्रायहरू परमप्रभुद्वारा नै जोखिएका हुन्छन्।
3तैंले गर्ने जुनसुकै कुरा परमप्रभुलाई सुम्पिदे,
र तेरा योजनाहरू सफल हुनेछन्।
4परमप्रभुले सबै कुरा उहाँको आफ्नै उद्देश्यका लागि बनाउनुहुन्छ, दुष्टलाई समेत विनाशको दिनको लागि उहाँले राख्नुभएको छ।
5परमप्रभु हृदयमा घमण्ड भएका सबैलाई घिनाउनुहुन्छ, यो निश्चय छ, तिनीहरू दण्डरहित रहनेछैनन्।
6प्रेम र विश्वासयोग्यताद्वारा पापको प्रायश्चित हुन्छ, परमप्रभुको भयद्वारा मानिस खराबीदेखि अलग रहन्छ।
7जब मानिसका मार्गहरू परमप्रभुलाई मन पर्ने हुन्छन्, उहाँले त्यसका शत्रुहरूलाई समेत त्यससँग मिलापमा राख्नुहुन्छ।
8धार्मिकतासित थोरै हुनु अन्यायसँग धेरै लाभ भएको भन्दा उत्तम हो।
9मानिसले आफ्नो हृदयमा आफ्नो चाँजो मिलाउँछ, तर परमप्रभुले नै त्यसका कदमहरूको निर्धारण गर्नुहुन्छ।
10राजाका ओठले दिव्यवाणी बोल्दछ,
र तिनको मुखले न्यायलाई आघात पुर्याउनुहुँदैन।
11ठीक नाप र तराजूहरू परमप्रभुबाटकै हुन्, थैलीमा भएका सबै ढकहरू उहाँकै काम हो।
12राजाहरूले कुकर्म घिनाउँछन्, किनभने धार्मिकताद्वारा नै सिंहासन स्थापित हुन्छ।
13राजाहरू ईमानदार ओठसँग प्रसन्न हुन्छन्, सत्य बोल्ने मानिसलाई तिनीहरू कदर गर्छन्।
14राजाको क्रोध मृत्युको दूत हो, तर बुद्धिमान् मानिसले त्यो शान्त गराउँछ।
15जब राजाको मुहार उज्यालो हुन्छ, यसको अर्थ जीवन हुन्छ। तिनको निगाह वसन्त ऋतुका झरीको बादलजस्तै हो।
16सुनभन्दा बुद्धि प्राप्त गर्नु,
र चाँदीभन्दा त बरु समझदारी चुन्नु कत्ति उत्तम हुन्छ।
17ईमानदारको मूलबाटो खराबीदेखि अलग रहन्छ। जसले आफ्नो बाटोको रखवाली गर्छ, त्यसले आफ्नो जीवनको रखवाली गर्छ।
18सर्वनाशको अघि अभिमान
र पतनको अघि घमण्डी आत्मा आउँछ।
19आत्मामा नम्र भएर थिचोमिचोमा परेकाहरूका माझमा रहनु अहङ्कारीहरूसित लूटको माल बाँड्नुभन्दा उत्तम हो।
20उपदेशलाई ध्यान दिने मानिस फल्दो-फुल्दो हुन्छ,
र परमप्रभुमा भरोसा राख्ने मानिसले आशिष् पाउनेछ।
21हृदयमा बुद्धिमान् हुनेहरूलाई विवेकशील भनिन्छ,
र मीठा वचनहरूले शिक्षा बढ़ाउँछन्।
22समझदारी हुनेको निम्ति त्यो जीवनको मूल हो, तर मूर्खले मूर्खताकै कारण दण्ड ल्याउँछ।
23बुद्धिमान्को हृदयले आफ्नो मुख सम्हाल्छ,
र त्यसका ओठले शिक्षा बढ़ाउँछन्।
24मीठा वचनहरू महका चाकाहरूजस्तै हुन्, जसले प्राणलाई मिठास दिन्छ,
र हड्डीहरू निको पार्छ।
25कुनै बाटो मानिसको नजरमा ठीक देखिएला, #हितो १४:१२ तर अन्त्यमा त्यसले मृत्युमा पुर्याउँछ।
26परिश्रमीको पेटले नै त्यसलाई काम गर्न लाउँछ, त्यसको भोकले त्यसलाई कजाउँछ।
27बदमाशले खराबी रच्दछ, अनि त्यसको बोलीवचन प्रखर आगोझैँ हुन्छ।
28कुटिल मतिको मानिसले विवाद उत्पन्न गराउँछ,
र कुरौटेले घनिष्ठ मित्रहरूमा फाटो ल्याउँछ।
29उपद्रवी मानिसले आफ्नो छिमेकीलाई फसाउँछ,
र त्यसले उसलाई खराब बाटोतिर लैजान्छ।
30आफ्नो आँखा झिम्क्याउनेले षड्यन्त्र रचेको हुन्छ, आफ्ना ओठ लेब्र्याउनेको स्वभाव खराब हुन्छ।
31फुलेको केश शोभाको मुकुट हो, धर्मी जीवनबाट यो प्राप्त हुन्छ।
32मानिस धैर्यवान् हुनु लड़ाका योद्धा हुनुभन्दा उत्तम हो, आफ्नो क्रोध वशमा राख्नु सहरै कब्जा गर्नुभन्दा बेस हो।
33सप्कोमा चिट्ठा त हालिन्छ, तर त्यसको प्रत्येक निर्णय परमप्रभुबाट नै हुन्छ।
अहिले सेलेक्ट गरिएको:
हितोपदेश 16: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012