योसेफका छोरा मनश्शेका वंशहरूमा भएका मनश्शेका जनाति, माकीरका पनाति, गिलादका नाति, हेपेरका छोरा सलोफादका छोरीहरू महला, नोआह, होग्ला, मिल्का र तिर्सा थिए। तिनीहरू भेट हुने पालको ढोकामा मोशा, एलाजार पूजाहारी, नायकहरू र सबै समुदायको सामुन्ने उभिएर यसो भन्न लागे, “हाम्रा बुबा उजाड़-स्थानमा मरे, तर तिनी परमप्रभुको विरुद्धमा उठ्ने कोरहको दलमा थिएनन्, तर तिनी आफ्नै पापमा मरे। तिनका छोराहरू पनि थिएनन्। छोराहरू नहुँदैमा हाम्रा बुबाको आफ्नो वंशको नाउँ किन मासिने। हाम्रा बुबाका दाजुभाइहरूमा हामीलाई पनि सम्पत्ति दिनुहोस्।” मोशाले तिनीहरूको मामिला परमप्रभुकहाँ ल्याए। अनि परमप्रभुले मोशालाई भन्नुभयो, “सलोफादका छोरीहरूले उठाएको कुरा ठीकै हो। तैंले तिनीहरूलाई तिनका बुबाका दाजुभाइहरूसँग अधिकार दिनू। तैंले तिनीहरूलाई बुबाको उत्तराधिकारी बनाइदिनू। “तैंले इस्राएलीहरूलाई भन्, ‘कुनै मानिस छोरा नभई मर्यो भने छोरीलाई नै उत्तराधिकारी बनाइदिनू। त्यसकी छोरी पनि छैन भने त्यसको अधिकार त्यसका दाजुभाइहरूलाई जाओस्। त्यसको दाजुभाइ पनि छैन भने त्यसको बाबुका दाजुभाइहरूलाई जाओस्। त्यसको बुबाका कुनै दाजुभाइ पनि छैन भने परिवारमा सबैभन्दा नजिकको साइनो पर्नेलाई त्यसको उत्तराधिकारी बनाइदिनू, र त्यसले त्यो आफ्नो हकमा लेओस्। परमप्रभुले मोशालाई आज्ञा दिनुभएबमोजिम यो इस्राएलको निम्ति धर्म-विधान होस्’।”
गन्ती 27 पढ्नुहोस्
सुन्नुहोस् गन्ती 27
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गन्ती 27:1-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू