गन्ती 10
10
चाँदीका तुरहीहरू
1परमप्रभुले मोशालाई भन्नुभयो, 2“दुई वटा चाँदीका तुरहीहरू बना। ती पिटेर बनाइएका होऊन्। समुदायलाई भेला गराउँदा र शिविरबाट प्रस्थान गर्दा ती प्रयोग गर्नू। 3ती दुवै फुक्दा सारा समुदाय भेट हुने पालको ढोकामा तँकहाँ भेला होऊन्। 4तर एउटा मात्र फुक्दा नेताहरू, अर्थात् इस्राएलीहरूका कुलनायकहरू तँकहाँ भेला होऊन्। 5जब जनाउ-ध्वनि बजाइन्छ, तब पूर्वपट्टि भएका शिविरकाहरू प्रस्थान गरून्। 6जब दोस्रो पल्ट जनाउ-ध्वनि बजाइन्छ, तब दक्षिणपट्टि भएका शिविरकाहरू प्रस्थान गरून्। जनाउ-ध्वनि प्रस्थानको लागि सङ्केत हुनेछ। 7समुदाय भेला गर्ने समयमा पनि फुक्नू, तर जनाउ-ध्वनि उस्तै नहोस्।
8“हारूनका छोराहरू, पूजाहारीले नै तुरहीहरू फुक्ने गरून्। यो तिमीहरू र तिमीहरूका भावी पुस्ताका लागि अनन्तको विधि होस्। 9आफ्नै देशमा तिमीहरूमाथि थिचोमिचो गर्ने शत्रुका विरुद्धमा तिमीहरू लड़ाइँ गर्न जाँदा तिमीहरूले तुरहीद्वारा जनाउ-ध्वनि फुक्नू। तब परमप्रभु तिमीहरूका परमेश्वरको सामु तिमीहरूको सम्झना हुनेछ, र तिमीहरूका शत्रुहरूबाट तिमीहरूको रक्षा हुनेछ। 10तिमीहरूका हर्षका दिनमा— तिमीहरूका तोकिएका चाड़हरू र औंसीका चाड़हरूमा— आफ्ना होमबलि र मेलबलिहरू चढ़ाउँदा तिमीहरूले तुरही बजाउनू, र आफ्ना परमेश्वरको सामुन्ने ती तिमीहरूका सम्झनाको निम्ति होऊन्। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।”
सीनैबाट प्रस्थान
11दोस्रो वर्षको दोस्रो महिनाको बीसौँ दिनमा गवाहीको मण्डपमाथिबाट बादल हट्यो। 12सीनैको उजाड़-स्थानबाट प्रस्थान गरेर इस्राएलीहरू ठाउँ-ठाउँमा गए, र पारानको मरुभूमिमा आइपुगेपछि बादल अड़ियो। 13पहिलो पटक मोशाद्वारा परमप्रभुले दिनुभएको आज्ञाअनुसार तिनीहरूले आफ्नो यात्रा सुरु गरे।
14पहिले यहूदाका शिविरका दलहरू आफ्नो झन्डा उठाएर अगि बढ़े। अम्मीनादाबका छोरा नहशोनले दलहरूको नेतृत्व गरे। 15इस्साखारका कुलको दलअगि सूआरका छोरा नतनेल थिए। 16जबूलूनका कुलको दलअगि हेलोनका छोरा एलीआब थिए। 17तब पवित्र वासस्थान उठाइयो, र त्यो बोकेर गेर्शोनीहरू र मरारीहरू अगि बढ़े।
18त्यसपछि रूबेनको शिविरका दलहरू आफ्नो झन्डा उठाएर अगि बढ़े। शदेऊरका छोरा एलीसूरले दलहरूको नेतृत्व गरे। 19शिमियोनका कुलको दलअगि सूरीशद्दैका छोरा शलूमीएल थिए, 20अनि गादका कुलको दलअगि दूएलका छोरा एल्यासाप थिए। 21तब कहातीहरू पवित्र कुरा बोकेर अगि लागे। तिनीहरू आइपुग्नुभन्दा पहिले पवित्र वासस्थान उभ्याइसकेको हुनुपर्थ्यो।
22त्यसपछि एफ्राइमको शिविरका दलहरू आफ्नो झन्डा उठाएर अगि बढ़े। अम्मीहूदका छोरा एलीशामाले दलहरूको नेतृत्व गरे। 23मनश्शेका कुलको दलअगि पदासूरका छोरा गमलिएल थिए, 24अनि बेन्यामीनका कुलको दलअगि गिदेओनीका छोरा अबीदान थिए।
25त्यसपछि सबैभन्दा पछाड़ि रहेको दानको शिविरका दलहरू आफ्नो झन्डा उठाएर अगि बढ़े। अम्मीशद्दैका छोरा अहीएजेरले दलहरूको नेतृत्व गरे। 26आशेरका कुलको दलअगि ओक्रानका छोरा पगीएल थिए, 27अनि नप्तालीका कुलको दलअगि एनानका छोरा अहीरा थिए। 28आ-आफ्ना दलबलअनुसार इस्राएलीहरू यसरी प्रस्थान गरे।
आफ्ना ससुरालाई मोशाको बिन्ती
29अनि मोशाले आफ्ना ससुरा मिद्यानी रूएलका छोरा होबाबलाई भने, “परमप्रभुले हामीलाई दिनेछु भन्नुभएको ठाउँमा हामी जाँदैछौं। तपाईं पनि हामीसितै आउनुहोस्, हामी तपाईंलाई हित नै गर्नेछौं, किनभने परमप्रभुले इस्राएलको बारेमा शुभ प्रतिज्ञा गर्नुभएको छ।”
30तर उनले तिनलाई भने, “म जान्नँ। म आफ्नै देश र आफ्नै कुटुम्बकहाँ फर्कनेछु।”
31तर मोशाले भने, “बिन्ती छ, हामीलाई नछोड्नुहोस्। तपाईंलाई हामीले उजाड़-स्थानमा कहाँ-कहाँ छाउनी हाल्नुपर्छ सो थाहा छ, अनि तपाईं हाम्रा निम्ति आँखा हुन सक्नुहुनेछ। 32तपाईं हामीसँग आउनुभयो भने परमप्रभुले हामीलाई जे दिनुहुन्छ हामी तपाईंसित बाँड्नेछौं।”
33अनि परमप्रभुको डाँड़ाबाट तिनीहरूले तीन दिनसम्म यात्रा गरे। अनि परमप्रभुका करारको सन्दूक बोक्नेहरू तिनीहरूका निम्ति वास बस्ने ठाउँ खोज्न ती तीन दिनसम्म अगिअगि गए। 34तिनीहरू छाउनीबाट हिँड्दा परमप्रभुको बादल दिउँसो तिनीहरूमाथि रहन्थ्यो।
35जब सन्दूक अगि लगिन्थ्यो, तब मोशाले यसो भन्थे, #भज ६८:१
“हे परमप्रभु, उठ्नुहोस्, तपाईंका शत्रुहरू तितरबितर होऊन्। तपाईंलाई तिरस्कार गर्नेहरू तपाईंका अगिअगि भागून्।”
36अनि सन्दूकले विश्राम गर्दा तिनले यसो भन्थे,
“हे परमप्रभु, इस्राएलका हजारौँ हजारकहाँ फर्केर आउनुहोस्।”
अहिले सेलेक्ट गरिएको:
गन्ती 10: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012