निस्तार-चाड़मा भीड़ले चाहेबमोजिम हाकिमले एक जना कैदी छोडिदिने प्रथा थियो। त्यस बेला बारब्बा नाउँ भएको एक जना कुख्यात कैदी थियो। जब मानिसहरू भेला भए, पिलातसले तिनीहरूलाई सोधे, “तिमीहरू के चाहन्छौ? म तिमीहरूका निम्ति कसलाई छोडिदिऊँ? बारब्बा कि ख्रीष्ट भनिने येशूलाई?” किनभने तिनीहरूले येशूलाई डाहले नै सुम्पिदिएका हुन् भनी तिनलाई थाहा थियो। तब न्याय-आसनमा बसिरहेको बेला तिनकी पत्नीले यसो भनी खबर पठाइन्, “त्यस निर्दोष मानिसलाई केही नगर्नुहोस्, किनकि आज सपनामा तिनको कारण मैले धेरै दुःख भोगेकी छु।” तर मुख्य पूजाहारीहरू र धर्म-गुरुहरूले बारब्बालाई छोडिदिने र येशूलाई मृत्युदण्ड दिने माग गर्न भनी मानिसहरूलाई सुर्याए। हाकिमले फेरि तिनीहरूलाई सोधे, “यी दुईमा कुनचाहिँलाई म तिमीहरूका निम्ति मुक्त गरिदिऊँ भन्ने तिमीहरू चाहन्छौ?” तिनीहरूले भने, “बारब्बालाई।” पिलातसले तिनीहरूलाई भने, “तब ख्रीष्ट भनिने येशूलाई चाहिँ म के गरूँ त?” तिनीहरू सबैले जवाफ दिए, “त्यो क्रूसमा टाँगिओस्।” तिनले भने, “किन? तिनले के अपराध गरेका छन् र?” तर तिनीहरू अझ बढ़ी यसो भन्दै चिच्च्याए, “त्यो क्रूसमा टाँगिओस।” तर केही सीप नलागेको देखेर, बरु खैलाबैला मच्चिन्छ भन्ने डरले पिलातसले पानी लिई भीड़को सामु आफ्ना हात धोएर भने, “तिमीहरू आफै जान, म यस मानिसको रगतदेखि निर्दोष छु।” सबै मानिसहरूले जवाफ दिए, “उसको रगत हामीहरू र हामीहरूका सन्तानमाथि परोस्।” तब तिनले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए, तर येशूलाई कोर्रा लगाएर क्रूसमा टाँगिनलाई सुम्पिदिए। तब हाकिमका सिपाहीहरूले येशूलाई महलमा लगे, र जम्मै पल्टनलाई उहाँको सामुन्ने भेला गराए। तिनीहरूले उहाँको वस्त्र फुकालेर उहाँलाई लाल वस्त्र लगाइदिए। तिनीहरूले काँढ़ाको मुकुट गाँथेर उहाँको शिरमा लगाइदिए, र उहाँको दाहिने हातमा निगालो दिए, र उहाँको सामु घुँड़ा टेकेर उहाँलाई यसो भन्दै उहाँको गिल्ला गरे, “हे यहूदीहरूका राजा, प्रणाम।” तब तिनीहरूले उहाँलाई थुके, र त्यो निगालो लिएर उहाँको शिरमा हिर्काए। उहाँको गिल्ला गरिसकेपछि तिनीहरूले त्यो वस्त्र फुकालिदिए, र उहाँको आफ्नै वस्त्र पहिराएर उहाँलाई क्रूसमा झुण्ड्याउन लगे।
मत्ती 27 पढ्नुहोस्
सुन्नुहोस् मत्ती 27
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 27:15-31
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू