तब येशूले भीड़हरू र आफ्ना चेलाहरूलाई यसो भन्नुभयो: “शास्त्रीहरू र फरिसीहरू मोशाको आसनमा बस्तछन्। यसकारण तिनीहरूले भनेका कुरा गर र मान, तर तिनीहरूले गरेजस्तो चाहिँ नगर, किनकि तिनीहरूले शिक्षा त दिन्छन्, तर त्यसअनुसार गर्दैनन्। तिनीहरूले गह्रौँ र बोक्न नसक्ने भारी बाँधेर मानिसहरूका काँधमा राखिदिन्छन्। तर तिनीहरू आफैचाहिँ ती उठाउनलाई एक औँलाले पनि छुँदैनन्।
“तर तिनीहरू आफ्ना सारा काम मानिसहरूलाई देखाउनलाई गर्दछन्। किनभने तिनीहरू आफ्ना निधार र नाडीमा व्यवस्था-पत्री ठूला बनाउँछन्, र आफ्ना वस्त्रका झुम्काहरू लम्म्याउँछन्, भोजहरूमा तिनीहरू सम्मानका स्थान र सभाघरहरूमा प्रमुख आसनहरू मन पराउँछन्, बजारहरूमा अभिवादन खोज्छन् र मानिसहरूले गुरु भनेका रुचाउँछन्।
“तर तिमीहरूलाई कसैले ‘गुरुज्यू’ नभनोस्, किनकि तिमीहरूका शिक्षक एउटै हुनुहुन्छ, र तिमीहरूचाहिँ सबै दाजुभाइ हौ। तिमीहरू पृथ्वीमा कसैलाई आफ्ना पिता नभन, किनकि स्वर्गमा तिमीहरूका एउटै पिता हुनुहुन्छ। तिमीहरूलाई कसैले ‘मालिक’ नभनोस्, किनकि तिमीहरूका एकमात्र मालिक ख्रीष्ट नै हुनुहुन्छ। तिमीहरूमध्ये जो सबैभन्दा उच्च छ, त्यो तिमीहरूको सेवक हुनेछ। जसले आफूलाई उच्च पार्छ, त्यो होच्याइनेछ, र जसले आफूलाई होच्याउँछ, त्यो उच्च पारिनेछ।
“धिक्कार, तिमीहरूलाई, शास्त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू मानिसहरूका सामुन्ने स्वर्गका राज्यको ढोका बन्द गर्दछौ। तिमीहरू न त आफै पस्तछौ, न पस्न चाहनेहरूलाई पस्न दिन्छौ। [ “धिक्कार तिमीहरूलाई, शास्त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू विधवाहरूका घर खाइदिन्छौ, र लामो-लामो प्रार्थना गर्ने भान पार्दछौ। यसैले अरूले भन्दा तिमीहरूले ज्यादा दण्ड पाउनेछौ।]
“धिक्कार तिमीहरूलाई, शास्त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू एक जनालाई आफ्नो मतमा ल्याउनलाई समुद्र र जमिन चहार्दछौ, र त्यो तिमीहरूको मतमा आएपछि त्यसलाई आफूभन्दा दोबर नरकको छोरो बनाउँछौ।
“धिक्कार तिमीहरूलाई, अन्धा अगुवा हो, जसले भन्दछौ, ‘कसैले मन्दिरको शपथ खाँदा केही हुँदैन, तर मन्दिरका सुनको शपथ खाँदा त्यस शपथले बाँधिनेछ।’ मूर्ख र अन्धा हो, कुनचाहिँ ठूलो हो? सुन कि सुनलाई पवित्र पार्ने मन्दिर? ‘कसैले वेदीको शपथ खाँदा केही हुँदैन, तर त्यसमाथि राखिएको भेटीको शपथ खाँदाचाहिँ शपथले बाँधिनेछ।’ ए अन्धा हो, कुनचाहिँ ठूलो हो? भेटी कि भेटीलाई पवित्र पार्ने वेदी? यसकारण वेदीको शपथ खानेले वेदीको र त्यसमाथिका सबै थोकको शपथ खान्छ। मन्दिरको शपथ खानेले मन्दिर र त्यसभित्र वास गर्नुहुनेको शपथ खान्छ। स्वर्गको शपथ खानेले परमेश्वरका सिंहासनको र त्यसमाथि विराजमान हुनुहुनेको शपथ खान्छ।
“धिक्कार तिमीहरूलाई, शास्त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू पुदीना र सूँप र जीराको दशांश दिन्छौ, तर व्यवस्थाका गहकिला विषयहरू, अर्थात् न्याय, दया र विश्वासको अवहेलना गरेका छौ। तिमीहरूले दशांश दिने काम गर्नुपर्नेथियो, अनि ती गहकिला विषयहरूको अवहेलना नगर्नुपर्नेथियो। अन्धा अगुवा हो, तिमीहरू भुसुना चाल्दछौ, तर ऊँटलाई चाहिँ निलिहाल्दछौ।
“धिक्कार तिमीहरूलाई, शास्त्री र फरिसी हो, ढोंगीहरू! किनभने तिमीहरू कचौरा र थालको बाहिरपट्टि माझ्दछौ, तर भित्रपट्टि भने ती लोभ र असंयमले भरिएका हुन्छन्। अन्धा फरिसी हो, पहिले कचौरा र थालको भित्रपट्टि सफा पार, र तिनको बाहिरपट्टि पनि सफा होस्।
“धिक्कार तिमीहरूलाई, शास्त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू चून लाइराखेका चिहानहरूजस्ता छौ, जो बाहिरपट्टि सुन्दर देखा पर्छन्, तर भित्रपट्टि भने मरेका मान्छेहरूका हाड़हरू र सबै अशुद्धताले भरिएका हुन्छन्। यसरी नै तिमीहरू पनि बाहिर भने मानिसहरूका सामुन्ने धर्मी देखा पर्दछौ, तर भित्र भने कपट र दुष्टताले भरिएका छौ।