YouVersion लोगो
खोज आइकन

मत्ती 16:1-12

मत्ती 16:1-12 NNRV

फरिसीहरू र सदुकीहरू आए, र उहाँलाई जाँच गर्न स्‍वर्गबाट एउटा चिन्‍ह देखाइदिने उहाँसँग माग राखे। तर उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “साँझ परेपछि तिमीहरू भन्‍छौ, ‘भोलि दिन राम्रो हुने रहेछ, किनकि आकाश रातो छ।’ बिहानचाहिँ भन्‍छौ, ‘आकाश रातो र बादलले ढाकेको छ, आज आँधी आउने रहेछ।’ तिमीहरू आकाशको अवस्‍था हेरेर दिन कस्‍तो हुन्‍छ छुट्ट्याउन जान्‍दछौ, तर समयका चिन्‍हको अर्थ खोल्‍न सक्‍दैनौ। दुष्‍ट र व्‍यभिचारी पुस्‍ताले चिन्‍ह खोज्‍दछ, तर योनाको चिन्‍हबाहेक अरू चिन्‍ह त्‍यसलाई दिइनेछैन।” अनि तिनीहरूलाई छोड़ेर उहाँ जानुभयो। चेलाहरू पारिपट्टि आइपुग्‍दा तिनीहरूले रोटी ल्‍याउन बिर्सेछन्‌। येशूले तिनीहरूलाई भन्‍नुभयो, “ध्‍यान देओ, फरिसी र सदुकीहरूको खमिरबाट होशियार रहो।” तिनीहरूले आपसमा बहस गर्न लागे, “हामीहरूले रोटी ल्‍याएनौं, र उहाँले यसो भन्‍नुभएको होला।” येशूले यो थाहा पाएर भन्‍नुभयो, “ए अल्‍पविश्‍वासी हो! तिमीहरूसित रोटी छैन भनेर किन आपसमा बहस गर्छौ? के तिमीहरू अझै बुझ्‍दैनौ? पाँच हजारका निम्‍ति पाँच रोटीको कुरा तिमीहरूलाई अझ याद छैन? तिमीहरूले कति डाला बटुलेका थियौ? अनि चार हजारका निम्‍ति सात रोटी, र कति डाला तिमीहरूले बटुलेका थियौ? मैले तिमीहरूलाई रोटीको विषयमा भनेको होइनँ भनी तिमीहरू किन बुझ्‍दैनौ? तर फरिसी र सदुकीहरूको खमिरबाट होशियार रहो।” तब तिनीहरूले बुझे, कि उहाँले रोटीको खमिरबाट होइन तर फरिसी र सदुकीहरूको शिक्षाबाट होशियार रहनू भन्‍नुभएको रहेछ।