YouVersion लोगो
खोज आइकन

लूका 10:25-33

लूका 10:25-33 NNRV

व्‍यवस्‍थाका एक जना पण्‍डित उहाँको परीक्षा गर्न खड़ा भए, र यो प्रश्‍न गरे, “गुरुज्‍यू, अनन्‍त जीवन प्राप्‍त गर्न मैले के गर्नुपर्छ?” उहाँले तिनलाई भन्‍नुभयो, “व्‍यवस्‍थामा के लेखिएको छ? तिमीले के पढ़्यौ?” तिनले भने, “तैंले परमप्रभु, आफ्‍ना परमेश्‍वरलाई आफ्‍नो सारा हृदयले, आफ्‍नो सारा प्राणले, आफ्‍नो सारा समझले र आफ्‍नो सारा मनले प्रेम गर्, र आफ्‍नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्‌।” उहाँले तिनलाई भन्‍नुभयो, “तिमीले ठीक जवाफ दियौ। त्‍यसै गर, र तिमी जिउनेछौ।” तर तिनले आफूलाई धार्मिक देखाउने इच्‍छा गरेर येशूलाई भने, “मेरो छिमेकीचाहिँ को हो त?” येशूले जवाफ दिनुभयो, “एक जना मानिस यरूशलेमबाट यरीहोतिर जाँदैथियो। त्‍यो डाँकूहरूको फेला पर्‍यो। तिनीहरूले त्‍यसलाई नाङ्गै पारेर पिटे, र अधमरो पारी छोड़ेर गए। संयोगले एक जना पूजाहारी त्‍यही बाटो भएर जाँदैथियो, र त्‍यो अधमरो मान्‍छेलाई देखेर त्‍यो अर्कोपट्टि तर्केर गयो। त्‍यसै गरी एक जना लेवी पनि त्‍यस ठाउँमा आएर त्‍यसलाई देखेपछि अर्कोपट्टि तर्केर गयो। तर एक जना सामरी उसको यात्रामा जाँदैगर्दा त्‍यो मान्‍छे भएको ठाउँमा आइपुग्‍यो, र त्‍यसलाई देखेर उसको मन दयाले भरियो।