YouVersion लोगो
खोज आइकन

लूका 1:11-20

लूका 1:11-20 NNRV

परमप्रभुका एक जना स्‍वर्गदूत धूप-वेदीको दाहिनेपट्टि उभिरहेका देखा परे। जकरिया तिनलाई देखेर आत्तिए, र भयभीत भए। तर दूतले तिनलाई भने, “नडराऊ जकरिया, किनभने तिम्रो प्रार्थनाको सुनाइ भएको छ। अब तिम्री पत्‍नी एलीशिबाले तिम्रो निम्‍ति एउटा छोरो जन्‍माउनेछिन्, र तिमीले तिनको नाउँ यूहन्‍ना राख्‍नू। तिमीलाई रमाहट र आनन्‍द हुनेछ, र धेरै जना तिनको जन्‍ममा रमाउनेछन्‌। किनभने तिनी परमप्रभुको सामुन्‍ने महान्‌ हुनेछन्‌। तिनले दाखमद्य र अरू कुनै पनि मद्य कहिल्‍यै पिउनेछैनन्, र आफ्‍नी आमाको गर्भदेखि नै तिनी पवित्र आत्‍माले भरिपूर्ण हुनेछन्‌। तिनले इस्राएलका सन्‍तानहरूमा धेरैलाई तिनीहरूका परमप्रभु परमेश्‍वरतिर फर्काउनेछन्‌। बाबुहरूका मन छोरा-छोरीहरूतिर र अनाज्ञाकारीहरूलाई धर्मीहरूको बुद्धितिर फर्काउन र प्रभुको निम्‍ति योग्‍य तुल्‍याइएको एक जाति तयार पार्न उहाँको अगि तिनी एलियाको आत्‍मा र शक्तिमा जानेछन्‌।” तब जकरियाले दूतलाई भने, “यो मैले कसरी जान्‍ने? म बूढ़ो भएँ र मेरी पत्‍नीको उमेर पनि ढल्‍किसकेको छ।” स्‍वर्गदूतले तिनलाई भने, “म गब्रिएल हुँ, म परमेश्‍वरको सामुन्‍ने उभिरहन्‍छु। तिमीसँग कुरा गर्न र यो खुसीको समाचार सुनाउन म पठाइएको हुँ। जुन दिनसम्‍म यी कुरा पूरा हुँदैनन्, तबसम्‍म तिमी गूँगो हुनेछौ र बोल्‍न सक्‍नेछैनौ, किनभने तिमीले मेरा वचनमाथि विश्‍वास गरेनौ, जुन वचन आफ्‍नो समयमा पूरा हुनेछन्‌।”