लेवीहरू 10
10
नादाब र अबीहूको मृत्यु
1हारूनका छोराहरू नादाब र अबीहूले आ-आफ्नो धुपौरो लिएर त्यसमा आगो भरे, र त्यस आगोमा धूप हालेर परमप्रभुले आज्ञा नगर्नुभएको आगो हालेर उहाँको सामु चढ़ाए। 2यसकारण त्यतिखेर परमप्रभुबाट आगो निस्केर उनीहरूलाई भस्म पार्यो, र उनीहरू परमप्रभुको सामु मरे। 3तब मोशाले हारूनलाई भने, “परमप्रभुले भन्नुभएको कुरा यही हो:
‘मेरो नजिक आउनेहरूमा म पवित्र बन्नेछु,
अनि सारा मानिसहरूका सामु म महिमित हुनेछु’।”
हारून चूप बसे।
4मोशाले हारूनका काका उज्जीएलका छोराहरू मीशाएल र एलसाफानलाई बोलाएर भने, “आएर तिमीहरूका भाइहरूलाई पवित्रस्थानको अघिबाट बोकेर छाउनीबाट लैजाओ।” 5यसैले तिनीहरू आएर उनीहरूले लाएकै लबेदामा मोशाले भनेबमोजिम छाउनीबाहिर उनीहरूलाई बोकेर लगे।
6तब मोशाले हारून र उनका छोराहरू, एलाजार र ईतामारलाई भने, “तिमीहरूका शिरका केश नफुकाओ, आफ्ना लुगा नच्यात, नत्रता तिमीहरू मर्नेछौ र सबै समुदायमाथि परमप्रभुको क्रोध पर्ला। तर परमप्रभुले पठाउनुभएको अग्निले नष्ट भई मरेकाहरूका लागि तिमीहरूका नातेदारहरू, इस्राएलका सारा घरानाले विलाप गरे हुन्छ। 7तिमीहरूचाहिँ भेट हुने पालको ढोकाबाट बाहिर नजानू, नत्रता तिमीहरू मरौला, किनभने परमप्रभुका अभिषेकको तेल तिमीहरूमाथि छ।” यसर्थ उनीहरूले मोशाको वचनअनुसार गरे।
8त्यसपछि परमप्रभुले हारूनलाई भन्नुभयो, 9“तिमीहरू भेट हुने पालमा जाँदा तिमी र तिम्रा छोराहरूले दाखमद्य अथवा अरू मद्य नपिउनू, नत्रता तिमीहरू मरौला।” यो तिमीहरूका आउँदा पुस्ताहरूमा अन्नबलिको विधि होस्। 10पवित्र र साधारण, अनि शुद्ध र अशुद्धमा तिमीहरूले भेद राख्नुपर्छ। 11परमप्रभुले मोशाद्वारा दिनुभएको विधि सबै इस्राएलीहरूलाई तिमीहरूले सिकाउनुपर्छ।”
12मोशाले हारून र उनका बाँचेका छोराहरू, एलाजार र ईतामारलाई भने, “परमप्रभुको निम्ति आगोद्वारा चढ़ाइएका बलिहरूबाट बाँकी रहेको अन्नबलि लिएर वेदीनेर खमिरविना खाओ, किनभने त्यो अति पवित्र छ। #लेवी ६:१४-१८ 13तिमीहरूले त्यो कुनै चोखो ठाउँमा खाओ, किनभने परमप्रभुको निम्ति आगोद्वारा चढ़ाइएका बलिहरूबाट यो तिम्रो र तिम्रा छोराहरूको भाग हो, किनकि मलाई यस्तै आज्ञा भएको छ। 14तर डोलाइएको ह्याकुला र प्रस्तुत गरिएको साँप्राचाहिँ तिमी र तिम्रा छोराछोरीहरूले चोखो ठाउँमा खानू, किनकि तीचाहिँ इस्राएलीहरूका मेलबलिबाट तिमी र तिम्रा छोराछोरीहरूको भाग दिइएका हुन्। #लेवी ७:३०-३४ 15आगोद्वारा चढ़ाइएका बलिहरूको बोसोसहित, प्रस्तुत गरिएको साँप्रो र डोलाइएको ह्याकुलो परमप्रभुको सामु डोलाइने बलिको निम्ति तिनीहरूले ल्याऊन्, र परमप्रभुले आज्ञा गर्नुभएबमोजिम तिमी र तिम्रा छोराछोरीहरूका निम्ति ती सदाको हक हुनेछ।”
16जब मोशाले पापबलिका बोकाको विषयमा सोधे, र त्यो जलाइसकेको भेट्टाए, तिनले हारूनका बाँचेका छोराहरू, एलाजार र ईतामारलाई रिसाएर भने, 17“तिमीहरूले किन पापबलि पवित्रस्थानमा तोकिएको ठाउँमा खाएनौ? किनभने त्यो अति पवित्र थोक हो। समुदायको लागि प्रायश्चित गरेर तिनीहरूको दोष हटाउन भनी त्यो तिमीहरूलाई दिइएको हो। #लेवी ६:२४-२६ 18त्यसको रगत पवित्रस्थानभित्र नल्याइएकोले तिमीहरूले निश्चय नै मैले अह्राएबमोजिम त्यो बोका पवित्रस्थानभित्र खानुपर्नेथियो।”
19तब हारूनले मोशालाई भने, “आजै तिनीहरूले आफ्ना पापबलि र होमबलि परमप्रभुको सामु चढ़ाएका छन्, तापनि ममाथि आज यस्ता कुरा परिआएका छन्। मैले आज पापबलि खाएको भएदेखि के त्यो परमप्रभुको दृष्टिमा असल ठहरिनेथियो र?” 20जब मोशाले यो कुरा सुने, तब तिनको चित्त बुझ्यो।
अहिले सेलेक्ट गरिएको:
लेवीहरू 10: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012