अय्यूब 3
3
अय्यूबको शोक
1तब अय्यूबले आफ्नो मुख खोलेर, आफ्नो जन्मेको दिनलाई धिक्कार्न #यर २०:१४-१८ लागे। 2अनि तिनले भने:
3“धिक्कार होस्, म जन्मेको दिनलाई,
‘एउटा बालकको जन्म भयो’ भनिएको रात।
4त्यो दिन अन्धकारमा परिवर्तन होस्।
स्वर्गबाट परमेश्वरले त्यसको वास्ता नगरून्,
ज्योति त्यसमाथि नचम्कोस्।
5अन्धकार र मृत्युको छायाले त्यो रातलाई छोपोस्।
बादलले त्यस दिनलाई ढाकोस्।
त्यसको उज्यालोलाई अन्धकारले निभाइदेओस्।
6निस्पट्ट अँध्यारोले त्यस रातलाई निलोस्,
वर्षका दिनहरूमा त्यस रातको गन्ती नहोस्।
महिनाको गन्तीमा त्यो आउन नपाओस्।
7त्यो रात सदासर्वदाको निम्ति बाँझो रहोस्,
त्यसमा कुनै रमाहटको सोर नसुनिओस्।
8जसले दिनहरूलाई सराप्छ त्यस दिनलाई सरापोस्
जो लिव्यातन्लाई उठाउन तयार छ।
9त्यसको बिहानीको कुनै ताराले प्रकाश नदेओस्।
बिहानको उज्यालो त्यसले व्यर्थमा प्रतीक्षा गरिरहनुपरोस्।
त्यस दिनले उषाको प्रथम किरणलाई देख्नै नपाओस्।
10किनभने कष्ट मेरो आँखाबाट छल्नलाई
मलाई जन्माउने गर्भको ढोका त्यसले थुनेन,
11“म जन्मने बित्तिकै किन खतम भइनँ?
गर्भबाट निस्कनासाथ म किन मरिनँ?
12मलाई ग्रहण गर्नलाई काख
र मेरो स्याहार गर्न स्तनहरू किन थिए?”
13त्यसो हुँदो हो ता म शान्तिसित शून्य चिहानमा पड़िरहनेथिएँ,
म मृत्युको निद्रामा सुतिरहनेथिएँ,
र विश्राममा हुनेथिएँ,
14संसारका राजा र सल्लाहकारहरूका साथमा,
जसले आफ्नो लागि स्थानहरू बनाए
जुनहरू आज ध्वंस बनिसकेका छन्,
15शासकहरूसित जोसँग सुन थियो,
जसले आफ्ना घरहरू चाँदीले भरे।
16समय नपुगी तुहेको बालकझैँ
मलाई किन जमिनभित्र लुकाइएन,
दिनको उज्यालो कहिल्यै नदेखेको बालकझैँ?
17त्यहाँ दुष्टहरू खल्याङ मल्याङबाट आराम पाउँछन्,
त्यहाँ थकितहरू विश्राममा हुन्छन्।
18बँधुवाहरू सुखमा रमाउँछन्,
र अबोप्रान्त कमारा खटाउनेको सोर त्यहाँ सुनिँदैन।
19ठूला र साना त्यहाँ छन्,
त्यहाँ कमारा आफ्ना मालिकबाट मुक्त भएको हुन्छ।
20“दु:खमा हुनेहरूलाई उज्यालो देख्न किन दिइन्छ?
मनमा दिक्क हुनेहरूलाई जीवन किन दिइन्छ?
21तिनीहरूलाई जसले मृत्युको प्रतीक्षा गर्दछन्,
तर मृत्यु आउँदैन, #प्रका ९:६
गाड़धन खोजेको भन्दा पनि धेरै
जोशसँग तिनीहरू मृत्यु खोज्छन्।
22जुनहरू चिहानमा पुग्दा
आनन्दले मग्न हुन्छन् र रमाउँछन्?
23परमेश्वरले चारैतिर घेरा लगाउनुभएको बाटोमा,
जसको बाटो लुकाइएको हुन्छ
तिनीहरूलाई किन जीवन दिइन्छ?
24मेरो भोजनको सट्टा सुस्केरा आउँछ,
मेरा आर्तनादहरू पानी झैँ मबाट निस्कन्छन्।
25मलाई तर्साउने त्रासहरूले मलाई समातेका छन्,
जे-जेदेखि म डराउँछु, ती ममाथि आइपरेका छन्।
26मेरो मनमा न त शान्ति छ,
न मेरो निम्ति विश्राम नै छ,
तर खलबल मात्र छ।
अहिले सेलेक्ट गरिएको:
अय्यूब 3: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012