अय्यूब 18
18
दुष्टहरूको प्रतिफललाई बिल्ददले वर्णन गरेका
1तब बिल्दद शुहीले यसो भनेर जवाफ दिए:
2“यी भाषणहरूलाई तपाईंले कहिले बन्द गर्नु हुन्छ?
समझदार हुनुहोस्, र हामी कुरा गर्न सक्नेछौं।
3हामीलाई किन पशुझैँ व्यवहार गरिन्छ?
र तपाईंको विचारमा हामी मूर्खहरू ठहराइन्छौं?
4तपाईं जसले रीसमा आफूलाई छिया-छिया पार्नुहुन्छ के तपाईंको खातिर पृथ्वीलाई त्यागिदिने?
अथवा पहराहरू तिनीहरूका ठाउँबाट हटाउनु?
5“दुष्टको बत्ती निभाइन्छ, #अयू २१:१७
त्यसको आगोबाट फेरि कुनै ज्वाला निस्कँदैन।
6त्यसको पालमा ज्योति अँध्यारो हुन्छ,
त्यसको बत्ती निभ्छ।
7त्यसको पाइलाको शक्ति कमजोर हुन्छ।
त्यसको आफ्नै युक्तिले त्यसलाई लड़ाउँछ।
8त्यसका खुट्टाले त्यसलाई पासोमा धकेल्छ,
र त्यो जालमा भौँतारिन्छ।
9त्यसका खुट्टा पासोमा जेलिन्छ,
पासोमा डोरीले त्यसलाई कसेर बाँध्छ।
10त्यसको लागि गलपासो भूइँमा लुकाइएको छ।
र जाल त्यसको बाटोमा तेर्सिएको हुन्छ।
11डरले त्यसलाई चारैतिर घेर्छ,
र कदम-कदममा त्यसलाई खेद्छ।
12विपत्ति त्यसको निम्ति भोकाएको हुन्छ,
त्यो लड्दा दुर्घटनाले त्यसलाई पर्खिरहेको हुन्छ।
13त्यसले त्यसको छालाको अंशहरू खाइहाल्छ,
मृत्युको पहिलो सन्तानले त्यसको हात-खुट्टा खान्छ।
14त्यसको घरको सुरक्षाबाट पनि त्यसलाई तानेर निकाल्छ,
र त्यसलाई त्रासको राजाकहाँ लैजान्छ।
15त्यसको पालमा आगोले वास गर्छ,
त्यसको घरमा जलिरहेको गन्धक छर्किएको छ।
16त्यसका तलतिरका जराहरू सुक्छन्,
त्यसका माथिका हाँगाहरू ओइलाउँछन्।
17पृथ्वीबाट त्यसको सम्झना लोप हुन्छ,
संसारमा त्यसको नाउँनिशानै रहनेछैन।
18त्यो उज्यालोबाट अँध्यारोमा धपाइन्छ,
र संसारबाट निकालिन्छ।
19आफ्ना मानिसहरूका बीचमा त्यसको आफ्नो कुनै सन्तान छैन।
आफू एक पल्ट बसेको ठाउँमा कोही बाँचेका हुनेछैनन्।
20पश्चिमका मानिसहरू त्यसको दशा सुनेर छक्क पर्नेछन्,
पूर्वका मानिसहरू डरले काम्नेछन्।
21दुष्ट काम गर्नेहरूको घर यस्तै हुनेछ,
परमेश्वरको वास्ता नगर्नेहरूको घर यस्तै हुनेछ।”
अहिले सेलेक्ट गरिएको:
अय्यूब 18: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012