अय्यूब 15
15
अय्यूबलाई एलीपजको हप्की
1तब एलीपज तेमानीले जवाफ दिए:
2“के बुद्धि भएको मानिसले यस्ता खोक्रो विचारयुक्त उत्तर दिन्छ?
अथवा आफ्नो पेटमा पूर्वी बतास रहन्छ?
3के उहाँले यस्ता बेकामका कुराहरू,
मूल्य नभएका शब्दहरूद्वारा बहस गर्नुहुन्छ?
4तर तपाईं ता मानिसहरूलाई परमेश्वरको भय मान्नलाई बाधा दिनुहुन्छ,
र परमेश्वरप्रतिको भक्तिमा क्षति पुर्याउनुहुन्छ।
5तपाईं जे भन्नुहुन्छ त्यो त तपाईंको अधर्मले नै भन्न लाउँछ
अनि छलको भाषा तपाईं रुचाउनुहुन्छ।
6तपाईं आफ्नै कुराबाट दोषी ठहरिनुभएको छ,
मबाट त होइन। तपाईंको आफ्नै ओठले
तपाईंको विरुद्धमा साक्षी दिन्छ।
7के तपाईं मानिस जातिमा सबैभन्दा पहिले जन्मनुभएको हो?
के तपाईंको उत्पत्ति डाँड़ाहरूभन्दा पहिले भएको हो?
8के तपाईं परमेश्वरको गुप्त सभामा बसेर सुन्नुहुन्छ?
अथवा सबै बुद्धिका कुरा तपाईं आफ्नै मात्र बनाउनुहुन्छ?
9हामीले नजानेका कुन कुरा तपाईं जान्नुहुन्छ?
हामीमा नभएको अन्तर्ज्ञान तपाईंमा के छ?
10हाम्रा बीचमा वृद्ध र पाका मानिसहरू छन्,
तपाईंका पिताभन्दा पनि वृद्ध मानिस हाम्रा साथमा छन्।
11तपाईंको कानमा बिस्तारै परेको मधुरो शब्द,
परमेश्वरको सान्त्वना के तपाईंको निम्ति यथेष्ट छैन?
12केले तपाईंको हृदयमा यस्तो आँट दिन्छ?
अनि तपाईं किन आफ्नो आँखा फुकाएर हेर्नुहुन्छ?
13र तपाईं आफ्नो रीस परमेश्वरलाई पोखाउनुहुन्छ,
अनि आफ्ना मुखबाट यस्ता शब्दको भल निकाल्नुहुन्छ?
14“निर्बल मानिस के हो र त्यो निर्दोष हुन सक्छ? #अयू २५:४-६
अथवा स्त्रीबाट जन्मेको कुनै बालक, के त्यो धर्मी ठहरिन सक्छ?
15परमेश्वरले आफ्नै पवित्र जनमाथि भरोसा राख्नुहुन्न
र स्वर्ग नै उहाँको दृष्टिमा निर्दोष छैन भने,
16मानिस त झन् कति कम होला, जो घिनलाग्दो र सड़ेको हुन्छ,
र जसले अधर्मलाई पानीझैँ पिउँदछ!
17सुन्नुहोस् र तपाईंलाई म बताउनेछु,
र मैले देखेको कुरा म बयान गर्नेछु।
18जुन कुरा ज्ञानीहरूले आफ्ना पुर्खाहरूबाट पाएको केही नलुकाईकन घोषणा गरेका छन्।
19(उनीहरूलाई मात्र देश अधिकार गर्न दिइएको थियो,
उनीहरूसँग कुनै विदेशी बसेका थिएनन्।)
20दुष्ट आफ्नो जीवनकालभरि नै दु:खले सताइएको हुन्छ,
निष्ठुर मानिसका वर्षहरू गनेर तोकिएका हुन्छन्।
21त्रासको शब्द त्यसको कानमा गुञ्जिरहन्छ,
शान्तिको समयमा पनि नाश गर्ने त्यसमाथि आइलाग्नेछ।
22अन्धकारको मुखबाट त्यसले उम्कने आशा गर्न सक्दैन,
तरवारले मारिन त्यो छानिएको छ।
23गिद्धको लागि आहारा फ्याँकिएझैँ त्यो फ्याँकिन्छ,
आफ्नो विनाश निश्चय नै आउँछ भनी त्यस्तो मानिसले जान्दछ।
24दु:ख र सुर्ताले त्यसलाई त्रसित बनाउँछ,
युद्ध गर्न तयार भएका राजाझैँ तिनीहरूले त्यसलाई व्याकुल पार्छन्।
25किनभने त्यसले परमेश्वरको विरुद्धमा आफ्नो हात उठाएको छ,
र सर्वशक्तिमान्को विरुद्धमा जोरी खोजेको छ।
26आफ्नो बाक्लो र विशाल ढाल लिएर परमेश्वरको
विरुद्धमा आक्रमण गर्न त्यो जाइलाग्छ।
27“त्यसको गाला चिल्लोले भरिएको
र त्यसको कम्मर बोसोले भरिएको भए तापनि
28त्यो नाश भएको सहर र घरमा बस्नेछ,
जहाँ कोही बस्दैनन्,
ती घरहरू जो भत्केर ढुङ्गाको थुप्रो हुनेछन्।
29त्यो अब उप्रान्त धनी हुनेछैन,
र उसको सम्पत्ति रहनेछैन।
न त उसको सम्पत्ति जमिनमा फैलिनेछ।
30अन्धकारबाट ऊ उम्कन सक्नेछैन,
ज्वालाले त्यसका टुसाहरू चाउरिनेछन्,
अनि परमेश्वरको सासले त्यसलाई उड़ाएर लैजानेछ।
31बेकामका कुराहरूमाथि भरोसा गरेर त्यसले आफैलाई धोका नदेओस्,
किनभने त्यसले सट्टामा केही पाउनेछैन।
32उसको समयभन्दा पहिले नै उसलाई पूर्ण रूपले चुक्ता गरिनेछ,
अनि उसका हाँगाहरू सप्रने छैनन्।
33काँचैमा फल टिपिएका अंगूरका बोटजस्तै त्यो हुनेछ,
फूलहरू झरेको भद्राक्षको बोटझैँ त्यो हुनेछ।
34किनभने ईश्वरहीनहरूको समूह सबै बाँझो हुनेछ,
घूस मन पराउनेहरूका पालहरू आगोले नष्ट हुनेछन्।
35तिनीहरू कष्ट गर्भ धारण गर्दछन्,
र खराबी जन्माउँछन्, तिनीहरूका गर्भहरूले छल रच्दछन्।”
अहिले सेलेक्ट गरिएको:
अय्यूब 15: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012