YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 13:3-15

यूहन्‍ना 13:3-15 NNRV

पिताले सबै थोक उहाँका हातमा दिनुभएको छ, र उहाँ परमेश्‍वरको तर्फबाट आउनुभएको हो, र परमेश्‍वरकहाँ नै जाँदैहुनुहुन्‍छ भन्‍ने कुरा येशूले जान्‍नुहुँदथियो। अनि उहाँ भोजनबाट उठ्‌नुभयो, र बाहिरी वस्‍त्र एकातिर राखी एउटा तौलिया आफ्‍नो कम्‍मरमा बेह्रनुभयो। तब उहाँले बाटामा पानी खन्‍याउनुभयो, र चेलाहरूका गोडा धुन लाग्‍नुभयो, र आफूले बेह्रेको तौलियाले तिनीहरूका गोडा पुछ्‌न लाग्‍नुभयो। जब उहाँ सिमोन पत्रुसकहाँ आउनुभयो, तिनले उहाँलाई भने, “प्रभु, के तपाईंले मेरा गोडा धुने?” येशूले तिनलाई जवाफ दिनुभयो, “म के गर्दैछु तिमी अहिले जान्‍दैनौ, तर पछि बुझ्‍नेछौ।” पत्रुसले उहाँलाई भने, “तपाईंले मेरा गोडा कहिल्‍यै धुनुहुनेछैन।” येशूले तिनलाई जवाफ दिनुभयो, “मैले धोइदिइनँ भनेता मसित तिम्रो केही हिस्‍सा हुनेछैन।” सिमोन पत्रुसले उहाँलाई भने, “हे प्रभु, मेरा गोडा मात्र होइन, तर मेरा हात र शिरसमेत धोइदिनुहोस्‌।” येशूले तिनलाई भन्‍नुभयो, “नुहाइसकेको मानिसलाई गोडाबाहेक अरू केही धुनुपर्दैन, त्‍यो सम्‍पूर्ण शुद्ध छ। अनि तिमीहरू शुद्ध छौ, तर सबै त होइन।” किनभने उहाँलाई विश्‍वासघात गर्नेलाई उहाँले चिन्‍नुभएको थियो। यसैकारण उहाँले भन्‍नुभएको थियो, “तिमीहरू सबै शुद्ध छैनौ।” तिनीहरूका गोडा धोइसक्‍नुभएपछि आफ्‍नो बाहिरी वस्‍त्र लाएर उहाँ फेरि बस्‍नुभयो। तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू जान्‍दछौ, मैले तिमीहरूका निम्‍ति के गरें? तिमीहरू मलाई ‘गुरु र प्रभु’ भन्‍दछौ, त्‍यो तिमीहरू ठीकै भन्‍दछौ, किनभने म उही हुँ। यदि तिमीहरूका प्रभु र गुरु भईकन मैले तिमीहरूका गोडा धोएको छु भने तिमीहरूले पनि एक-अर्काका गोडा धुनुपर्छ, किनकि मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु, र जसो मैले तिमीहरूका निम्‍ति गरें, तिमीहरूले पनि त्‍यसै गर।