YouVersion लोगो
खोज आइकन

यर्मिया 31:23-40

यर्मिया 31:23-40 NNRV

सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “जब म तिनीहरूलाई कैदबाट फर्काएर ल्‍याउनेछु, तब मानिसहरूले यहूदाको देश र त्‍यसका नगरहरूमा यी वचन फेरि प्रयोग गर्नेछन्, ‘हे धर्मी वासस्‍थान, हे पवित्र पर्वत, तँलाई परमप्रभुले आशिष्‌ देऊन्’। यहूदा र त्‍यसका सबै नगरहरूमा मानिसहरू एकैसाथ बस्‍नेछन्‌— किसानहरू, र आफ्‍ना बगालसँग घुम्‍ने गोठालाहरू। थाकेकाहरूलाई म फेरि ताजा बनाउनेछु र मूर्च्‍छा खानेहरूलाई सन्‍तुष्‍ट तुल्‍याउनेछु।” यतिमै म बिउँझें र चारैतिर हेरें। मेरो निद्रा मलाई मीठो लागेको थियो। परमप्रभु भन्‍नुहुन्‍छ, “दिन आउँदैछन्, जब म मानिस र पशुका बच्‍चाहरूले इस्राएलका घराना र यहूदाका घरानालाई रोप्‍नेछु। जसरी तिनीहरूलाई उखेल्‍न, लछार्न र फ्‍याँक्‍न, र तिनीहरूमाथि सर्वनाश ल्‍याउनलाई मैले मेरो दृष्‍टि तिनीहरूमाथि राखें, त्‍यसरी नै तिनीहरूलाई निर्माण गर्न र रोप्‍नलाई मेरो दृष्‍टि तिनीहरूमाथि राख्‍नेछु,” परमप्रभु भन्‍नुहुन्‍छ। “ती दिनमा मानिसहरूले फेरि कहिल्‍यै यसो भन्‍नेछैनन्, ‘अमिलो अङ्‌गूर खाए बुबाले अनि दाँत कुँड़िनेचाहिँ छोराछोरीको’। त्‍यसको सट्टामा हरेक आफ्‍नै पापको निम्‍ति मर्नेछ। जसले अमिलो अङ्‌गूर खान्‍छ त्‍यसैको दाँत कुँड़िन्‍छ। परमप्रभु भन्‍नुहुन्‍छ, “ती दिन आउनेछन्, जब इस्राएलको घरानासँग र यहूदाको घरानासँग म एउटा नयाँ करार स्‍थापना गर्नेछु। तिनीहरूका पुर्खाहरूसँग मैले बाँधेको करारजस्‍तै यो हुनेछैन, जब मैले तिनीहरूलाई हातमा समातेर मिश्रदेशबाट डोर्‍याएर ल्‍याएको थिएँ।” परमप्रभु भन्‍नुहुन्‍छ, “तिनीहरूले मेरो करार भङ्ग गरे, यद्यपि म तिनीहरूका पिता थिएँ।” परमप्रभु भन्‍नुहुन्‍छ, “ती दिनपछि म इस्राएलको घरानासँग यो करार बाँध्‍नेछु, तिनीहरूका मनमा मेरो व्‍यवस्‍था राखिदिनेछु, र तिनीहरूका हृदयमा त्‍यो लेखिदिनेछु, र म तिनीहरूका परमेश्‍वर हुनेछु, र तिनीहरू मेरा प्रजा हुनेछन्‌। ‘परमप्रभुलाई चिन’ भनेर अब उसो कुनै मानिसले आफ्‍नो छिमेकीलाई वा आफ्‍ना दाजुभाइलाई सिकाउनेछैन। किनकि सानादेखि लिएर ठूलासम्‍म तिनीहरू सबैले मलाई चिन्‍नेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ। “किनकि तिनीहरूका अपराधहरू म क्षमा गर्नेछु, र म तिनीहरूका पाप फेरि कहिल्‍यै सम्‍झनेछैनँ।” परमप्रभु यसो भन्‍नुहुन्‍छ: जसले दिन उज्‍यालो पार्नलाई सूर्य नियुक्त गर्नुहुन्‍छ, र राती प्रकाश दिनलाई चन्‍द्रमा र ताराहरूलाई आज्ञा गर्नुहुन्‍छ, जसले छालहरू गर्जाउनलाई समुद्र चलाउनुहुन्‍छ— उहाँको नाउँ सर्वशक्तिमान्‌ परमप्रभु हो। “यी विधिहरू मेरो दृष्‍टिबाट लुप्‍त भए भने मात्र इस्राएलको वंश मेरो सामु एक जाति हुनदेखि खतम हुनेछ,” परमप्रभु भन्‍नुहुन्‍छ। परमप्रभु यसो भन्‍नुहुन्‍छ: “आकाशलाई नाप्‍न सकियो भने, र पृथ्‍वीको जगलाई खोजेर निकाल्‍न सकियो भने मात्र तिनीहरूले गरेका सबै अधर्मको कारण म इस्राएलका सन्‍तानलाई फालिदिनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ। परमप्रभु भन्‍नुहुन्‍छ, “दिनहरू आउँदैछन्, जब हननेलको बुर्जादेखि कुने-ढोकासम्‍मै सहर फेरि मेरो निम्‍ति बनाइनेछ। नाप्‍ने डोरी त्‍यहाँबाट सीधै गारेब डाँड़ासम्‍म पुग्‍नेछ, र त्‍यहाँबाट घुमेर गोआसम्‍म जानेछ। लाशहरू र खरानी फालिने सारा उपत्‍यका, र पूर्वतिर किद्रोन खोल्‍सासम्‍मका सबै खेतहरू अश्‍व ढोकाको कुनासम्‍म परमप्रभुको निम्‍ति पवित्र हुनेछ। त्‍यो सहर फेरि कहिल्‍यै उखेलिनेछैन अथवा भत्‍काइनेछैन।”