YouVersion लोगो
खोज आइकन

यशैया 59

59
पाप, पश्‍चात्ताप र छुटकारा
1निश्‍चय नै परमप्रभुको हात बचाउन नसक्‍ने गरी छोटो भएको छैन, न त उहाँको कान सुन्‍न नसक्‍ने गरी बाक्‍लो भएको छ। 2तर तिमीहरूका अधर्मले तिमीहरूलाई आफ्‍ना परमेश्‍वरबाट अलग गरेका छन्, र तिमीहरूका पापले गर्दा उहाँको मुहार तिमीहरूबाट छेकिएको छ, र उहाँले तिमीहरूको कुरा सुन्‍नुहुनेछैन। 3किनकि तिमीहरूका हात रगतले र तिमीहरूका औँला दोषले पोतिएका छन्, र तिमीहरूका ओठले झूटा कुराहरू बोलेका छन्, र तिमीहरूको जिब्रोले दुष्‍ट कुराहरू बक्‍तछ। 4कसैले न्‍याय माग्‍दैन। कसैले ईमानदारीसाथ वकालत गर्दैन। तिनीहरू खोक्रो तर्कमा भर पर्छन्‌ र झूट बोल्‍छन्‌। तिनीहरू उपद्रव रच्‍दछन्, र अधर्म जन्‍माउँछन्‌। 5तिनीहरू साँभे सर्पका फुल ओथ्रन्‍छन्, र माकुराको जाल बुन्‍छन्‌। तिनीहरूका फुल खाने जोसुकै पनि मर्नेछ, र त्‍यसलाई फुटायो भने साँपको बच्‍चा निस्‍कन्‍छ। 6तिनीहरूका जालले वस्‍त्र बनिँदैन, तिनीहरूले बनाएका थोकले तिनीहरू आफैलाई ढाक्‍न सक्‍दैनन्‌। तिनीहरूका काम अधर्मका काम हुन्, र उपद्रवका काम नै तिनीहरूका हातमा हुन्‍छन्‌। 7तिनीहरूका खुट्टा पापको कामतिर दौड़न्‍छन्, र तिनीहरू निर्दोषको रगत बगाउन हतार गर्छन्‌। तिनीहरूका विचार अधर्मका विचार हुन्‌। उजाड़ र नाशले तिनीहरूको बाटो चिनाउँछन्‌। #रोम ३:१५-१७ 8तिनीहरू शान्‍तिको बाटो चिन्‍दैनन्, र तिनीहरूका मार्गमा न्‍याय छैन। तिनीहरूले आफ्‍ना मार्गहरू बाङ्गा-टेढ़ा बनाएका छन्‌। त्‍यसबाट हिँड्‌ने कसैले शान्‍तिलाई जान्‍नेछैन।
9यसैले न्‍याय हामीहरूदेखि टाढ़ा भएको छ। धार्मिकताले हामीलाई भेट्टाउन सक्‍दैन। हामीहरू उज्‍यालोको बाटो हेर्छौं, तर सबै अन्‍धकार छ। प्रकाशको बाटो हेर्छौं, तर घोर अँध्‍यारोमा हिँड्‌दछौं! 10अन्‍धा मानिसझैँ हामी भित्ता छाम्‍दछौं, आँखा नभएकाहरूले झैँ हामी आफ्‍नो बाटो छाम्‍दछौं। हामी मध्‍यदिनमा पनि साँझमा झैँ ठेस खान्‍छौं। बलियाहरूका बीचमा हामी मरेका झैँ छौं। 11हामी सबै भालूझैँ कराउँछौं, र ढुकुरझैँ साह्रै विलाप गर्दछौं। हामी न्‍याय माग्‍छौं, तर कतै पाउँदैनौं, मुक्तिको बाटो खोज्‍छौं, तर त्‍यो हामीबाट टाढ़ा छ।
12किनकि हाम्रा अपराध तपाईंको दृष्‍टिमा अनेक छन्, र हाम्रा पापले हाम्रै विरुद्धमा गवाही दिन्‍छन्‌। हाम्रा अपराध हामीसितै छन्, र हाम्रा अधर्महरू हामी स्‍वीकार गर्दछौं। 13परमप्रभुको विरुद्धमा बागीपन र विश्‍वासघात, हाम्रा परमेश्‍वरलाई पिठिउँ देखाई अत्‍याचार र विद्रोह रचेका छौं, र हाम्रा हृदयले उत्‍पन्‍न गरेका झूटा कुराहरू हामीले बोलेका छौं। 14यसैले न्‍याय पछिल्‍तिर हटाइएको छ, र धार्मिकता टाढ़ा भएको छ, सत्‍यले चाहिँ सड़कहरूमा ठेस खाएको छ, र ईमानदारीले प्रवेश गर्न सक्‍दैन। 15सत्‍यता कहीँ पनि पाइँदैन, र दुष्‍टदेखि अलग बस्‍ने जोसुकै पनि शिकार बन्‍छ।
परमप्रभुले हेर्नुभयो, र न्‍याय रहेन भनेर उहाँ रिसाउनुभयो। 16कोही रहेनछ भनी उहाँले देख्‍नुभयो, र कोही मध्‍यस्‍थ पनि नभएकोले अचम्‍म मान्‍नुभयो। यसर्थ उहाँकै आफ्‍नै बाहुलीले त्‍यसको निम्‍ति उद्धार ल्‍याउनुभयो, र उहाँकै धार्मिकताले त्‍यसलाई थाम्‍नुभयो। #यशै ६३:५ 17उहाँले धार्मिकताको छाती-पाता र शिरमा मुक्तिको टोप पहिरिनुभयो। उहाँले साटो लिने वस्‍त्र लाउनुभयो र जोशलाई पोशाकजस्‍तै पहिरिनुभयो। #एफि ६:१४,१७; १ थेस ५:८ 18तिनीहरूले गरेअनुसार उहाँले तिनीहरूलाई साटो लिनुहुनेछ, उहाँका विरोधीहरूमाथि क्रोध, र उहाँका वैरीहरूमाथि बदला! टापूका देशहरूलाई तिनीहरूले गरेजस्‍तै उहाँले बदला दिनुहुनेछ। 19पश्‍चिमका देशहरूदेखि मानिसहरूले परमप्रभुका नाउँको भय मान्‍नेछन्, र सूर्योदयदेखि तिनीहरूले उहाँका महिमाको सम्‍मान गर्नेछन्‌। किनकि उहाँ उर्लंदो बाढ़जस्‍तै आउनुहुन्‍छ, जसलाई परमप्रभुको सासले हाँकेर ल्‍याउँछ।
20“आफ्‍ना पापको पश्‍चात्ताप गर्ने याकूबका सन्‍तानहरूका निम्‍ति मुक्तिदाता सियोनमा आउनुहुनेछ,” परमप्रभु घोषणा गर्नुहुन्‍छ। #रोम ११:२६
21परमप्रभु भन्‍नुहुन्‍छ, “मेरो करार तिनीहरूसित चाहिँ यही हुनेछ। मेरो आत्‍मा जो तँमाथि छ, र मेरो वचन जो मैले तेरो मुखमा हालिदिएको छु, त्‍यो तेरो मुखबाट, तेरो छोराछोरीका मुखबाट, र तिनीहरूका सन्‍तानका मुखबाट अबदेखि उसो सधैँभरिका निम्‍ति हट्‌नेछैन,” परमप्रभु भन्‍नुहुन्‍छ।

अहिले सेलेक्ट गरिएको:

यशैया 59: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्