YouVersion लोगो
खोज आइकन

हबकूक 2

2
1म मेरो पहरामा नै उभिरहनेछु, र पर्खालमा म आफै खड़ा रहनेछु, र उहाँ मलाई के भन्‍नुहुन्‍छ सो म हेर्दैरहनेछु। यस उजूरको कस्‍तो जवाफ मैले दिनुपर्ने सो म हेरिबस्‍नेछु।
परमप्रभुको जवाफ
2तब परमप्रभुले मलाई जवाफमा भन्‍नुभयो, “तैंले यो प्रकाश पाटीहरूमा प्रष्‍ट गरी लेख्, र समाचारवाहक त्‍यससित दौड्‌न सकोस्‌। 3किनकि प्रकाश ठहरिएको समय पूरा हुनलाई पर्खिरहेछ। त्‍यसले अन्‍तको विषयमा बताउँछ र त्‍यो झूटो ठहरिनेछैन। त्‍यो पूरा हुन ढिलो भए तापनि त्‍यसको प्रतीक्षा गर्दैबस्, किनभने त्‍यो निश्‍चय नै पूरा हुनेछ, त्‍यसले ढिलो गर्नेछैन। #हिब १०:३७
4“हेर्, त्‍यो घमण्‍डले फुलिएको छ, त्‍यसका इच्‍छाहरू सोझा छैनन्‌— तर धर्मीचाहिँ आफ्‍नो विश्‍वासद्वारा जिउनेछ। #रोम १:१७; गला ३:११; हिब १०:३८ 5निश्‍चय नै दाखमद्यले त्‍यसलाई धोका दिन्‍छ। त्‍यो हठी छ र त्‍यो कहिल्‍यै शान्‍तसित बस्‍दैन, किनभने त्‍यो चिहानझैँ#2:5 हिब्रू: पातालझैँ लोभी छ। मृत्‍युझैँ त्‍यो कहिल्‍यै अघाउँदैन। त्‍यसले सारा जाति-जातिहरूलाई आफूकहाँ बटुल्‍छ, र सारा मानिसहरूलाई कैद गर्छ।
6“के ती सबैले यसो भनेर त्‍यसको विरुद्धमा हाँसो र ठट्टा गर्दैनन्‌ र? ‘चोरको माल थुपार्ने र जबरजस्‍ती खोसेर ल्‍याएका मालले धनी हुनेलाई धिक्‍कार! त्‍यसले कहिलेसम्‍म त्‍यसो गर्ने?’ 7के तेरा कर्जादारहरू एक्‍कासि उठ्‌नेछैनन्‌ र? तिनीहरू बिउँझेर तँलाई थर्कमान बनाउँदैनन्‌ र? तब तँ तिनीहरूको शिकार हुनेछस्, 8तैंले जाति-जातिहरूलाई लुटेको छस्, यसकारण बाँचेका मानिसहरूले तँलाई लुटनेछन्‌। किनकि तैंले मानिसको रगत बगाइस्, र तैंले देशहरू र सहरहरू र तिनमा रहने सबैलाई सर्वनाश गरिस्‌।
9“धिक्‍कार त्‍यसलाई, जसले अन्‍यायबाट कमाएको लाभबाट आफ्‍नो राज्‍य बनाउँछ, ताकि उसको गुँड़ उच्‍च ठाउँमा बनाई ऊ विध्‍वंशबाट बचोस्‌। 10तैंले धेरै मानिसहरूका सर्वनाशको निम्‍ति षड्‌यन्‍त्र रचेको छस्‌। तैंले आफ्‍नै घरलाई लाजमा डुबाएर आफ्‍नो जीवन गुमाइस्‌। 11पर्खालका भित्तादेखि ढुङ्गाहरूले दुहाई दिनेछन्, र काठका दलिनहरूले त्‍यसको प्रतिध्‍वनि गर्नेछन्‌।
12धिक्‍कार त्‍यसलाई, जसले रक्तपातले सहर निर्माण गर्दछ, र अधर्मद्वारा नगर स्‍थापित गर्दछ। 13के सर्वशक्तिमान्‌ परमप्रभुले यो ठहराउनुभएको होइन, कि मानिसहरूको परिश्रम त आगोको निम्‍ति मात्र हुन्‍छ, कि जाति-जातिहरू व्‍यर्थैमा आफै थकित हुँदैछन्‌? 14किनकि समुद्र पानीले ढाकिएझैँ पृथ्‍वी परमप्रभुका महिमाको ज्ञानले भरिपूर्ण हुनेछ। #यशै ११:९
15“धिक्‍कार त्‍यसलाई, जसले आफ्‍ना छिमेकीहरूको नाङ्गो शरीर एकटक लगाएर हेर्न आफ्‍नो मशकबाट तिनीहरूलाई मद्यपान गराइ टिल्‍ल पार्छन्‌। 16गौरवको सट्टा तँ शर्मले भरिनेछस्‌। अब तेरो पालो आयो, तँ पनि पिई र उदाङ्गो हो। परमप्रभुको दाहिने हातको कचौरा तँकहाँ आउँदैछ, र तेरो गौरव लाजले ढाकिनेछ। 17लेबनानमाथि तैंले गरेको उपद्रवले तँलाई नै ढाक्‍नेछ, र तैंले त्‍यहाँका पशुहरूलाई गरेको सर्वनाशले तँलाई भयभीत तुल्‍याउनेछ। किनकि तैंले मानिसको रगत बगाइस्, र तैंले देशहरू र सहरहरू र तिनमा रहने सबैलाई सर्वनाश गरिस्‌।
18“मान्‍छेले खोपेर बनाएको मूर्तिको के मूल्‍य छ र? अथवा झूट सिकाउने प्रतिमाको के मूल्‍य छ? किनकि त्‍यो बनाउने कारीगरले आफ्‍नै हातले बनाएको सृष्‍टिमा भरोसा राख्‍तछ। उसले मूर्तिहरू बनाउँछ, जसले बोल्‍न सक्‍दैन।
19“धिक्‍कार त्‍यसलाई, जसले काठलाई भन्‍छ, ‘जिउँदो होऊ,’ र बोल्‍न नसक्‍ने ढुङ्गालाई भन्‍छ, ‘जाग’। के त्‍यसले मार्ग दर्शन गर्न सक्‍छ? त्‍यो त सुन र चाँदीले मोहोरिएको छ, त्‍यसमा सास नै छैन। 20तर परमप्रभु त आफ्‍नो पवित्र मन्‍दिरमा हुनुहुन्‍छ। सारा पृथ्‍वी उहाँको सामुन्‍ने चूपचाप रहोस्‌।”

अहिले सेलेक्ट गरिएको:

हबकूक 2: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्