त्यस रात याकूब उठे, र तिनका दुई पत्नी, दुई कमारी, र एघारै छोराहरूलाई लिएर यब्बोक नदी तरे। तिनले तिनीहरूलाई खोलाको पारि पठाएपछि, त्यसै गरी तिनले आफूसित भएका सबै कुरा पनि पठाए। यसरी याकूबचाहिँ एकलै छोड़िए। अनि एक जना व्यक्ति उज्यालो नहोउञ्जेल तिनीसित कुश्ती लड़े। यी व्यक्तिले याकूबलाई जित्न नसकेका देखेर याकूबका कम्मरको खोक्रो भाग छोए, र उनीसित कुश्ती लड्दालड्दै याकूबको कम्मरको गेड़ी फुस्क्यो। तब ती व्यक्तिले भने, “उज्यालो हुन लाग्यो। मलाई जान देऊ।” तर याकूबले भने, “मलाई आशीर्वाद नदिउञ्जेल म तपाईंलाई जान दिन्नँ।” उनले तिनलाई भने, “तिम्रो नाउँ के हो?” तिनले भने, “याकूब।” त्यस व्यक्तिले भने, “अब उप्रान्त तिम्रो नाउँ याकूब होइन तर इस्राएल हुनेछ, किनभने तिमीले परमेश्वर र मानिसहरूसँग लड़न्त गर्यौ, अनि विजयी भयौ।” तब याकूबले उनलाई सोधे, “बिन्ती छ, मलाई भन्नुहोस्, तपाईंको नाउँ के हो?” तर उनले उत्तर दिए, “मेरो नाउँ तिमी किन सोध्छौ?” अनि उनले तिनलाई आशीर्वाद दिए। यसकारण याकूबले त्यस ठाउँको नाउँ पनीएल राखे, किनकि “परमेश्वरको सम्मुखै परे तापनि मेरो ज्यान बाँच्यो” भनी तिनले भने। तिनको कम्मरले गर्दा तिनी खोच्याई-खोच्याई हिँड़ेर पनीएल नाघिसक्दा सूर्योदय भयो। तिनका कम्मरको नसो छोइएको हुनाले आजसम्म इस्राएलीहरू कम्मरको नसो खाँदैनन्।
उत्पत्ति 32 पढ्नुहोस्
सुन्नुहोस् उत्पत्ति 32
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 32:22-32
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू