इजकिएल 12
12
निर्वासित मानिसहरूको चिन्ह
1परमप्रभुको यो वचन मकहाँ आयो: 2“हे मानिसको छोरो, तँ एउटा बागी घरानाको बीचमा बस्दैछस्, जसका हेर्ने आँखा त छन् तर देख्दैनन्, जसका सुन्ने कान त छन् तर सुन्दैनन्। किनभने तिनीहरू बागी मानिसहरू हुन्।” #यशै ६:९-१०; यर ५:२१; मर्क ८:१८
3“यसकारण हे मानिसको छोरो, निर्वासित भएको व्यक्तिझैँ तेरो झिटीमिटी पोको पार्, र दिउँसै तिनीहरूका आँखाकै सामुन्ने तँ बसेको ठाउँबाट अर्को ठाउँमा गइहाल्। तिनीहरू बागी घराना भए तापनि शायद तिनीहरूले बुझ्लान्। 4निर्वासनको लागि तेरो झिटीमिटी लिएर दिउँसै तिनीहरूका आँखाकै सामुन्ने तेरो झिटीमिटी बाँध्, र तिनीहरूका आँखाकै सामुन्ने बेलुकी निर्वासनमा जानेजस्तै गरी जा। 5तिनीहरूले देख्ने गरी पर्खालमा प्वाल पार्, र तेरो झिटीमिटी त्यतैबाट निकाल्। 6तिनीहरूले हेरिरहँदा तैंले आफ्नो सामान काँधमा उठा, र साँझ पर्दा बोकेर लैजा। तैंले आफ्नो मुख छोप्, र यसरी भूइँ देख्न नपाएस्। किनभने इस्राएलका घरानाको निम्ति मैले तँलाई एउटा चिन्ह बनाएको छु।
7यसैले मलाई आज्ञा गरेबमोजिम मैले गरें। निर्वासनको लागि मैले मेरो झिटीमिटी दिउँसो बाहिर पोको पारेर निकालें। अनि बेलुका आफ्नै हातले पर्खालमा प्वाल पारें, र साँझमा तिनीहरूले हेर्दाहेर्दै मैले मेरो झिटीमिटी काँधमा बोकेर गइहालें।
8बिहान परमप्रभुको यो वचन मकहाँ आयो: 9“हे मानिसको छोरो, के इस्राएलको त्यो बागी घरानाले यसो भनेर तँलाई सोधेन, ‘तिमी के गर्दैछौ?’ 10तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ। “यो ईश्वरवाणी यरूशलेममा भएका राजकुमार र सारा इस्राएलका घरानाको विषयमा हो’। 11तिनीहरूलाई भन्, ‘म तिमीहरूका निम्ति एउटा चिन्ह हुँ’।
“मैले जसो गरेको छु, त्यसरी नै तिनीहरूलाई गरिनेछ। तिनीहरू देशबाट कैदीहरूजस्तै निर्वासित हुनेछन्।
12“तिनीहरूका बीचमा हुने राजकुमारले साँझमा आफ्नो काँधमा सामान बोकेर लैजानेछ, र पर्खाल फोरेर बाहिर जानलाई त्यसको निम्ति एउटा प्वाल बनाउनेछ, र आफ्नो आँखाले भूइँ देख्नु नपरोस् भनेर त्यसले आफ्नो मुख छोप्नेछ। 13म आफ्नो जाल त्यसमाथि फिँजाउनेछु, र त्यो मेरो पासोमा पर्नेछ। म त्यसलाई कल्दीहरूको देश बेबिलोनियामा ल्याउनेछु, तर त्यसले त्यो देख्नेछैन, र त्यो त्यहीँ मर्नेछ। #२ राज २५:७; यर ५२:११ 14त्यसका चारैतिर हुने त्यसका कर्मचारीहरू र त्यसका फौजलाई म हावामा तितरबितर पार्नेछु, र तरवार थुतेर तिनीहरूलाई खेद्नेछु।
15“जब जाति-जातिहरूका बीचमा म तिनीहरूलाई यत्रतत्र पार्नेछु र देश-देशमा तितरबितर पार्नेछु, तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन्। 16तर म तिनीहरूमध्येका थोरैलाई तरवार, अनिकाल र रूढ़ीबाट छोड़िदिनेछु, ताकि जहाँ तिनीहरू जानेछन्, त्यहाँका जाति-जातिहरूका बीचमा आफ्ना घिनलाग्दा व्यवहारहरू तिनीहरूले स्वीकार गरून्। तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन्।”
17फेरि परमप्रभुको यो वचन मकहाँ आयो: 18“हे मानिसको छोरो, तैंले आफ्नो भोजन खाँदा काम्, र आफ्नो पानी पिउँदा डरले थरथरा। 19देशका मानिसहरूलाई भन्: ‘यरूशलेम र इस्राएलको देशमा बस्नेहरूका बारे परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: तिनीहरूले आफ्नो भोजन डर मानेर खानेछन्, र नैराश्यमा तिनीहरूले आफ्नो पानी पिउनेछन्, किनकि त्यहाँ बस्नेहरूका उपद्रवको कारणले त्यसमा भएका सबै कुराहरूसमेत तिनीहरूको देश उजाड़ पारिनेछ। 20मानिसहरू बसेका नगरहरू भत्काइनेछन्, र देश नष्ट हुनेछ। तब म नै परमप्रभु हुँ भन्ने तिमीहरूले जान्नेछौ’।”
21फेरि परमप्रभुको यो वचन मकहाँ आयो: 22“हे मानिसको छोरो, ‘दिन बित्दैजान्छ, र पनि दर्शन भने कुनै पूरा हुँदैन’ भन्ने तिमीहरूको देश इस्राएलमा चल्दैआएको यो उखान के हो? 23यसकारण तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: म यस उखानको अन्त गरिदिनेछु, र तिनीहरूले इस्राएलमा फेरि कहिल्यै यो उखान प्रयोग गर्नेछैनन्।’ तिनीहरूलाई भन्, ‘दिनहरू नजिकै छन्, जब हरेक दर्शन पूरा हुनेछ। 24किनकि अब फेरि कहिल्यै इस्राएलका मानिसहरूका बीचमा झूटा दर्शन र जोखना हेर्ने हुनेछैनन्। 25तर मैले भन्ने कुरा म, परमप्रभु आफैले नै भन्नेछु, र त्यो ढिलो नभई पूरा हुनेछ। किनकि हे बागी घराना, तिमीहरूका दिनमा नै मैले भनेको कुरा म पूरा गर्नेछु, परमप्रभु परमेश्वर भन्नुहुन्छ’।”
26तब परमप्रभुको यो वचन मकहाँ आयो: 27“हे मानिसको छोरो, इस्राएलका घराना यसो भन्दैछ, ‘त्यसले देखेको दर्शन धेरै वर्षपछि मात्र पूरा हुनेछ, र त्यसले धेरै समयपछिका कुराहरूको अगमवचन कहन्छ।”
28“यसैकारण तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: मैले भनेको एउटै कुरा पनि अब ढिलो हुनेछैन, तर जे कुरा म भन्दछु, सो पूरा हुने नै छ, परमप्रभु परमेश्वर भन्नुहुन्छ।
अहिले सेलेक्ट गरिएको:
इजकिएल 12: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012