“जब परमप्रभुले तिमीहरू र तिमीहरूका पिता-पुर्खासित शपथ खाएर प्रतिज्ञा गर्नुभएबमोजिम कनानीहरूको देशमा तिमीहरूलाई पुर्याएर त्यो देश तिमीहरूलाई दिनुहुनेछ, तब हरेक गर्भको प्रथम फल परमप्रभुलाई दिनू। तिमीहरूका पशुहरूबाट पहिले बियाएका सबै नरहरूचाहिँ परमप्रभुको निम्ति हुनेछन्। पहिले बियाएको बछेड़ोलाई एउटा पाठो दिएर छुटाउनू, तर त्यो छुटाएनौ भने त्यसको घाँटी भाँचिदिनू। आफ्ना छोराहरूमध्ये जेठालाई छुटाउनू। “जब भविष्यमा तिमीहरूको छोराहरूले तिमीहरूलाई यो के हो भनी सोध्नेछ, तब तिमीहरूले त्यसलाई भन्नू, परमप्रभुले हामीलाई दासत्वको देश, मिश्रबाट आफ्नो शक्तिशाली बाहुलीले निकालेर ल्याउनुभयो। जब फारोले कठोर भएर हामीलाई जान दिएनन्, तब परमप्रभुले मिश्रमा सबै मानिस र पशु दुवैका पहिले जन्मेकालाई मार्नुभयो। यसैकारण हरेक गर्भको पहिलो बियाएको पाठालाई परमप्रभुको निम्ति बलिदान गर्दछु, र मेरा छोराहरूमध्येका जेठालाई चाहिँ छुटाउँछु। यो परमप्रभुले हामीलाई आफ्नो शक्तिशाली बाहुलीले मिश्रबाट निकालेर ल्याउनुभएको हो भनी तिमीहरूका निम्ति हातमा भएको एउटा चिन्ह र निधारमा भएको एउटा सङ्केत हुनेछ।” जब फारोले ती मानिसहरूलाई जान दिए, तब पलिश्तीहरूका देशको बाटो छोटो भए तापनि परमेश्वरले तिनीहरूलाई त्यो बाटो भएर ल्याउनुभएन। किनकि परमेश्वरले भन्नुभयो, “यी मानिसहरू लड़ाइँ देखेर पछुतो गर्लान् र मिश्रमा नै फर्की जालान्।” यसकारण परमेश्वरले तिनीहरूलाई घुमाएर उजाड़-स्थानको बाटो भएर लाल समुद्रतिर लानुभयो। युद्धको लागि इस्राएलीहरू सशस्त्र भई मिश्रबाट हिँड़े। मोशाले योसेफका अस्थिहरू साथमा लगे, किनकि तिनले इस्राएलीहरूलाई यस कुरामा यसो भनेर शपथ खान लाएका थिए, “परमेश्वरले अवश्य तिमीहरूको हेर-विचार गर्नुहुनेछ। त्यस बेला तिमीहरूले मेरा अस्थिहरू यहाँबाट लैजानू।” तिनीहरू सुक्कोतबाट गएपछि, उजाड़-स्थानको नजिकै एथाममा डेरा बनाएर वास बसे। अनि तिनीहरू रातदिन हिँड्न सकून् भनेर तिनीहरूलाई बाटो देखाउनका निम्ति परमप्रभु दिनमा बादलको खामो र राती आगोको खामोमा तिनीहरूको अगिअगि जानुहुन्थ्यो। दिनमा बादलको खामो र राती आगोको खामो मानिसहरूका अगिअगि जान कहिल्यै छोड़ेन।
प्रस्थान 13 पढ्नुहोस्
सुन्नुहोस् प्रस्थान 13
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 13:11-22
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू