व्यवस्था 6
6
आज्ञाकारी हुनलाई मोशाको अर्ती
1तिमीहरूले यर्दन पारी गई अधिकार गर्न लागेको देशमा पालन गर्न भनी परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सिकाउन मलाई हुकुम गर्नुभएका आज्ञा, विधि र विधान यी नै हुन्। 2सम्पूर्ण जीवनभरि परमप्रभु तिमीहरूका परमेश्वरको भय मानेर तिमीहरू र तिमीहरूका छोराछोरी र नातिनातिनाले उहाँका सबै विधि र आज्ञाहरू पालन गर्नू, कि तिमीहरूको आयु लामो होस्। 3हे इस्राएली हो, यी सबै पालन गर, ताकि तिमीहरूको भलो होस्, र परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ दूध र मह बग्ने देशमा तिमीहरूको खूब वृद्धि पनि होस्।
4हे इस्राएल, सुन, परमप्रभु हाम्रा परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ। #मर्क १२:२९ 5तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा शक्तिले प्रेम गर। #मत्ती २२:३७; मर्क १२:३०; लूक १०:२७ 6मैले आज तिमीहरूलाई सुनाएका आज्ञाहरू आफ्नो मनमा राख। #व्य ११:१८-२० 7ती तिमीहरूले आफ्ना छोराछोरीहरूलाई होशियारीसाथ सिकाओ। घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्केर सुत्दा र उठ्दा तिनको चर्चा गर। 8ती आफ्ना हातमा चिन्हको लागि कसिराख। ती तिमीहरूको निधारमा बाँधिराख। 9ती आफ्ना घरका द्वारको चौकोस र मूल ढोकाहरूमा लेख।
10जब परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूका पिता-पुर्खा अब्राहाम, इसहाक र याकूबसँग तिमीहरूलाई दिनेछु भनी प्रतिज्ञा गर्नुभएको देशमा पुर्याउनुहुनेछ— तिमीहरूले नबनाएका ठूला-ठूला र राम्रा-राम्रा सहरहरू भएको देशमा, #उत १२:७; २६:३; २८:१३ 11जहाँ तिमीहरूले नजुटाएका उत्तम थोकहरूले भरिभराउ भएका घरहरू हुनेछन्, र तिमीहरूले नखनेका इनारहरू र नरोपेका दाख र भद्राक्षबारीहरू हुनेछन्— जब तिमीहरूले खाएर अघाउनेछौ, 12तब होशियार गर, र तिमीहरूलाई दासत्वको देश मिश्रबाट निकाली ल्याउनु हुने परमेश्वरलाई नभुल्नू।
13तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरकै डर मान्नू, उहाँकै सेवा गर्नू र उहाँकै नाउँमा शपथ खानू। #मत्ती ४:१०; लूक ४:८ 14तिमीहरूका वरिपरिका जातिहरूका अरू देवताहरूका पछि नलाग्नू, 15किनकि तिमीहरूका बीचमा रहनुहुने परमप्रभु तिमीहरूका परमेश्वर डाही परमेश्वर हुनुहुन्छ। नत्रता परमप्रभु तिमीहरूका परमेश्वरको क्रोध तिमीहरूमाथि दन्कनेछ, र उहाँले तिमीहरूलाई पृथ्वीबाट नाश गर्नुहुनेछ। 16मस्साहमा झैँ तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको परीक्षा नगर। #प्रस १७:१-७; मत्ती ४:७; लूक ४:१२ 17परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरू र उहाँले तिमीहरूलाई दिनुभएका नियम र विधिहरू होशियारीसाथ मान। 18परमप्रभुको दृष्टिमा जुन-जुन कुरा ठीक र असल छन् त्यही गर, ताकि तिमीहरूको कल्याण होस्, र तिमीहरूका पिता-पुर्खासँग परमप्रभुले शपथ खाएर प्रतिज्ञा गर्नुभएको त्यो असल देश तिमीहरूले कब्जा गर, 19र परमप्रभुले भन्नुभएझैँ तिमीहरूले आफ्ना सबै शत्रुहरूलाई तिमीहरूका सामुन्नेबाट धपाओ।
20भविष्यमा जब तिम्रो छोराले “परमप्रभु हाम्रा परमेश्वरले दिनुभएका यी नियम र विधिविधानहरूको अर्थ के हो?” भनी सोध्ला, 21तब तिमीहरूले त्यसलाई भन्नू: “हामीहरू मिश्रमा फारोका कमारा थियौं, र परमप्रभुले हामीलाई मिश्रबाट आफ्नो बाहुबलले निकाली ल्याउनुभयो। 22परमप्रभुले हाम्रा आँखाकै सामुन्ने मिश्रीहरू, फारो र उनका सबै घरानामाथि अत्यन्तै भयानक अचम्मका चिन्ह र आश्चर्य कामहरू देखाउनुभयो। 23हाम्रा पिता-पुर्खाहरूसँग शपथ खाएर दिनेछु भनी प्रतिज्ञा गर्नुभएको देशमा ल्याउन उहाँले हामीलाई त्यहाँबाट निकाल्नुभयो। 24परमप्रभुले नै हामीलाई यी सबै विधि पालन गर्ने र परमप्रभु हाम्रा परमेश्वरको भय मान्ने आदेश दिनुभएको हो, ताकि हाम्रो निरन्तर हित होस्, र आज पर्यन्तझैँ हाम्रो जीवनको पनि रक्षा होस्। 25उहाँका आदेशबमोजिम उहाँको दृष्टिमा परमप्रभु हाम्रा परमेश्वरका यस सारा व्यवस्था पालन गर्न हामी होशियार भयौं भने, त्यही नै हाम्रो धार्मिकता हुनेछ।”
अहिले सेलेक्ट गरिएको:
व्यवस्था 6: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012