“उठ, यात्रा सुरु गर, र अर्नोन खोला पारि जाओ। हेर, मैले हेश्बोनको राजा एमोरी सीहोन र त्यसको देश तिमीहरूका हातमा दिएको छु। त्यो अधिकार गर्न सुरु गर र त्यससित युद्ध गर। आजको दिन सारा आकाशमुनि भएका जातिहरूमाथि तिमीहरूको डर र भय म हालिदिनेछु। उनीहरू तिमीहरूका विषयमा सुनेर थरथर काम्नेछन्, र विचलित हुनेछन्।” कदेमोतको उजाड़-स्थानबाट हेश्बोनका राजा सीहोनकहाँ शान्तिको प्रस्तावसहित मैले दूतहरूलाई यसो भनेर पठाएँ, “हामीलाई तपाईंको राज्यबाट भएर जान दिनुहोस्। हामी बाटै-बाटो मात्र जानेछौं। हामी देब्रे-दाहिने लाग्नेछैनौं। खानलाई भोजन र पिउनलाई पानी हामीलाई चाँदीको पैसामा बेच्नुहोस्। खालि तपाईंको देशबाट भएर हामीलाई पैदल जान दिनुहोस्— जसरी सेइरमा बस्ने एसावका सन्तान र आरमा बस्ने मोआबीहरूले हाम्रा निम्ति गरेथे— जबसम्म परमप्रभु हाम्रा परमेश्वरले हामीलाई दिनुहुने देशमा पुग्नलाई हामी यर्दन पार गर्दैनौं।” तर हेश्बोनका राजा सीहोनले हामीलाई जान दिएनन्, किनकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका हातमा दिनलाई उनको मन कठोर र उनको हृदय हठी बनाउनुभएको थियो। अनि आजको दिनसम्म त्यो तिमीहरूकै हातमा छ। अनि परमप्रभुले मलाई भन्नुभयो, “सीहोन र त्यसको देश अब म तिमीहरूलाई दिनेछु। त्यसको देश अधिकार र कब्जा गर्न सुरु गर।” जब सीहोन उनका सबै फौजसमेत यहसा भन्ने ठाउँमा हामीसँग लड्न आए, तब परमप्रभु हाम्रा परमेश्वरले उनलाई हाम्रा हातमा सुम्पिदिनुभयो, र उनलाई, उनका छोराहरूलाई र उनका सबै मानिसहरूलाई हामीले मार्यौं। त्यस बेला हामीले उनका सबै सहरहरू लियौं, अनि स्त्रीहरू र बालबच्चाहरूलाई समेत मानिसहरू बसेको प्रत्येक सहरलाई पूर्ण रूपले नाश पार्यौं। हामीले कसैलाई पनि छोड़ेनौं। हामीले कब्जा गरेका सहरहरूका धनमाल र गाईबस्तु मात्र हामीले आफ्नो निम्ति जीतका माल स्वरूप लियौं। अर्नोन खोलाको छेउमा भएको अरोएरदेखि र खोलाको किनारमा भएको सहरदेखि गिलादसम्म हामीले लिन नसक्ने शक्तिशाली सहर कुनै थिएन। परमप्रभु हाम्रा परमेश्वरले सबै हाम्रा हातमा सुम्पिदिनुभयो। केवल अम्मोनीहरूका सन्तानका देशको छेउमा, यब्बोक नदीका सबै किनारहरूका जग्गामा र पहाड़ी देशका सहरहरू परमप्रभु हाम्रा परमेश्वरले आज्ञा गर्नुभएअनुसार तिमीहरू आएनौ।
व्यवस्था 2 पढ्नुहोस्
सुन्नुहोस् व्यवस्था 2
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: व्यवस्था 2:24-37
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू