YouVersion लोगो
खोज आइकन

२ राजाहरू 18:26-37

२ राजाहरू 18:26-37 NNRV

तब हिल्‍कियाहका छोरा एल्‍याकीम, शेब्‍ना र योआले ती रणभूमिका सेनापतिलाई भने, “कृपा गरी तपाईंका दासहरूसित आरमेइक भाषामा बोल्‍नुहोस्, किनभने त्‍यो भाषा हामी बुझ्‍छौं। पर्खालमा भएका मानिसहरूले सुन्‍ने गरी हिब्रू भाषामा नबोल्‍नुहोस्‌।” तर सेनापतिले जवाफ दिए, “के तिमीहरूका मालिक र तिमीहरूलाई मात्र यो कुरा भन्‍न मेरा मालिकले मलाई पठाउनुभएको हो र? के पर्खालमा बस्‍ने यी मानिसहरूलाई पनि होइन र? तिमीहरूले जस्‍तै तिनीहरूले आफ्‍नै मलमूत्र खानुपर्नेछ।” तब ती सेनापति खड़ा भएर हिब्रू भाषामा कराएर भने, “महाराजाधिराज अश्‍शूरका राजाको वचन सुन। राजा यसो भन्‍नुहुन्‍छ: हिजकियाले तिमीहरूलाई धोका नदेओस्‌। मेरो हातबाट त्‍यसले तिमीहरूलाई छुटाउन सक्‍दैन। ‘परमप्रभुले निश्‍चय नै हामीहरूलाई छुटकारा दिनुहुनेछ, र यो सहर अश्‍शूरका राजाको हातमा सुम्‍पिदिइनेछैन’ भनी तिमीहरूलाई परमप्रभुमाथि भरोसा गर्न हिजकियाले खुरन्‍धार नलागोस्‌। “हिजकियाको कुरा नसुन। अश्‍शूरका राजा यसो भन्‍नुहुन्‍छ: “मसित सन्‍धि गर, र मकहाँ बाहिर निस्‍किआओ। तब तिमीहरू हरेकले आ-आफ्‍नो लहराको फल र नेभाराको फल खानेछौ, र आफ्‍नै कूवाको पानी पिउनेछौ, जबसम्‍म तिमीहरूलाई अनाज र नयाँ दाखमद्य, अन्‍न र दाखबारी, भद्राक्षका रूखहरू र मह भएको देश, तिमीहरूको आफ्‍नै देशजस्‍तो एउटा देशमा म आएर लानेछैनँ। मृत्‍युको सट्टा जीवन चुन! “हिजकियाको कुरा नसुन। ‘परमप्रभुले हामीहरूलाई बचाउनुहुनेछ’ भनी त्‍यसले त तिमीहरूलाई धोका दिँदैछ। के कुनै जातिको देवताले आफ्‍नो देशलाई अश्‍शूरका राजाको हातबाट बचाउन सकेको छ र? हमात र अर्पादका देवताहरू कता गए? सपर्बेम, हेना र इव्‍वाका देवताहरू खोइ त? के तिनीहरूले सामरियालाई मेरो हातबाट बचाए त? के यी देशहरूका सबै देवताहरूमध्‍ये कसैले आफ्‍नो देशलाई मेरो हातबाट बचाउन सकेको छ? परमप्रभुले यरूशलेमलाई मेरो हातबाट कसरी बचाउन सक्‍छ र?” तर मानिसहरू सबै चूपचाप बसे र जवाफमा केही पनि भनेनन्, किनभने राजाले यस्‍तो हुकुम दिनुभएको थियो, “उनलाई जवाफ नदिनू।” तब राजमहलका सञ्‍चालक हिल्‍कियाहका छोरा एल्‍याकीम, सचिव शेब्‍ना र आसापका छोरा लेखापाल योआले आ-आफ्‍ना लुगा च्‍याते, र हिजकिया राजाकहाँ आएर रणभूमिका सेनापतिले भनेका कुरा सुनाइदिए।