२ इतिहास 4
4
मन्दिरका सजाउने सामानहरू
1तिनले बीस हात लामो, बीस हात चौड़ा र दश हात अल्गो काँसाको एउटा वेदी बनाए। #प्रस २७:१-२ 2तिनले ढालेर बनाइएको धातुको एउटा गोलाकार विशाल खड्कुँलो पनि बनाए। त्यसको बिट एक किनारदेखि अर्को किनारसम्म दश हात थियो, र त्यो पाँच हात अल्गो थियो। त्यसको वरिपरि फेरो नाप्नलाई तीस हातको नाप्ने फित्ता चाहिन्थ्यो। #१ राज ७:२३-५१ 3खड्कुँलोको चारैतिर बाहिरपट्टि बिटमुनि साँढ़ेहरू, एक हातमा दश वटा, दुई लहरमा थिए। खड्कुँलो र साँढ़ेहरू एउटै टुक्रा धातुबाट बनाइएका थिए।
4त्यो खड्कुँलो बाह्र वटा साँढ़ेहरूमाथि बसालिएको थियो— तीन वटा उत्तरतिर फर्केका, तीन वटा पश्चिमतिर फर्केका, तीन वटा दक्षिणतिर फर्केका र तीन वटा पूर्वतिर फर्केका थिए। तिनीहरूका पछाड़िका भागचाहिँ भित्रपट्टि फर्केका थिए। त्यो खड्कुँलोचाहिँ तिनैमाथि बसालिएको थियो। 5त्यसको मोटाई चार अङ्गुल थियो। त्यसको बिट कचौराको बिटजस्तो फक्रेको लिली फूलजस्तै थियो। त्यसमा प्राय: छयसट्ठी हजार लिटर पानी अटाउँथ्यो।
6तिनले दश वटा स्नान-भाँड़ाहरू पनि बनाए। ती तिनले पाँच वटा दक्षिणपट्टि र पाँच वटा उत्तरपट्टि राखे। यिनैमा तिनीहरूले होमबलिका सबै चीजहरू धुन्थे। खड्कुँलोचाहिँ पूजाहारीहरूले नुहाउनलाई प्रयोग गर्थे। #प्रस ३०:१७-२१
7तिनले तोकिएबमोजिम दश वटा सुनका सामदान बनाए। ती तिनले मन्दिरमा राखे— पाँच वटा दक्षिणपट्टि र पाँच वटा उत्तरपट्टि। #प्रस २५:३१-४०
8तिनले दश वटा टेबिलहरू पनि बनाएर मन्दिरमा राखे— पाँच वटा दक्षिणपट्टि र पाँच वटा उत्तरपट्टि। तिनले एक सय वटा सुनका छर्कने बाटाहरू बनाए। #प्रस २५:२३-३०
9तिनले पूजाहारीहरूको चोक, र ठूलो चोक र त्यसका ढोकाहरू बनाए, अनि ढोकाहरू काँसाले मोहोरे। 10त्यो विशाल खड्कुँलोचाहिँ तिनले दक्षिणपट्टि, अर्थात् मन्दिरको दक्षिण-पूर्व कुनामा राखे।
11तिनले भाँड़ा, बेल्चा र छर्कने बाटाहरू पनि बनाए।
यसरी हुरामले परमेश्वरको मन्दिरमा सोलोमन राजाको निम्ति आफूले जिम्मा लिएको काम सिद्ध्याए:
12दुई स्तम्भहरू, स्तम्भका टुप्पामा कचौराको आकारका दुई स्तम्भ-शिरा, स्तम्भमाथि स्तम्भ-शिराहरू सजाउने दुई बुट्टादार र जालीहरू,
13दुई जालीहरूका निम्ति चार सय दारिमहरू (दुई स्तम्भहरूका कचौराको आकार भएका स्तम्भ-शिरालाई ढाक्ने प्रत्येक जालीको निम्ति दुई लहर दारिमहरू),
14ठेला-गाड़ीहरू, तिनका बाटाहरूसमेत,
15एउटा विशाल खड्कुँलो र त्यसको मुन्तिर बाह्र वटा साँढ़ेहरू,
16भाँड़ाहरू, बेल्चाहरू, मासु उठाउने काँटाहरू र अरू सम्बन्धित सामानहरू।
हुराम-अब्बीले परमेश्वरका मन्दिरको निम्ति सोलोमनका लागि बनाएका यी सबै थोक टल्काइएका काँसाका थिए। 17राजाले ती यर्दन नदीको मैदानमा सुक्कोत र सार्तानको बीचमा साँचाहरूमा ढालेर बनाउन लगाएका थिए। 18यी सबै थोक सोलोमनले यति धेरै संख्यामा बनाएका थिए, कि त्यसमा लागेको काँसाका ओजनको हिसाबै थिएन।
19सोलोमनले परमेश्वरको मन्दिरका सबै सजाउने सामग्रीहरू पनि बनाए:
सुनको वेदी, उपस्थितिको रोटी राखिने टेबिलहरू,
20कञ्चन सुनका सामदानहरू, जसका बत्तीहरू विधिपूर्वक भित्री पवित्रस्थानमा बालिन्थे,
21फूलको आकारका सुनका बुट्टाहरू, बत्तीहरू र असल सुनका चिम्टाहरू,
22कञ्चन सुनका सलेदाका चिम्टाहरू, बाटाहरू, कचौराहरू र धुपौराहरू, अनि मन्दिरका सुनका ढोकाहरू र महा-पवित्रस्थानमा पस्ने भित्रका ढोकाहरू र मुख्य खण्डका ढोकाहरू।
अहिले सेलेक्ट गरिएको:
२ इतिहास 4: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012