१ राजाहरू 4
4
सोलोमनका अधिकारी र राज्यपालहरू
1यसरी सोलोमन राजाले सारा इस्राएलमाथि राज्य गरे। 2तिनका मुख्य-मुख्य अधिकारीहरू यी नै हुन्:
सादोकका छोरा अजर्याह— पूजाहारी,
3शीशाका छोरा, एलीहोरेफ र अहियाह— सचिवहरू, अहीलूदका छोरा यहोशापात— लेखापाल,
4यहोयादाका छोरा बनायाह— मुख्य सेनापति, सादोक र अबियाथार— पूजाहारीहरू,
5नातानका छोरा अजर्याह— जिल्ला-जिल्लाका अधिकृतहरूमाथिका जिम्मावाल, नातानका छोरा जाबूद— पूजाहारी र राजाका व्यक्तिगत सल्लाहकार,
6अहीशार— राजमहलका जिम्मावाल, अब्दाका छोरा अदोनीराम— बेगार काम गर्नेहरूका जिम्मावाल।
7सारा इस्राएलमाथि सोलोमनका बाह्र जना जिल्ला-जिल्लाका जिल्लापालहरू थिए, जसले राजा तथा राजघरानालाई खानेकुरा जुटाउँथे। प्रत्येकले वर्षमा एक-एक महिनाको खानेकुरा जुटाउनुपर्थ्यो।
8तिनीहरूका नाउँ यी नै हुन्:
एफ्राइमका पहाड़ी देशमा— बेन-हूर।
9माकाज, शाल्बीम, बेथ-शेमेश र
एलोन-बेथहानानमा— बेन-देकेर,
10अरूब्बोतमा— बेन-हेसेद (तिनको जिम्मामा सोको र हेपेरको सबै देश थिए।),
11डोरको लेकमा— बेन-अबीनादाब, (सोलोमनकी छोरी ताफातलाई तिनले विवाह गरेका थिए),
12तानाक र मगिद्दो र यिजरेलमुनिका सार्तानको छेउमा भएको सारा बेथ-शान, हाबिल-महोला र योक्मामसम्ममा— अहीलूदका छोरा बाना,
13रामोत-गिलादमा— बेन-गेबेर (जसको जिम्मामा गिलादमा भएका मनश्शेका छोरा याईरका बस्तीहरू र बाशानमा भएको अर्गोबको जिल्ला अनि मूल ढोकामा काँसाका बार भएका पर्खालले घेरेका साठी वटा ठूला-ठूला सहरहरू पनि थिए),
14महनोममा— इद्दोका छोरा अहीनादाब।
15नप्तालीमा— अहीमास। (तिनले सोलोमनकी छोरी बासमतलाई विवाह गरेका थिए),
16आशेर र आलोतमा— हूशैका छोरा बाना,
17इस्साखारमा— पारूहका छोरा यहोशापात,
18बेन्यामीनमा— एलाका छोरा शिमी,
19गिलादमा— ऊरीका छोरा गेबेर (एमोरीहरूका राजा सीहोन र बाशानका राजा ओगको देश)। तिनी त्यस जिल्लाका एक जना मात्र जिल्लापाल थिए।
सोलोमनका दैनिक खूराक
20यहूदा र इस्राएलका मानिसहरू समुद्रका बालुवाझैँ असंख्य थिए। तिनीहरू खान्थे, पिउँथे र सुखसित रहन्थे। 21यूफ्रेटिस नदीदेखि पलिश्तीहरूको देश र मिश्रको सिमानासम्मैका सबै राज्यहरूमाथि सोलोमनले शासन गर्थे। ती देशहरूले तिनलाई कर तिर्थे र तिनको सारा जीवनकालभरि नै उनीहरू तिनका प्रजा भएर बसे। #उत १५:१८; २ इति ९:२६
22सोलोमनको दिनदिनको खूराक पचहत्तर मुरी मसिनो पीठो र एक सय पचास मुरी अन्न, 23गोठमा पालेका दश वटा गाई-गोरुहरू, खर्कमा पालेका बीस वटा गाई-गोरुहरू, एक सय भेड़ा र बाख्रा, अनि मृग, हरिण, बराँठ र कुखुराहरू थिए। 24किनकि तिनले यूफ्रेटिस नदीको पश्चिमपट्टिका सबै देश, अर्थात् तिफसादेखि गाजासम्म राज्य गर्थे। 25सोलोमनको जीवनकालभरि नै दानदेखि बेर्शेबासम्मै यहूदा र इस्राएल शान्तिसित रहन्थे, हरेक मानिस आ-आफ्नै दाख र नेभाराको बोटमुनि सुरक्षितसाथ रहन्थ्यो।
26सोलोमनका चार हजार रथका घोड़ाहरूका लागि तबेलाहरू र बाह्र हजार घोड़ाहरू थिए। #१ राज १०:२६; २ इति १:१४; ९:२५
27जिल्ला-जिल्लाका अधिकृतहरूले हरेक महिना पालैपालो सोलोमन र तिनका टेबिलमा बसेर खानेहरू सबैका निम्ति खानेकुरा जुटाउँथे। यसरी ल्याउँदा केही कुराको घटी नहोस् भनी तिनीहरूले हेर-विचार गर्थे। 28रथका घोड़ाहरू र अरू घोड़ाहरूका निम्ति पनि तिनीहरूले तोकिएका आ-आफ्ना जौ र परालका हिस्सा ल्याउँथे।
सोलोमनको ज्ञान
29परमेश्वरले सोलोमनलाई बुद्धि र अति अन्तर्दृष्टि र समुद्रको बालुवाजत्तिकै अनगिन्ती समझशक्ति दिनुभयो। 30सोलोमनको बुद्धि पूर्वका सबै मानिसहरू र मिश्रदेशका सबै मानिसहरूको बुद्धिभन्दा ज्यादै बढ़ी थियो। 31तिनी अरू सबै मानिसहरूभन्दा बुद्धिमान् थिए— एज्री एतान, अनि माहोलका छोराहरू हेमान, कलकोल र दर्दाभन्दा पनि तिनी बढ़ी बुद्धिमान् थिए। अनि तिनको ख्याति वरिपरिका सबै जाति-जातिहरूका बीचमा फैलियो। #भज ८९ 32तिनले तीन हजार हितोपदेश रचे, र तिनका गीतहरूको संख्या एक हजार पाँच वटा थियो। #हितो १:१; १०:१; २५:१; श्रेष्ठ १:१ 33तिनले रूखहरूका जीवनको विषयमा, लेबनानका देवदारुदेखि लिएर भित्तामा उम्रने हिसपसम्मका वर्णन गरे। तिनले पशुहरू, पक्षीहरू, घस्रने जन्तुहरू र माछाहरूका विषयमा पनि सिकाए। 34सोलोमनका बुद्धिको बारे थाहा पाएका संसारका सबै राजाहरूबाट पठाइएका सबै जातिका मानिसहरू तिनको बुद्धि सुन्न तिनीकहाँ आउँथे।
अहिले सेलेक्ट गरिएको:
१ राजाहरू 4: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012