भाइ हो, मैले तिमीहरूलाई प्रचार गरेको सुसमाचार म तिमीहरूलाई याद दिलाउन चाहन्छु, जुन सुसमाचार तिमीहरूले ग्रहण गर्यौ, र जसमा तिमीहरू स्थिर रहन्छौ। यस सुसमाचारद्वारा तिमीहरूको उद्धार भएको छ, यदि त्यसमा तिमीहरू अटल रह्यौ भने, नत्रता तिमीहरूले व्यर्थैमा विश्वास गर्यौ। किनभने मैले जे पाएँ त्यसैलाई सबैभन्दा मुख्य विषयको रूपमा तिमीहरूलाई सुम्पिदिएँ, अर्थात् पवित्र धर्मशास्त्रअनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो। उहाँ गाडिनुभयो, र पवित्र धर्मशास्त्रअनुसार तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो। उहाँ केफासकहाँ, अनि बाह्रै जनाकहाँ देखा पर्नुभयो। त्यसपछि उहाँ एकै समयमा पाँच सयभन्दा बढ़ी भाइहरूकहाँ एकसाथ देखा पर्नुभयो, जसमध्ये धेरैजसो अहिलेसम्म छँदैछन् तर कोही-कोही सुतिसकेका छन्। त्यसपछि याकूब र सबै प्रेरितहरूकहाँ उहाँ देखा पर्नुभयो। सबैभन्दा अन्त्यमा असमयमा जन्मेको मानिसकहाँ जस्तो मकहाँ पनि उहाँ देखा पर्नुभयो। किनकि प्रेरितहरूमध्ये म सबैभन्दा तुच्छ हुँ। म प्रेरित भनिन योग्य छैनँ। किनभने मैले परमेश्वरको मण्डलीलाई खेदो गरें। तर म जो छु, त्यो परमेश्वरको अनुग्रहले छु, र ममाथि भएको उहाँको अनुग्रह व्यर्थ भएन। बरु मैले त तिनीहरू सबैले भन्दा बढ़ी परिश्रम गरें। तैपनि मैले होइनँ, मसँग भएका परमेश्वरको अनुग्रहले हो। यसकारण मैले भए पनि अथवा तिनीहरूले भए पनि, हामी जो प्रचार गर्दछौं, सो तिमीहरूले विश्वास गरेका छौ। मृतकहरूबाट ख्रीष्ट पुनरुत्थान हुनुभयो भनी प्रचार गरिन्छ भने कसरी तिमीहरूमध्ये कसै-कसैले मृतकको पुनरुत्थान हुँदैन भनी भन्न सक्छौ? तर यदि मृतकहरूको पुनरुत्थान हुँदैन भनेता ख्रीष्ट पनि मृतकबाट पुनर्जीवित पारिनुभएको होइन। यदि ख्रीष्ट मृतकबाट पुनर्जीवित पारिनुभएको होइन भनेता हाम्रो प्रचार व्यर्थ हुन्छ, र तिमीहरूको विश्वास पनि व्यर्थ हुन्छ। त्यसभन्दा बढ़ी हामी परमेश्वरको बारे झूटा साक्षीहरू ठहरिन्छौं, किनकि उहाँले ख्रीष्टलाई मृतकबाट पुनर्जीवित पार्नुभयो भनी हामीले परमेश्वरको बारे गवाही दिएका छौं। तर साँच्चै मृतकहरूको पुनरुत्थान हुँदैन भने उहाँले ख्रीष्टलाई पुनर्जीवित पार्नुभएन। किनकि यदि मृतकहरूको पुनरुत्थान नहुने भए ता ख्रीष्ट पनि मृतकबाट जीवित पारिनुभएन। ख्रीष्ट पुनर्जीवित पारिनुभएन भने तिमीहरूको विश्वास व्यर्थ छ, र तिमीहरू अझसम्म आफ्ना पापमा नै छौ। तब त ख्रीष्टमा सुतिगएकाहरू पनि नष्ट भएका छन्। यदि यस जीवनको लागि मात्र ख्रीष्टमा हामीले आशा राखेका हौं भने हामी सबै मानिसहरूभन्दा बढ़ी दयनीय हुन्छौं।
१ कोरिन्थी 15 पढ्नुहोस्
सुन्नुहोस् १ कोरिन्थी 15
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ कोरिन्थी 15:1-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू