YouVersion लोगो
खोज आइकन

१ कोरिन्थी 10:1-10

१ कोरिन्थी 10:1-10 NNRV

भाइ हो, तिमीहरूले यो कुरा जान भनी म चाहन्‍छु, कि हाम्रा पुर्खाहरू सब बादलमुनि थिए, र सबै समुद्रको बीचबाट भएर गए। अनि मोशामा तिनीहरू सबैले बादल र समुद्रमा बप्‍तिस्‍मा पाएका थिए। सबैले एउटै आत्‍मिक भोजन खाए। सबैले आत्‍मिक पानी पिए, किनकि तिनीहरूका साथसाथै हिँड्‌ने आत्‍मिक चट्टानको पानी तिनीहरूले पिए र त्‍यो चट्टानचाहिँ ख्रीष्‍ट नै हुनुहुन्‍थ्‍यो। तापनि तिनीहरूमध्‍ये धेरैजसोसँग परमेश्‍वर प्रसन्‍न हुनुभएन, र तिनीहरू मरुभूमिमा नष्‍ट भए। उनीहरूले जस्‍तै हामीले खराबीको इच्‍छा नगरौं भनी यी कुरा हाम्रो चेताउनीको लागि हुन्‌। तिनीहरूमध्‍ये कतिझैँ तिमीहरू मूर्तिपूजक नहोओ। जस्‍तो लेखिएको छ, “मानिसहरू खान र पिउनलाई बसे, अनि नाच्‍नलाई उठे।” हामी व्‍यभिचारमा फस्‍नुहुँदैन, जसरी तिनीहरूमध्‍ये कति जना फसे, र एकै दिनमा तेईस हजार मरेका थिए। हामीले प्रभुको परीक्षा गर्नुहुँदैन, जसरी तिनीहरूमध्‍ये कतिले गरे, र सर्पहरूद्वारा नष्‍ट भएका थिए। हामीले गनगन गर्नुहुँदैन, जसरी तिनीहरूमध्‍ये कतिले गरे, र विनाशकबाट नष्‍ट भएका थिए।