१ इतिहास 23
23
लेवीहरू
1जब दाऊद वृद्ध र धेरै उमेरका भए, तब तिनले आफ्ना छोरा सोलोमनलाई इस्राएलमाथि राजा बनाए। #१ राज १:१-४०
2तिनले इस्राएलका सबै कुलनायक, पूजाहारीहरू र लेवीहरूलाई भेला गराए। 3लेवीहरूमध्ये तीस वर्ष र त्यसभन्दा बढ़ी उमेरकाहरू गनिए। तिनीहरूका पुरुषहरू सबै जम्मा अठतीस हजार थिए। 4तिनीहरूमध्येका चौबीस हजारचाहिँ परमप्रभुका मन्दिरको कामको रेखदेख गर्न, छ हजार अधिकृत र न्यायकर्ताहरू, 5चार हजार द्वारपालहरू, र चार हजारचाहिँ दाऊदले दिएका बाजा बजाएर परमप्रभुको स्तुतिगान गर्न तिनले खटाइदिए।
6दाऊदले तिनीहरूलाई लेवीका छोराहरू गेर्शोन, कहात र मरारीका नाउँबमोजिम भाग-भाग गरी विभाजन गरे।
गेर्शोनीहरू
7गेर्शोनीहरूका सन्तान:
लादान र शिमी।
8लादानका छोराहरू:
जेठा छोरा यहीएल, जेताम र योएल— तीन जना।
9शिमीका छोराहरू:
शलोमोत, हजीएल र हारान— तीन जना। लादानका परिवारका मुखियाहरू यी नै थिए।
10अनि शिमीका छोराहरू:
यहत, जीजा, येऊश र बरीआ— चार जना।
11यहतचाहिँ जेठा थिए, दोस्रा जीजा, तर येऊश र बरीआका थोरै छोराछोरीहरू भएका हुनाले तिनीहरूलाई कामको निम्ति एकै परिवारमा गनिए।
कहातीहरू
12कहातका छोराहरू:
अम्राम, यिसहार, हेब्रोन र उज्जीएल चार जना। 13अम्रामका छोराहरू: #प्रस २८:१
हारून र मोशा। हारूनलाई चाहिँ अलग गरिएको थियो। तिनी र तिनका सन्तान सधैँको लागि अनि पवित्र कुराहरू अर्पण गर्न, परमप्रभुको सामु बलिदानहरू चढ़ाउन, र उहाँको सामु सेवा गर्न र उहाँको नाउँमा सधैँ आशीर्वाद दिन अलग गरिएका थिए।
14परमप्रभुका जन मोशाका छोराहरूचाहिँ लेवीकै कुलका कहलाइए।
15मोशाका छोराहरू:
गेर्शोम र एलीएजर।
16गेर्शोमका सन्तान:
शूबाएलचाहिँ जेठा थिए।
17एलीएजरका सन्तान:
रहब्याहचाहिँ जेठा थिए। एलीएजरका अरू छोराहरू थिएनन्, तर रहब्याहका छोराहरू औधी धेरै थिए।
18यिसहारका छोराहरू:
शलोमीतचाहिँ जेठा थिए।
19हेब्रोनका छोराहरू:
यरियाहचाहिँ जेठा, दोस्रा अमर्याह, तेस्रा यहासेल र चौथा यकमाम।
20उज्जीएलका छोराहरूमा:
मीकाचाहिँ जेठा र दोस्रा यिशियाह।
मरारीहरू
21मरारीका छोराहरू:
महली र मूशी।
महलीका छोराहरू:
एलाजार र कीश।
22एलाजार मर्दा तिनका छोरीहरू मात्र थिए, छोराहरू थिएनन्। यसैले तिनका दाजुभाइहरू, अर्थात् कीशका छोराहरूले तिनीहरूलाई विवाह गरे।
23मूशीका छोराहरू:
महली, एदेर र यरीमोत— तीन जना।
24सूचीमा परिवार-परिवारअनुसार लेखिएका लेवीका सन्तान, आ-आफ्ना परिवारका मुखियाहरू, बीस वर्ष र त्यसभन्दा बढ़ी उमेरकाहरू जसले परमप्रभुको मन्दिरमा सेवा गर्थे, तिनीहरू यस्तै थिए। 25किनभने दाऊदले भनेका थिए, “परमप्रभु इस्राएलका परमेश्वरले आफ्नो प्रजालाई शान्ति दिनुभएको छ, र यरूशलेममा सदासर्वदा उहाँ वास गर्न आउनुभएको छ। 26यसैकारण लेवीहरूले फेरि कहिल्यै पवित्र वासस्थान अथवा त्यसको सेवामा प्रयोग गरिने भाँड़ाहरू बोक्नुपर्नेछैन।” #व्य १०:८ 27दाऊदका यी नै पछिल्ला वचनद्वारा बीस वर्ष र त्यसभन्दा बढ़ी उमेरका लेवीहरू गनिए।
28लेवीहरूको काम परमप्रभुका मन्दिरको सेवामा हारूनका सन्तानहरूलाई सघाउनु थियो। चोक र कोठाहरूको रेखदेख गर्नु, सबै पवित्र थोकहरू शुद्ध पार्नु, परमेश्वरका भवनको सेवाको अरू काम गर्नु, #गन्ती ३:५-९ 29अनि टेबिलमा राखिएको रोटी मिलाउनु, अन्नबलिको पीठो, अखमिरी बाबर, पोलेका र तेलमा पकाएका फुरौला र ढक र तराजू तयार गर्नु— यी सबै कामको जिम्मा तिनीहरूको थियो। 30परमप्रभुलाई सधैँ बिहान र बेलुका, अनि शबाथ, औंसी र ठहराइएका चाड़हरूमा परमप्रभुको निम्ति होमबलि चढ़ाउने बेलामा 31तिनीहरू धन्यवाद दिने र स्तुति गर्ने काममा विधिपूर्वक र निरन्तर लागिरहनुपर्थ्यो।
32यसरी लेवीहरूले भेट हुने पाल र पवित्रस्थानको जिम्मा, अनि तिनीहरूका कुटुम्ब हारूनका सन्तानहरूको अधिकारमुनि परमप्रभुका मन्दिरको सेवाको जिम्मा लिनुपर्थ्यो।
अहिले सेलेक्ट गरिएको:
१ इतिहास 23: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012