YouVersion लोगो
खोज आइकन

१ इतिहास 11:1-9

१ इतिहास 11:1-9 NNRV

त्‍यसपछि सारा इस्राएल जम्‍मा भएर हेब्रोनमा दाऊदकहाँ आए। तिनीहरूले भने, “हामीहरू तपाईंकै हाड़नाता हौं। बितेका समयमा जब शाऊल अझै राजा नै थिए, तब तपाईंले नै इस्राएलको सेनालाई युद्धमा अगि बढ़ाउनुभयो। अनि परमप्रभु तपाईंका परमेश्‍वरले तपाईंलाई यसो भन्‍नुभयो, “तँ मेरा प्रजा इस्राएलको गोठालो हुनेछस्, तँ तिनीहरूका शासक हुनेछस्‌।” जब इस्राएलका सबै धर्म-गुरुहरू हेब्रोनमा दाऊद राजाकहाँ आए, तब त्‍यहीँ नै तिनले परमप्रभुको सामुन्‍ने तिनीहरूसित करार बाँधे। परमप्रभुले शमूएलको मुखद्वारा भन्‍नुभएझैँ तिनीहरूले दाऊदलाई इस्राएलमाथि राजा अभिषेक गरे। दाऊद र सारा इस्राएल यरूशलेम, अर्थात्‌ यबूसमा गए। त्‍यहाँ बस्‍ने यबूसीहरूले दाऊदलाई भने, “तपाईं यहाँ कहिल्‍यै आउन सक्‍नुहुनेछैन।” तापनि दाऊदले सियोनको किल्‍ला लिइहाले, जसलाई अहिले दाऊदको सहर भनिन्‍छ। दाऊदले भनेका थिए, “यबूसीहरूलाई आक्रमण गर्ने पहिलो मानिस एक सेनापति हुनेछ।” त्‍यहाँ उक्‍लने पहिलो मानिस सरूयाहका छोरा योआब भए। यसैले तिनी सेनापति भए। दाऊदले त्‍यस किल्‍लालाई नै आफ्‍नो निवासस्‍थान बनाए। यसैकारण मानिसहरूले त्‍यसलाई दाऊदको सहर भने। तिनले टेवा दिने गाराहरूबाट चारैतिरको पर्खालसम्‍म किल्‍लाको वरिपरि सहर बनाए, र योआबले चाहिँ बाँकी सहरको पुनर्निर्माण गरे। अनि दाऊद झन्‌-झन्‌ शक्तिशाली हुँदैगए, किनभने सर्वशक्तिमान्‌ परमप्रभु तिनीसित हुनुहुन्‍थ्‍यो।