यूहन्ना 12
12
बेथानियामा येशू
मत्ती २६:६-१३; मर्कूस १४:३-९
1निस्तार-चाड़को छ दिनअघि येशू बेथानियामा आउनुभयो। त्यहाँ लाजरस बस्थे, जसलाई येशूले मृतकबाट जीवित पार्नुभएको थियो। 2तिनीहरूले उहाँको निम्ति त्यहाँ बेलुकीको भोजन तयार गरे। मार्थाले सेवा-टहल गर्थिन्, अनि लाजरसचाहिँ उहाँसँगै खान बस्नेहरूमध्ये एक जना थिए। 3तब मरियमले आधा लिटर जति कीमती जटामसीको सुगन्धित अत्तर ल्याएर येशूका पाउमा मलिन्, अनि उहाँका पाउ आफ्ना केशले पुछिन्, र अत्तरको बास्नाले घर भरियो।#लूक ७:३७-३८
4तर उहाँका चेलाहरूमध्ये एक जना, अर्थात् उहाँलाई पक्राउन खोज्ने यहूदा इस्करियोतले भन्यो, 5“यो अत्तर तीन सय चाँदीका सिक्कामा बेचेर त्यो रकम गरीबहरूलाई दिए हुँदैनथ्यो?” 6तर त्यसले गरीबहरूको ख्याल राखेर यो भनेको थिएन, किनकि त्यो चोर थियो, र पैसाको थैलो त्यसैले राख्थ्यो, अनि त्यहाँबाट चोर्ने गर्थ्यो।
7येशूले भन्नुभयो, “यिनलाई केही नभन, मेरो दफन-दिनको लागि यिनलाई त्यो राखिछोड्न देऊ। 8किनभने गरीबहरू सधैँ तिमीहरूसँग हुन्छन्, तर म त सधैँ तिमीहरूसँग हुन्नँ।” #व्य १५:११
9यहूदीहरूको एउटा ठूलो भीड़ले उहाँ त्यहाँ हुनुहुन्छ भन्ने थाहा पायो, र येशूको खातिरमा मात्र होइन, तर उहाँले मृतकबाट जीवित पार्नुभएको लाजरसलाई पनि हेर्न भनी तिनीहरू आएका थिए। 10यसैले मुख्य पूजाहारीहरूले लाजरसलाई पनि मार्ने मतो गरे। 11किनभने तिनैले गर्दा यहूदीहरूमध्ये धेरै जना छुटिएर गई येशूमाथि विश्वास गर्न लागेका थिए।
यरूशलेममा येशूको प्रवेश
मत्ती २१:१-११; मर्कूस ११:१-११; लूका १९:२८-४०
12भोलिपल्ट चाड़मा आउने ठूलो भीड़ले येशू यरूशलेममा आउँदैहुनुहुन्छ भन्ने सुन्यो, 13र मानिसहरू खजूरका हाँगाहरू लिएर उहाँलाई स्वागत गर्न कराउँदै निस्के,#भज ११८:२५-२६
“होसन्ना! धन्य परमप्रभुको नाउँमा आउने इस्राएलका राजा!”
14अनि गधाको एउटा बछेड़ो भेट्टाएर येशू त्यसमाथि चढ्नुभयो, जस्तो लेखिएको छ,
15“सियोनकी छोरी, नडराऊ।#जक ९:९
हेर, तिम्रा राजा गधाको बछेड़ामाथि
सवार भएर आउँदैहुनुहुन्छ।”
16यी कुराहरू उहाँका चेलाहरूले पहिले बुझेनन्। तर येशूको महिमा भएपछि यी कुरा उहाँको विषयमा लेखिएका थिए, र यी काम उहाँको निम्ति तिनीहरूले गरेका हुन् भन्ने तिनीहरूले सम्झे।
17उहाँले लाजरसलाई चिहानबाट बोलाएर मृतकबाट जीवित पार्नुहुँदा उहाँका साथमा हुने भीड़का मानिसहरूले उहाँको गवाही दिई नै रहे। 18उहाँले यो चिन्ह गर्नुभएको थियो भनी सुनेका हुनाले पनि भीड उहाँलाई भेट्न गएको थियो। 19तब फरिसीहरूले एक-अर्कालाई भन्न लागे, “हेर, तिमीहरूबाट केही हुने होइन। देख्तछौ, संसारै त्यसको पछि लागिसक्यो!”
आफ्नो मृत्युबारे येशूको भविष्यवाणी
20चाड़मा आराधना गर्न जानेहरूमध्ये कोही-कोही ग्रीकहरू पनि थिए। 21तिनीहरू गालीलको बेथसेदा निवासी फिलिपकहाँ आएर यसो भनेर बिन्ती गरे, “हजूर, हामी येशूलाई भेट्न चाहन्छौ।” 22फिलिपले गएर अन्द्रियासलाई भने, र अन्द्रियास र फिलिप गएर येशूलाई भने।
23येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मानिसको पुत्रको महिमित हुने समय आइपुगेको छ। 24साँच्चै, म तिमीहरूलाई भन्दछु, गहूँको दाना माटोमा परेर मरेन भने त्यो एउटै रहन्छ। तर त्यो मर्यो भने त्यसले धेरै फल फलाउँछ। 25आफ्नो प्राणको मोह गर्नेले त्यो गुमाउँछ, तर आफ्नो प्राणलाई यस संसारमा तुच्छ ठान्नेले चाहिँ अनन्त जीवनको लागि त्यो सुरक्षित राख्छ #मत्ती १०:३९; १६:२५; मर्क ८:३५; लूक ९:२४; १७:३३ 26कसैले मेरो सेवा गर्छ भने त्यसले मलाई पछ्याओस् र म जहाँ छु, मेरो सेवक पनि त्यहाँ हुनेछ। कसैले मेरो सेवा गर्छ भने पिताले त्यसको कदर गर्नुहुनेछ।
27 “अब मेरो प्राण व्याकुल भएको छ, र म के भनूँ? ‘हे पिता, मलाई यस घड़ीबाट बचाउनुहोस्’? होइन, यसै कारणले नै म यस घड़ीसम्म आइपुगेको छु। 28हे पिता, तपाईंका नाउँको महिमा गर्नुहोस्।”
तब स्वर्गबाट यस्तो एउटा आवाज आयो, “मैले त्यो महिमा गरेको छु, र फेरि गर्नेछु।” 29त्यहाँ खड़ा भएको भीड़ले यो सुनेर भन्यो, “यो मेघ गर्जन हो!” अरूहरूले भने, “स्वर्गदूत उनीसँग बोलेका हुन्!”
30येशूले जवाफ दिनुभयो, “यो आवाज मेरो निम्ति भएको होइन, तर तिमीहरूका निम्ति हो। 31अब यस संसारको न्याय हुन्छ। यस संसारको शासक बाहिर फालिनेछ। 32अनि जब म पृथ्वीबाट उचालिन्छु, म सबै मानिसलाई आफूतिर खिँच्नेछु।” 33उहाँको मृत्यु कुन प्रकारले हुने हो, सो सङ्केत दिनलाई उहाँले यसो भन्नुभएको थियो।
34भीड़ले उहाँलाई सोध्यो, “ख्रीष्ट सदासर्वदा रहनुहुन्छ भन्ने व्यवस्थाबाट हामीले सुनेका छौं। तपाईं कसरी भन्न सक्नुहुन्छ, मानिसको पुत्र उचालिनैपर्छ? यो मानिसको पुत्रचाहिँ को हो?”#भज ११०:४; यशै ९:७; इज ३७:२५; दान ७:१४
35येशूले तिनीहरूलाई भन्नुभयो, “अझ अलि बेरसम्म ज्योति तिमीहरूसँग छ। ज्योति तिमीहरूसँग छउञ्जेल हिँड्डुल गर, ताकि अन्धकारले तिमीहरूलाई नढाकोस्। कोही अन्धकारमा हिँड्डुल गर्छ भने, त्यसले आफू कहाँ गइरहेछु, सो थाहा पाउँदैन। 36जबसम्म ज्योति तिमीहरूसँग छ ज्योतिमा विश्वास गर, र तिमीहरू ज्योतिका सन्तान होओ।” यी कुरा भन्नुभएपछि, येशू त्यहाँबाट जानुभयो, र तिनीहरूबाट लुकेर बस्नुभयो।
37उहाँले तिनीहरूका सामुन्ने यतिका चिन्हहरू गर्नुभएको थियो, तापनि तिनीहरूले उहाँमाथि विश्वास गरेनन्। 38यो आवश्यक थियो, कि यशैया अगमवक्ताको वचन पूरा होस्,#यशै ५३:१
“हे परमप्रभु, हाम्रो सन्देश कसले विश्वास गर्यो?
अनि परमप्रभुको बाहुबल कसलाई प्रकट गरियो?”
39यसकारण तिनीहरूले विश्वास गर्न सकेनन्, किनभने यशैयाले फेरि यसो भनेका छन्,
40“उहाँले तिनीहरूका आँखा बन्द गरिदिनुभएको छ,#यशै ६:१०
र तिनीहरूका हृदय कठोर पारिदिनुभएको छ,
यसरी तिनीहरूले आँखाले नदेखून्, अनि हृदयले नबुझून्,
नत्रता तिनीहरू फर्कनेछन्
र मैले तिनीहरूलाई निको पार्नुपर्छ।”
41यशैयाले यी कुरा भने, किनकि तिनले उहाँको महिमा देखे, र उहाँको विषयमा भने।
42तरै पनि शासकहरूमध्ये धेरैले उहाँमाथि विश्वास गरे, तर फरिसीहरूको डरले गर्दा, र तिनीहरूले सभाघरबाट निकालिदिन्छन् भन्ने डरले त्यो स्वीकार गरेनन्। 43किनभने परमेश्वरको प्रशंसाभन्दा मानिसको प्रशंसा तिनीहरू बढ़ी रुचाउँथे।
44येशूले उच्च स्वरले भन्नुभयो, “मलाई विश्वास गर्नेले मलाई होइन, तर मलाई पठाउनुहुनेमाथि विश्वास गर्दछ। 45जसले मलाई देख्तछ, त्यसले मलाई पठाउनुहुनेलाई देख्तछ। 46म संसारमा ज्योति भएर आएको छु, ताकि ममाथि विश्वास गर्ने अन्धकारमा नरहोस्।
47 “कसैले मेरा वाणी सुन्छ, र ती पालन गर्दैन भने, म त्यसको न्याय गर्दिनँ। किनभने म संसारको न्याय गर्न आएको होइनँ, तर संसारलाई बचाउन आएको हुँ। 48मलाई इन्कार गर्ने र मेरा वाणी ग्रहण नगर्नेको लागि एक जना न्यायाधीश छन्। जो वचन मैले बोलें त्यसैले अन्त्यको दिनमा त्यसको न्याय गर्नेछ। 49किनभने मैले आफ्नै तर्फबाट बोलिनँ, तर मैले के भन्नुपर्ने हो, र के बोल्नुपर्ने हो, मलाई पठाउनुहुने पिता आफैले मलाई आज्ञा दिनुभएको छ। 50म जान्दछु, कि उहाँको आज्ञा अनन्त जीवन हो। यसकारण म जे बोल्दछु, पिताले मलाई भन्नुभएअनुसार बोल्दछु।”
Одоогоор Сонгогдсон:
यूहन्ना 12: NNRV
Тодруулга
Хуваалцах
Хувилах
Тодруулсан зүйлсээ бүх төхөөрөмждөө хадгалмаар байна уу? Бүртгүүлэх эсвэл нэвтэрнэ үү
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012