यूहन्ना 14
14
येशूले चेलाहरूलाई सान्त्वना दिनुभएको
1“तिमीहरूको हृदय व्याकुल नहोस्। परमेश्वरमाथि विश्वास राख, ममाथि पनि विश्वास राख। 2मेरा पिताका घरमा धेरै ठाउँहरू छन्, यो कुरा सत्य नहुँदो होताम त्यहाँ तिमीहरूको लागि ठाउँ तयार पार्न जाँदैछु भनेर तिमीहरूलाई भन्नेथिइनँ। 3म गएर ठाउँ तयार पारेपछि फेरि आउनेछु; र म जहाँ छु त्यहाँ तिमीहरू पनि सधैं मसँग रहन सक भनेर तिमीहरूलाई त्यहाँ लैजानेछु। 4म जहाँ जाँदैछु त्यहाँ पुग्ने बाटो तिमीहरू जान्दछौ।”
पिताकहाँ जाने बाटो येशू
5थोमाले उहाँलाई भने, “प्रभु, तपाईं कहाँ जाँदैहुनुहुन्छ भन्ने हामीलाई केही थाहा छैन। तब कसरी हामीले त्यो बाटो चिन्न सक्छौं?”
6येशूले भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ; मद्वारा बाहेक कोही पिताकहाँ आउन सक्दैन। 7यदि तिमीहरूले मलाई चिनेका भए मेरा पितालाई पनि चिन्नेथियौ। अबदेखि तिमीहरूले उहाँलाई चिन्छौ, अनि उहाँलाई देखेका पनि छौ।”
8फिलिपले भने, “गुरुज्यू, हामीलाई पिता देखाइदिनुहोस्, तब यही नै हामीलाई पर्याप्त हुनेछ।”
9येशूले जवाफ दिनुभयो, “फिलिप! यतिका दिनसम्म म तिमीसँग बसेर पनि तिमीले मलाई चिनेनौ? जतिले मलाई देखेका छन्, तिनीहरूले पितालाई पनि देखेका हुन्छन्। तब तिमीले ‘हामीलाई पिता देखाइदिनुहोस्’ भनेर कसरी भन्दछौ? 10के तिमीलाई म पितामा छु, र पिता ममा हुनुहुन्छ भनेर विश्वास छैन? मैले तिमीहरूलाई भनेका यी वचनहरू मेरा आफ्नै अधिकारले होइनन्। वास्तवमा ममा हुनुहुने मेरा पिताले आफ्नो काम गर्दै हुनुहुन्छ। 11म पितामा छु र पिता ममा हुनुहुन्छ भनी मैले भनेकोमा विश्वास गर; नत्र भने कमसेकम मैले गरेका महान् आश्चर्य कर्महरूका कारणले त विश्वास गर। 12म तिमीहरूलाई साँच्चै भन्दछु, ममाथि विश्वास गर्ने जसले पनि मैले गरिरहेका यी कामहरू गर्नेछ, अनि उसले यीभन्दा अझ ठूला-ठूला कार्य पनि गर्नेछ; किनकि म पिताकहाँ जाँदैछु। 13मेरो नाउँमा तिमीहरूले जेसुकै मागे पनि म त्यो पूरा गर्नेछु, ताकि पुत्रद्वारा पितालाई महिमा होस्। 14तिमीहरूले मसँग मेरो नाउँमा जे मागे पनि म त्यो पूरा गर्नेछु।
पवित्र आत्माबारे प्रतिज्ञा
15“तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरो आज्ञाहरू मान्नेछौ। 16म पितासँग विन्ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ। उहाँ सधैं तिमीहरूसँग हुनुहुनेछ। 17उहाँ सत्यका आत्मा हुनुहुन्छ। संसारले उहाँलाई ग्रहण गर्न सक्दैन; किनकि संसारले उहाँलाई देख्दैन, अनि चिन्दैन पनि, तर तिमीहरूले उहाँलाई चिन्दछौ; किनकि उहाँ तिमीहरूसँग रहनुहुन्छ र उहाँ तिमीहरूभित्र हुनुहुनेछ। 18म तिमीहरूलाई टुहुरा छोड्नेछैनँ, म तिमीहरूकहाँ आउनेछु। 19केही बेरपछि संसारले मलाई कहिल्यै देख्नेछैन, तर तिमीहरूले मलाई देख्नेछौ। म जीवित भएकोले तिमीहरू पनि जीवित रहनेछौ। 20त्यस दिन म मेरा पितामा छु, तिमीहरू ममा छौ, अनि म तिमीहरूमा छु भनी तिमीहरूले बुझ्नेछौ। 21जोसँग मेरा आज्ञाहरू छन् र ती पालन गर्दछन्, तिनीहरूले नै मलाई प्रेम गर्छन्। अनि मलाई प्रेम गर्नेहरूलाई पिताले प्रेम गर्नुहुन्छ, अनि म पनि उनीहरूलाई प्रेम गर्नेछु र आफूलाई तिनीहरूकहाँ प्रकट गरिदिनेछु।”
22यहूदाले (यहूदा इस्करियोतचाहिँ होइन) उहाँलाई भने, “गुरुज्यू, तपाईंले किन हामीकहाँ मात्र आफूलाई प्रकट गर्नुहुन्छ, तर संसारकहाँ गर्नुहुन्न?”
23येशूले जवाफ दिनुभयो, “जसले मलाई प्रेम गर्छ, उसले मेरा शिक्षाहरू मान्नेछ। मेरा पिताले तिनीहरूलाई पनि प्रेम गर्नुहुनेछ; अनि हामी तिनीहरूकहाँ आउनेछौं र तिनीहरूसँग वास गर्नेछौं। 24मलाई प्रेम नगर्नेहरूले मेरा शिक्षाहरू पालन गर्दैनन्। तिमीहरूले सुनेका यी वचनहरू मेरा आफ्नै होइनन्, तर मलाई पठाउनुहुने पिताका हुन्।
25“म अहिले तिमीहरूसँग छँदै तिमीहरूलाई यो भनेको छु। 26पिताले मेरो नाउँमा पठाइदिनुहुने सल्लाहकार अर्थात् पवित्र आत्माले तिमीहरूलाई सबै कुराहरू सिकाउनुहुनेछ, र मैले तिमीहरूलाई भनेको प्रत्येक कुरा पनि सम्झना गराइदिनुहुनेछ। 27शान्ति म तिमीहरूसँग छोड्छु, मेरो आफ्नै शान्ति म तिमीहरूलाई दिन्छु। संसारले दिएजस्तो ता म तिमीहरूलाई दिनेछैनँ।” तिमीहरूको हृदय व्याकुल नहोस् र भयभीत नहोस्।
28“मैले भनेको यो कुरा तिमीहरूले सुनेका छौ, ‘म गइरहेको छु, तर फेरि म तिमीहरूकहाँ फर्किआउनेछु।’ तिमीहरूले मलाई साँच्चै प्रेम गर्छौ भने म मेरा पिताकहाँ जाँदैछु भन्ने कुरामा तिमीहरू आनन्दित हुनेछौ; किनकि पिता मभन्दा महान् हुनुहुन्छ। 29अनि यी कुराहरू हुन आउनु अघि नै मैले तिमीहरूलाई सबै भनिदिएको छु; किनकि जब यी कुराहरू पूरा हुनेछन्, तब तिमीहरूले विश्वास गर्नेछौ। 30म तिमीहरूसँग अब धेरै बोल्नेछैनँ, किनकि यस संसारको शासक आउँदैछ। त्यसको ममाथि केही अधिकार छैन, 31तर म पितालाई प्रेम गर्छु र उहाँले मलाई दिनुभएका आज्ञाहरू मैले ठीकसँग पालन गर्छु भनी संसारले जान्नुपर्छ।
“उठ, हामी यहाँबाट जाऔं।”
Pašlaik izvēlēts:
यूहन्ना 14: NCV
Izceltais
Dalīties
Kopēt
Vai vēlies, lai tevis izceltie teksti tiktu saglabāti visās tavās ierīcēs? Reģistrējieties vai pierakstieties
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.